• १२ वैशाख २०८१, बुधबार

१८ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

blog

प्रहरीको गतिविधिबारे जानकारी गराउनुहुँदै प्रहरी अधिकृतहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन ३ गते । जिल्ला प्रहरी कार्यालय पाल्पाले आव २०७९-०८० मा १८ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । गएको वर्ष ट्राफिक नियम विपरीत सञ्चालन भएका १८ हजार ७०० सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको हो । 

ट्राफिक नियम उल्लङ्घन गरेर कारबाहीमा सबैभन्दा धेरै मोटरसाइकल परेका छन् । आव २०७९-०८० मा चार हजार ९४८ वटा मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाइकलको सङ्ख्या आव २०७८/०७९ को तुलनामा कम छ । ब्लुबुक र लाइसेन्सबिना मोटरसाइकल हाँक्ने, अत्यधिक गति गर्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, स्वरुप बिगार्ने मोटरसाइकल कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

यस्तै, एक हजार ५१ ट्याक्टर, पाँच हजार चार सय ५ जिप, कार र भ्यान कारबाहीमा परेको उहाँले जानकारी दिनुभयो । दुई हजार ६०५ बस कारबाहीमा परेका छन् । धेरै यात्रु बोक्ने, कागजपत्र ठीक नभएका, अत्यधिक गति गर्ने बसलाई कारबाही गरिएको थियो । 

विगतको तुलनामा कारबाहीमा पर्ने ट्रक र टिप्परको सङ्ख्या हरेक वर्ष बढेको छ । अत्यधिक भार बोकेका, अत्यधिक गतिमा कुदाउने, लाइसेन्स ब्लुबुक बिना सवारी हाँक्ने, ढालाभन्दा माथि सामग्री बोक्ने, ढुङ्गा तथा माटो बोक्दा टाली नछोपी सडकमा सवारी कुदाउने टिप्परलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

यसरी कारबाहीमा पर्ने ट्रिपर र ट्रकको सङ्ख्या चार हजार ६८३ थियो ।  आव २०७८/०७९ मा तीन हजार ५८७ मात्र थियो । यो वर्ष चुनढुङ्गालगायतका नदीजन्य पदार्थ कम बोके पनि धेरै टिप्पर कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै टिप्पर र ट्रक ओभरलोडमा कारबाही गर्नुपरेको छ र पटक-पटक कारबाही गर्दासमेत अटेर गर्छन् ।” 

यस्तै, १८ हजार ७०० सवारीसाधनलाई कारबाही गर्दा एक करोड ३१ लाख ३० हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । यो रकम अघिल्लो आव तुलनामा १७ लाखले बढी हो ।