• १६ चैत २०८०, शुक्रबार

‘काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीको यात्रुसँग दुई मिनेट कार्यक्रम’

blog

बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्नुहुँदै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल । तस्बिर : ट्राफिक प्रहरी

काठमाडौं, साउन ३ गते । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बुधबार सुन्धारास्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्नुहुँदै  सन्देशमूलक सामग्री वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गर्नुभएको हो । 

गाडी पूर्णरुपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लिने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएका छन् । 

सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्त्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको हो ।

मादक तथा र लागूपदार्थ सेवन गरेर सवारी साधन चलाएको शङ्का लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुर्व्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा र नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले यात्रुलाई अनुरोध गर्नु भएको छ । 

बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक क्रियाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नुपर्ने आधारभूत जानकारीसहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न चोकहरूमा ब्यानरसमेत प्रदर्शन गरिएको छ । 

यात्रुको आवतजावत बढी हुने स्थानहरू काठमाडौंका न्युरोड, शान्तिवाटिका, कालिमाटी, कलङ्की, महाराजगञ्ज, चाबहिल, गौशाला, कोटेश्वरलगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गतेसम्म यो कार्यक्रम सञ्चालन गरिनेछ ।