• १५ चैत २०८०, बिहिबार

अब ६२ अस्पतालबाट ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

blog

काठमाडौं, साउन ४ गते । सरकारले ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि थप दुईवटा अस्पतालमा सेवा विस्तार गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा कीर्तिपुर बर्न अस्पताल र नरदेवी आयुर्वेद अस्पताल गरी दुईवटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गर्न सेवा विस्तार गरेको हो ।  यसअघि सरकारले ६० वटा अस्पतालबाट ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्दै आएको थियो । 

 दुई वटा अस्पतालमा सेवा विस्तार गरेसँगै देशभरका ६२ वटा अस्पतालबाट ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ ।  

सबै अस्पताललाई परिपत्र

मन्त्रालयले सबै ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालनमा रहेका अस्पतालको सेवा प्रवाहमा एकरूपता कायम गर्ने उद्देश्यले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शन २०८०/८१ ल्याएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अस्पतालमा ज्येष्ठ नागरिकलाई प्रदान गर्ने स्वास्थ्य सेवामा एकरूपता प्रदान गर्न र ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान गर्ने उद्देश्यले  ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शन २०८०-८१  ल्याएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई प्रदान गर्ने सेवामा एकरूपता नआएको गुनासो आएपछि स्वास्थ्य सेवामा एकरूपता प्रदान गर्न र ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान सरकारले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा मार्गदर्शन २०८०-८१ ल्याएको हो ।”

मार्गदर्शन यही आर्थिक वर्षको सुरुदेखि नै लागू गर्न सम्बन्धित सबै अस्पताललाई परिपत्र गरिरहेको डा. अधिकारीले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सेवा दिन आग्रह 

अस्पतालहरूमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सम्बन्धमा जेरियाट्रिक स्वास्थ्य सेवा मापदण्ड, २०७९ मा गरिएको व्यवस्था अनुरूप सेवा प्रदान गर्न सहज बनाउनुपर्ने मार्गदर्शन उल्लेख छ । 

 मार्गदर्शन चिकित्सकहरूले ज्येष्ठ नागरिकहरूलाई सेवा प्रदान गर्दा आदरपूर्वक, सम्मानपूर्वक व्यवहारसहित सेवा प्रवाह गर्ने, ज्येष्ठ नागरिक मैत्री सेवा प्रदान गर्ने उल्लेख छ ।

मार्गदर्शन अनुसार अस्पतालमा पहिलो पटक सेवा लिन आउँदा बिरामीले नाम ठेगाना र उमेर खुल्ने परिचयपत्र वा प्रमाण कागजपत्र पेस गर्नुपर्छ ।

ज्येष्ठ नागरिकले बहिरङ्ग सेवाका लागि टिकट लिन छुट्टै लामको व्यवस्था गर्नुपर्ने र अस्पतालले ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई आवश्यकता अनुसार बहिरङ्ग सेवा प्रदान गर्ने वा वार्डमा भर्ना गर्नुपर्ने जनाएको छ । 

स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अवस्थामा बीमाबाट नै उपचार गर्न प्राथमिकता दिनुपर्नेछ । उपचारको क्रममा बीमाको रकम अपुग भएको अवस्थामा मात्र यस कार्यक्रमको रकम खर्च गर्नुपर्ने व्यवस्था छ । 

सम्बन्धित अस्पतालले मन्त्रालय एवम् प्रदेश मन्त्रालयबाट प्राप्त अनुदानको ३० प्रतिशत बजेट भौतिक पूर्वाधार निर्माण, शय्या, औजार, उपकरण खरिदमा खर्च गर्न सक्ने छन् भने बाँकी  ७० प्रतिशत बजेट अशक्त असहाय, ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्नेछ ।

ज्येरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन भइसकेका अस्पतालहरूले मन्त्रालयबाट प्राप्त सबै रकम अनुदान ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ । 

मार्गदर्शनमा ५० शय्याभन्दा माथिका अस्पतालले ज्येष्ठ नागरिक बिरामीहरूलाई प्रभावकारी सेवा प्रदान गर्नको लागि छुट्टै बहिरङ्ग कक्षको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । त्यसैगरी, एक सय शय्याभन्दा माथिका अस्पतालले ज्येष्ठ नागरिक बिरामीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न छुट्टै जेरियाट्रिक वार्डको व्यवस्था गर्नुपर्नेछ । 

कुन उमेरका जेष्ठ नागरिकलाई कति छुट 

नेपाल सरकारबाट उपलब्ध गराइएको ज्येष्ठ नागरिक परिचयपत्रको आधारमा अस्पताल व्यवस्थापनले उमेरहद, शारीरिक अशक्तता र आर्थिक स्थितिका आधारमा मापदण्ड बनाई ६० देखि  ६९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिनुपर्ने उल्लेख गरिएको छ । 

त्यसैगरी, ७० देखि ७९ वर्षसम्मका ज्येष्ठ नागरिकलाई शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा अस्पताल व्यवस्थापनबाट उपदफा (क) मा तोकिएका सेवाहरूको दायरा बढाई स्वास्थ्य सेवामा ७५ प्रतिशत छुट दिनुपर्ने व्यवस्था छ । 

 ८० देखि ८४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई उपदफा (ख) मा तोकिएका सेवाहरूको दायरा बढाई स्वास्थ्य उपचार सेवामा शतप्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ । 

 ८५ भन्दा माथिका व्यक्तिलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । 

  अस्पतालले उपलब्ध गराएको वार्ड वा बेडको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसी उपचार गर्दा लागेको खर्चमा कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख गरिएको छ । 

 जेरियाट्रिक शैया सञ्चालन हुने अस्पतालहरु

कोशी प्रदेशमा 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुनसरी, कोशी अस्पताल विराटनगर, मेची अस्पताल, झापा, उदयपुर अस्पताल, उदयपुर, इलाम अस्पताल, इलाम, सङ्खुवासभा अस्पताल, इनरुवा अस्पताल, सुनसरी, ताप्लेजुङ अस्पताल ताप्लेजुङ इनरुवा अस्पताल, धनकुटा अस्पताल, धनकुटा, भोजपुर अस्पताल  भोजपुर छन् । 

मधेश प्रदेशमा 

जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल, वीरगन्ज पर्सा, गौर अस्पताल रौतहट, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, सिराहा अस्पताल, सिराहा, महोत्तरी अस्पताल, कलैया अस्पताल, बारा, मलङ्गवा अस्पताल, सर्लाही, राम उमा स्मारक अस्पताल सिराहा, बर्दिबास अस्पताल महोत्तरी छन् । 

बाग्मती प्रदेशमा 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर, चिकित्सा स्वास्थ्य विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं, भरतपुर अस्पताल, चितवन, हेटौँडा अस्पताल मकवानपुर, आयुर्वेद शिक्षण अस्पताल काठमाडौँ, नरदेवी आयुर्वेदिक अस्पताल काठमाडौं, कीर्तिपुर बर्न अस्पताल काठमाडौं, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं, शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं, भक्तपुर अस्पताल भक्तपुर, धादिङ अस्पताल धादिङ, त्रिशूली अस्पताल  नुवाकोट छन् । 

 गण्डकी प्रदेश

दमौली अस्पताल तनहुँ, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान कास्की, धौलागिरी अस्पताल बाग्लुङ, गोर्खा अस्पताल, गोर्खा, म्याग्दी अस्पताल म्याग्दी छन् । 

 लुम्बिनी प्रदेश 

रोल्पा अस्पताल रोल्पा, भेरी अस्पताल बाँके, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, पृथ्वीचन्द्र अस्पताल, नवलपरासी, गुलरिया अस्पताल बर्दिया, प्युठान अस्पताल प्युठान, पाल्पा अस्पताल पाल्पा, राप्ती प्रादेशिक अस्पताल दाङ, तौलिहवा अस्पताल कपिलवस्तु,तम्घास अस्पताल गुल्मी  छन् । 

 कर्णाली प्रदेश

दैलेख अस्पताल दैलेख, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जाजरकोट अस्पताल, जाजरकोट, हुम्ला अस्पताल हुम्ला छन् । 

सुदूरपश्चिम प्रदेश 

बैतडी अस्पताल, बैतडी, सेती अस्पताल धनगढी, डडेलधुरा अस्पताल डडेलधुरा, महाकाली अस्पताल कञ्चनपुर, दार्चुला अस्पताल दार्चुला, टीकापुर अस्पताल, कैलाली, बाजुरा अस्पताल बाजुरा, बझाङ अस्पताल बझाङ छन् । 

 


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।