• ८ वैशाख २०८१, शनिबार

पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु, चार जना बेपत्ता

blog

इस्लामावाद, साउन ३ गते । अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधीन भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ मजदुरको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् ।

उद्धार सेवाका अधिकारीहरूका अनुसार रावलपिन्डीको गोलराह मोर क्षेत्रमा निर्माणाधीन भूमिगत मार्गको पर्खालमुनि सुतेका मजदुरमध्ये आठ जनाको शव भेटिएको र हराएका अन्य चार जनाको खोजी भइरहेको छ ।

दुर्घटनाको जानकारी पाउनेबित्तिकै उद्धारकर्मी घटनास्थलमा पुगेर भग्नावशेषबाट आठ जनाको शव निकालिएको थियो । मजदुरका शव परीक्षणका निम्ति स्थानीय अस्पतालमा लगिएको उद्धार सेवाका एक अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा