• १६ चैत २०८०, शुक्रबार

प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता

blog

सम्झौतापत्र आदानप्रदान गर्नुहुँदै कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगञ्ज, साउन ३ गते ।
नेपालगञ्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जबीच प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सहनिर्देशक डा. रोमन किदवाईले नेपालगञ्ज मेडिकल कलेज र कोहलपुरस्थित शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले सिफारिस गरेका बहालवाला र पूर्व प्रहरीको उपचारमा १० देखि २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट सिफारिस भएका प्रहरी, पूर्व प्रहरी र प्रहरीका परिवारलाई उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी दुबै संस्थाबीच सम्झौता भएको जानकारी दिनुभयो । 

सो सम्झाैतामा अस्पतालको तर्फबाट लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. अमिनकुमार श्रेष्ठले हस्ताक्षर गरेर पत्र आदानप्रदान गर्नुभयो ।

प्रहरी अस्पतालले सिफारिस गरी पठाएका बिरामीको उपचारमा विभिन्न प्रकारका सेवा सुविधा लिँदा १० देखि १५ प्रतिशत छुट पाउने एक वर्षे सम्झौता गरिएको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार बहालवाला प्रहरी कर्मचारीलाई साधारण प्याथोलोजी, रेडियोलोजी जाँचहरु र साधारण बेड चार्जमा लाग्ने दस्तुरमा २५ प्रतिशत छुट प्रदान गरिने, आईसियु, एसी बेड चार्ज, अप्रेशन, एमआरआई सिटि स्क्यान र ल्याबको स्पेशल टेस्टहरुको दस्तुरमा १५ प्रतिशत छुट दिइनेछ ।

लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. श्रेष्ठले सोही प्रकारले प्रहरी परिवारका सदस्य बिरामी भएर प्रहरी अस्पतालबाट सिफारिस भएर आएमा उपचारमा १० प्रतिशत छुट दिने सम्झौता भएको बताउनुभयो ।

उहाँले यो सम्झौताबाट धेरै जना प्रहरी, पूर्व प्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनुभयो । उक्त सम्झौता साउन १ गतेदेखि लागू हुने र हालका लागि एक वर्षसम्मका लागि मात्रै गरिएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ ।