• १६ चैत २०८०, शुक्रबार

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी

blog

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ।

भक्तपुर, साउन ३ गते । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताउनुभयो ।

“निर्वाचन आयोग ऐन–२०७३ संशोधनको क्रममा छ । स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापनलगायत अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको उल्लेख गर्दै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीका लागि निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढङ्गले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने धारणा राख्नुभयो ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराईले बसाइँसराइ भएका र नभएका मतदाताको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रष्ट पार्न प्रमुख निर्वाचन आयुक्त थपलियासमक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । सो अवसरमा सहभागी राजनीतिक दलका प्रतिनिधिले मतदाता नामावली सङ्कलन र अद्यावधिक तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस