वातावरणीय गतिविधि परिणाममुखी हुनुपर्ने


गोरखापत्र समाचारदाता

Shakti-Basnetकाठमाडौँ, जेठ २९ गते । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्पष्ट कार्यसूचीका साथ गरिने वातावरणीय गतिविधि परिणाममुखी हुने बताउनुभएको छ ।
उहाँले कार्यसूची अनुसारको गतिविधि बढाए अहिले देखिएको वातावरणीय प्रदूषण नियन्त्रण गर्न सकिने दाबी गर्नुभयो । विश्व वातावरण दिवसका अवसर पारेर वातावरण विभागको सात दिने कार्यक्रमको मङ्गलबार समापन गर्नुहुँदै मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि तीनै तहको सरकारले अपनत्व लिएर जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘नियमित कार्यसूची बनाएर प्रदेश र स्थानीय तहलाई अपनत्व लिने गरी संरक्षणको गतिविधि बढाइन्छ ।’
मन्त्री बस्नेतले के गर्दा वातावरणीय प्रदूषण बढ्छ र त्यसको असर के हुने सम्बन्धमा जागरुक बनाउन स्थानीय तह र प्रदेशको भूमिका महत्वपूर्ण हुने तर्क गर्नुभयो । वातावरण प्रदूषण र जलवायु परिवर्तनको असरको दृष्टिले सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ उच्च जोखिममा रहेका छन् ।
कार्यक्रममा मन्त्री बस्नेतले वातावरण संरक्षणको वकालत गर्ने तीनजनालाई ५० हजार रुपियाँ नगद पुरस्कारसहित सम्मानपत्रबाट सम्मानित गर्नुभयो । जलवायु परिवर्तनको असरमा विद्यावारिधि गरेर वातावरण संरक्षणमा क्रियाशील रौतहटका मनोजकुमार गुप्ता, सञ्चारकर्मी प्रगति ढकाल र अधिवक्ता पद्म श्रेष्ठलाई विभागले पुरस्कृत गरेको हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds