• १६ चैत २०८०, शुक्रबार

‘थप जिम्मेवार हुन प्रेरणा’

blog

लक्ष्मण दर्नाल/सपना थामी

काठमाडौँ, साउन ३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको निधनको शोकमा सबैको साथ र सद्भावले पीडाबाट निस्किन र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शोकको यो घडीमा यहाँहरूको साथ, समवेदना र सद्भावले हामीलाई पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन, देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरिरहेको महसुस पनि गराएको छ ।”

सीता दाहालको निधनमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले देश र जनताप्रति अझ ठुलो जिम्मेवारीबोध गराएको प्रधानमन्त्री प्रचण्डले बताउँदै भन्नुभयो, “नेपाली समाजमा व्याप्त आर्थिक, सामाजिक, सांस्कृतिक असमानताको अन्त्य गर्न मैले मेरो बाँकी जीवनमा झनै सक्रिय भएर सशक्त भूमिका निर्वाह गर्नुपर्छ भन्ने प्रेरणा पनि जनताको अपार समर्थन र समवेदनाले व्यक्त गरेको महसुस गरेका छौँ ।”  

प्रधानमन्त्री प्रचण्डले नर्भिक अस्पतालदेखि पार्टी कार्यालय हुँदै पशुपति आर्यघाटसम्म सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उहाँको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताउनुभयो । 

उहाँले सीता बिरामी परेपछि राज्यबाट कुनै सुविधा नलिई उपचारको प्रयास गरेको बताउनुभयो । उहाँले बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजेको चर्चा गर्नुभयो । 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सीता दाहालको उपचारमा संलग्न चिकित्सकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । शोकको घडीमा मित्र राष्ट्र र संसारका सबैजसो राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट आत्मीय सहानुभूति र ऐक्यबद्धता पाएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “मेरो जीवनसाथी एवं सहयोद्धा, यहाँहरू सबैप्रति पार्टी र परिवारका तर्फबाट हृदयदेखि कृतज्ञता र आभार प्रकट गर्दछु । यसले पीडाबाट निस्कन मात्र मद्दत गरेको छैन देश र समाजबाट थप जिम्मेवार हुन पनि प्रेरित गरेको महसुस गरेका छौँ मैले र हाम्रो परिवारले । सीताको एकसरो चित्र सानो भिडियो रिपोर्टमार्फत भर्खरै हामीले हे-यौँ । उनको जीवनयात्रामा म अहिले प्रवेश गर्न चाहन्नँ । उनको व्यक्तित्वका धेरै तथ्य बाहिर आइरहेका छन् र आउने दिनमा पनि ती तथ्य आइरहने छन् ।” श्रद्धाञ्जली समारोहमा स्वर्गीय सीता दाहालको जीवनीबारे श्रव्यदृश्य प्रस्तुत गरिएको थियो ।

पछिल्लो समय छोरी ज्ञानु दाहाल र प्रकाश दाहालको अकल्पनीय मृत्यु बेहोर्नुपरेको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, “एक छोरा र छोरीसहित दुई सन्तानको असमायिक र अकल्पनीय मृत्यु बेहो-यौँ । शरीरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिरहिन्, सामना गरि नै रहिन् । उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबैखाले पद्धतिबाट उपचारको प्रयास पनि गरि नै रह्यौँ ।” 

उहाँले दाहालको अन्तिम अवस्था कष्टप्रद हुने चिन्ता लाग्ने गरे पनि त्यसो नभएको बताउनुभयो । “उनी थला परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने चिन्ता थियो । अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टिलेटरमा देख्नुपर्ने हामीलाई चिन्ता थियो । बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् ।  

उपचारमा संलग्न चिकित्सकलगायत सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु,” उहाँले भन्नुभयो । श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति रामसदायप्रसाद यादव, प्रधान न्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी हुनुहुन्थ्यो । 

त्यस्तै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलगायतका मन्त्रीको सहभागिता थियो । प्रधानमन्त्री प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहालको ६९ वर्षको उमेरमा असार २७ गते निधन भएको थियो ।