• ८ वैशाख २०८१, शनिबार

सुरुङ मार्ग अन्तिम चरणमा

blog

भउचप्रसाद यादव/मुरारी अधिकारी

सिस्नेखोला (धादिङ), साउन ३ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ। मुख्य सुरुङ मार्ग करिब ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी छ। 

आयोजनाका इन्जिनियर रमेश कोइरालाले मुलुकका अन्य आयोजनाका तुलनामा यस सुरुङ मार्गको काम तीव्र गतिमा भइरहेको बताउँदै मुख्य र सहायक सुरुङ खन्ने काम क्रमशः असोज र साउनभित्र सम्पन्न हुने जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनाको समग्र भौतिक र आर्थिक प्रगति क्रमशः ७५ र ६१ प्रतिशत छ।

सुरुङ मार्ग सञ्चालनयोग्य बनाउन भने करिब एक वर्ष लाग्ने छ। सुरुङभित्र आवश्यक प्रकाश, हावा, सिसिटिभी, नियन्त्रण प्रणाली, फायर हाइड्रेन्ट, आगो नियन्त्रण प्रणाली, टेलिफोन जडान गर्नुका साथै भित्ताको प्लास्टर, रङ्गरोगन, भुइँको कालोपत्रेलगायतका काम गर्न एक वर्ष लाग्ने इन्जिनियर कोइरालाले बताउनुभयो।  

यस अनुसार आयोजनाको म्याद फेरि थप्नुपर्ने हुन्छ। आयोजनाको अवधि २०८० वैशाखसम्म रहेकोमा २०८१ वैशाखसम्म थपिएको छ। थपिएको म्याद अनुसार अब दस महिना निर्माण अवधि बाँकी छ। तर सुरुङ खन्ने काम सकिएको एक वर्षपछि मात्र सञ्चालनमा आउन सक्ने भएकाले आयोजनाको म्याद फेरि थप्नुपर्ने अवस्था आउन लागेको हो।

२०७६ मङ्सिरदेखि यस आयोजना निर्माण अवधि ४२ महिना तोकिएको थियो। २०७६ कात्तिकमा सो सुरुङ मार्ग शिलान्यास गरिएको थियो। सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गर्नु पर्छ। अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै बाक्लो भएको उहाँले बताउनुभयो। अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन नसकिने भएकाले बिचमा कुनै समस्या नआओस् भनेर बाक्लो गरी ढलान गर्नु पर्छ।

उहाँका अनुसार मुख्य र सहायक सुरुङ मार्ग खन्ने काम क्रमशः ८०.८ प्रतिशत र ९८.३ प्रतिशत सम्पन्न भएको छ। मुख्य सुरुङ दुई हजार ६८८ मिटरमध्ये दुई हजार १७२.८ मिटर र सहायक सुरुङ दुई हजार ५५७ मध्ये दुई हजार ५१२.८० मिटर खन्ने काम सम्पन्न भइसकेको छ। 

त्यसै गरी मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ। आयोजनाको कुल सुरुङ पाँच हजार ४९९ मिटरमध्ये अहिलेसम्म चार हजार ९२७.५५ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।

गुणस्तीय काम गर्न निर्देशन

निरीक्षण क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयभित्रै गुणस्तरीय किसिमले निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। उहाँले अबको एक वर्षभित्र सो सुरुङ मार्ग निर्माण सम्पन्न हुने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईं, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र विश्व बैङ्कका उच्च अधिकारीसहित मङ्गलबार सुरुङ मार्गको स्थलगत निरीक्षण गर्नुभएका मन्त्री ज्वालाले यो आयोजना सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो।

मुलुकको यातायातमा पहिलो प्रयोगका रूपमा यो सुरुङ मार्ग सञ्चालनमा आउने चर्चा गर्दै उहाँले सुरुङ मार्गले आवतजावतका निम्ति सहज त हुन्छ नै यो आयोजनाले मुलुकको आर्थिक उन्नति समृद्धि र विकासमा ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

पछिल्लो समयमा आयोजनाको काम तीव्र गतिमा भइरहेको बताउँदै मन्त्री ज्वालाले मुआब्जालगायतका समस्या सुल्झिएको जानकारी दिनुभयो। टोलीले सिस्नेखोलातर्फबाट खन्न सम्पन्न भएका जति मुख्य र सहायक सुरुङ मार्गको पूरै क्षेत्रमा प्रवेश गरी निरीक्षण गरेको थियो। 

चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङ मार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक (मेडियन) र आधा आधा मिटरको दुई वटा पेटी निर्माण गरिने छ। आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकोमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ उपलब्ध गराइएको छ। सुरुङ मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो।