• ८ वैशाख २०८१, शनिबार

मन्त्री बस्नेत र बेलायतका राज्यमन्त्री विल क्विन्सबीच भेटवार्ता

blog

लन्डन, साउन २ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य(बेलायत)का स्वास्थ्य राज्यमन्त्री विल क्विन्सबीच सोमबार लन्डनस्थित स्वास्थ्य मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ । 

भेटका क्रममा मन्त्री बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतले दिँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यस्तो सहयोगले निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । मन्त्री बस्नेतले भूकम्प र कोभिड–१९ को बेला बेलायत सरकारले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद पनि दिनुभयो । 

नेपाल र बेलायत सरकारबिच बेलायतमा नर्स ल्याउने विषयमा सम्झौता भैसकेको र त्यो चाँडो प्रक्रिया  पूरा गरेर आउने जानकारी दिनुभयो । पाइलट प्रोजेक्टको रूपमा केही महिनापछि एक सय जना नेपाली नर्स बेलायत आउँदै छन् । यसरी नर्स आउँदा दुवै पक्षलाई फाइदा हुने बताउँदै मन्त्री बस्नेतले उनीहरूको सीप र दक्षताको पनि विकास हुने बताउनुभयो । 

 मन्त्री बस्नेतले संस्थागत रूपमा नेपाल र बेलायतबिच  चिकित्सक आदानप्रदान गर्न पनि जोड दिनुभयो । यसले चिकित्सकबिचको सीप,ज्ञान र दक्षतामा फाइदा पुग्ने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले बेलायतका अनुभवी चिकित्सक नेपालमै गएर नेपाली चिकित्सकको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउन पनि आग्रह गर्नुभयो । 

बेलायतका स्वास्थ्यमन्त्री क्विन्सले नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै भविष्यमा पनि यो जारी रहने स्पष्ट पार्नुभयो । उहाँले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीले गरी रहेको कामबारे जानकारी दिँदै नेपालबाट नर्स आउँदा दुवै पक्षले फाइदा लिन सक्ने बताउनुभयो । 

मन्त्री क्विन्सले बेलायतमा रहेको नेपाली चिकित्सक र नर्सिङ एसोसिएसनसँग मिलेर काम गरिरहेको जनाउँदै चिकित्सकको क्षमता अभिवृद्धिका लागि आफू सकारात्मक रहेको बताउनुभयो । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य पनि सहभागी हुनुहुन्थ्यो । 

यसअघि मन्त्री बस्नेतले विन्चेष्टरमा रहेको रोयल हेम्सायर काउन्टी अस्पतालको भ्रमण गर्नुभएको थियो । यस अस्पतालले नर्सलाई तालिम दिएर अन्य अस्पतालमा हस्तान्तरण गर्छ ।