• ११ वैशाख २०८१, मङ्गलबार

कालिकोटमा देउडा उत्सव

blog

कालिकोटमा सुरु भएको देउडा उत्सवमा देउडा लगाउँदै कलाकार तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालिकोट, साउन २ गते । कालिकोटको मान्ममा देउडा उत्सव सुरु भएको छ । साउन १ गते देउडा दिवसका रूपमा विकास गर्न कालिकोटमा उत्सव मनाउन सुरु भएको हो । 

लोकसंस्कृति जोगाउने हाम्रो अभियान, उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने मूल नाराका साथ देउडा दिवस २०८० नाम दिएर उत्सव चलिरहेको छ । कर्णाली देउडा प्रतिष्ठान नेपालको आयोजना तथा जिल्लाका सबै स्थानीय तहको सह आयोजनामा दिवस मनाउन थालिएको हो । प्रतिष्ठानका सदस्य देउडा खेलाउडा भानु प्रभात पाण्डेले कला संस्कृतिको विकासका लागि कालिकोटमा देउडा उत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकारले साउन १ गतेलाई सार्वजनिक बिदा दिँदै आएकाले देउडा कलाकारले यो दिनलाई देउडा दिवसका रूपमा मनाउने योजना बनाएको र त्यसैको सुरुवातीमा कालिकोटमा देउडा खेलको आयोजना गरिएको बताउनुभयो । 

उत्सवमा ५० जनाभन्दा बढी देउडा खेलाउडा, खेलाउडी (कलाकार) भेला भएका छन् । कर्णाली प्रदेशका कालिकोटसँगै जुम्ला, मुगु, हुम्ला, दैलेख, जाजरकोट, सुर्खेतलगायतका जिल्लाका देउडा खेलाउडा खेलाउडीहरुले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । कर्णाली प्रदेश सभा सदस्य हिक्मत विष्टले कर्णालीको पहिचान देउडाको संरक्षणमा लाग्नु कलाप्रतिको सम्मान भएको भन्दै दिवसका रूपमा मनाउने निर्णय प्रतिष्ठानले गरेकोमा धन्यवाद दिनुभयो ।

देउडा उत्सवको उद्घाटन गदै प्रदेश सभा सदस्य विष्टले लोप हुँदै गएको देउडाको संरक्षण गर्न आवश्यक सहयोगका लागि प्रदेश सरकारसँग आफूले प्रस्ताव लैजाने वचन दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले कालिकोटमा उत्सवको आयोजना गर्न सबै स्थानीय तहसँग समन्वय गरेको बताउनुभयो । तपाईं आँट्नुहोस् हामी साथमा छौँ भन्ने सन्देश जिल्लाका सबै स्थानीय तहले दिएकाले राम्रोका लागि सरकार साथमै रहेको सुनाउनुभयो । 

कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले समाजलाई खुसी पार्ने संस्कृति भएकाले यसमा सबैको सहयोग र साथ रहने बताउनुभयो । देउडा उत्सव दुई दिनसम्म चल्नेछ । सबै क्षेत्रबाट सहभागी देउडा खेलाउडा खेलाउडीले पालैपालो खेल लगाउनेछन् । प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहीले अब सुरुवात गरिएको र प्रत्येक वर्ष साउन १ गते देउडा उत्सव आयोजना गरिने बताउनुभयो । उहाँले कलाकारको चापलाई हेरेर यो उत्सव पनि लम्बिन सक्ने जानकारी दिनुभयो ।