• ८ वैशाख २०८१, शनिबार

पोखरामा इन्धन भण्डारण गृह निर्माण

blog

पोखरा, साउन २ गते । नेपाल आयल निगमले दुई दशकपछि पोखरामा इन्धन भण्डारण गृह निर्माण गरेको छ । इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन पोखरामा एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको डिजेल भण्डारण गृह निर्माण गरिएको हो ।

सरकारको तीन महिनालाई इन्धनको भण्डारण विस्तार गर्ने नीति अनुरूप निगमले दुई दशकपछि पोखरामा डिजेल भण्डारण गृह निर्माण भएको हो । निगमले विसं २०५६ यता नयाँ भण्डारण गृह निर्माण गर्न सकेको थिएन । 

इन्धन भण्डारण गृह नहुँदा इन्धन आपूर्तिमा अवरोध हुँदा बजारमा अभाव हुने गरेको थियो । हाल मुलुकभर ६८ हजार किलोलिटर इन्धन भण्डारण रहेकामा थप १० हजार किलोलिटर डिजेलको भण्डारण थपिएको निगमले जनाएको छ । सोमबार आयोजित कार्यक्रममा भण्डारण गृहको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न भण्डारणले सहयोग पुग्ने बताउनुभयो । 

पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि कार्यले औद्योगिक विकासलाई अगाडि बढाउन, नागरिकको जीवनस्तर सुधार गर्न तथा नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिने उहाँको भनाइ छ । ऊर्जा पूर्वाधारलाई सुदृढ गर्ने र राष्ट्रको ऊर्जा सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धताको प्रमाणसमेत रहेको उहाँको भनाइ छ । सो अवसरमा वाणिज्य सचिव मधु मरासनीले इन्धन डिपो निर्माण भएर पोखरामा मात्र नभएर अन्य जिल्लामा पनि इन्धन आपूर्ति गर्न सहज पुग्ने बताउनुभयो । इन्धनको डिपो निर्माणले ऊर्जा सुरक्षासँगै आर्थिक विकासमा अगाडि बनाउन सहयोग पुग्ने बताउनुभयो ।  

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पोखरामा भण्डारण क्षमता विस्तारले गण्डकी प्रदेशमा इन्धनको बिक्रीवितरणलार्ई सृदृढ बनाउन कोसेढुङ्गा हुने जानकारी दिनुभयो । 

दुई दशकपछि निगमको आफ्नै लगानीमा निर्माण गरिएको डिजेल भण्डारण गृह देशकै तेस्रो भण्डारण गृह भएको उहाँले जानकारी दिनुयभो । नयाँ विस्तारसँगै डिजेलको भण्डारण क्षमता मुलुकभर ५४ हजार किलोलिटर पुगेको र यसले १५ दिनको राष्ट्रिय माग धान्ने उहाँले जानकारी दिनुभयो । 

आधुुनिक प्रविधिसहित डिपो निर्माण गरिएको उहाँको भनाइ छ । पोखरामा भण्डारण गृह विस्तारले एक महिनालाई माग धान्न सक्ने क्षमता भएको उहाँको भनाइ छ ।

८९ करोड लागतमा ५० लाख लिटरका दुई वटा डिजेलका दुई वटा ट्याङ्की तयार गरिएको निगमले जनाएको छ । इन्धन भण्डारण स्थलसँगै फायर फाइटिङका लागि २४ लाख लिटरको पानी भण्डारण ट्याङ्क पनि निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । 

हाल एक सातालाई मात्र डिजेलको भण्डारण रहेको थियो । पोखरामा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक २८० किलोलिटर, पेट्रोल १२० किलोलिटर बिक्री हुन्छ । निर्माणको काम समानान्तर, रेलिगियर र भारत ट्याङ्कले गरेका हुन् ।

पोखरा विमानस्थलमा ३६ सय किलोलिटरको भण्डारण गृह  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार छ सय किलोलिटर क्षमताको हवाई इन्धनको डिपो निर्माण गरिने भएको छ । पोखरामा उडान भर्ने विमानका लागि हवाई इन्धनको आपूर्ति सहज बनाउन नयाँ १२ सय किलोलिटर क्षमताका तीन वटा डिपो निर्माण गर्न लागिएको हो । हाल न्यून क्षमताको भण्डारण रहेकाले आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको निगमले जनाएको छ । मूल्य अभिवृद्धिबाहेक ६७ करोड लागतमा डिपो निर्माण हुन लागेको निगमले जनाएको छ । २४ महिनाभित्र सक्ने गरी हवाई इन्धनको डिपो निर्माण कार्य सुरु गरिएको निगमले जनाएको छ । डिपो निर्माण पूरा भएपछि यस क्षेत्रमा एक महिनालाई हवाई इन्धनको माग धान्ने निगमले जनाएको छ ।  

हाल २८० किलोलिटर क्षमताको हवाई इन्धन भण्डारण गृह रहेको छ । प्रतिदिन २० देखि ३० किलोलिटर हवाई इन्धन वितरण हुने निगमले जनाएको छ । डिपो निर्माणको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क जेभीले पाएको छ ।