• १६ चैत २०८०, शुक्रबार

प्लाष्टिकका झोला र खादा प्रयोगमा रोक

blog

तिलाचन पाण्डे

तम्घास, साउन १ गते । मुसिकोट नगरपालिकाले नगरभित्र प्लाष्टिकका झोला र खादा प्रयोगमा रोक लगाएको छ । नगरभित्र हुने विविध सभा, समारोह, सांस्कृतिक कार्यक्रम लगायतका औपचारिक कार्यक्रममा खादाको प्रयोग नगरी स्थानीय फूलमालाको प्रयोग गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको हो ।

स्थानीय उत्पादनलाई प्राथमिकता दिनु नगरको दायित्व भएको बताउँदै असार २५ गतेको कार्यपालिकाको निर्णय अनुसार साउन १ गतेदेखि आयातित प्लाष्टिकका झोला, खादाहरूको प्रयोगमा रोक लगाउने र औपचारिक कार्यक्रममा आसनग्रहणको लामो प्रक्रियालाई छरितो हुने गरी व्यवस्था मिलाउने निर्णय गरेको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो ।

यस्तै, नगरपालिका वा वडा कार्यालय मार्फत् प्रत्येक वडाका टोल टोलमा वृहत् वृक्षारोपण तथा सरसफाइका कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउने निर्णय गरेको नगरप्रमुख खरेलले बताउनुभयो । 

कार्यपालिकाले गरेको निर्णयलाई कडाइका साथ लागु गरिने र वडा स्तरमा कार्यान्वयन भए नभएको बारेमा पनि निरन्तर अनुगमन गर्ने नगरपालिकाले जनाएको छ ।