• १६ चैत २०८०, शुक्रबार

जङ्गली च्याउ खाँदा रोल्पाका एकै परिवारका तीन जनाको मृत्यु

blog

जङ्गली च्याउ । फाइल तस्बिर

जयमान बुढामगर
रोल्पा, साउन १ गते ।
रोल्पामा जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । गत मङ्गलबार जङ्गलमा पाइने विषालु च्याउ खाएर बिरामी भएका रोल्पाको लुङ्ग्री गाउँपालिका–५ बुझिङ गाउँका एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार लुङ्ग्रीको बुझिङ कालोपहरका दुर्गे गुरुङका श्रीमती ३३ वर्षीया भीमा गुरुङ, छोराहरू ११ वर्षीय सुशील र ६ वर्षीय प्रेमले जङ्गली च्याउ घरमा लिएर तरकारी खाएका थिए । च्याउ खाएर बिरामी भएपछि अर्को दिन उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरेर थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएइको थियो ।

सबै जनाको उपचार भइरहेकामा बिहीबार सानो छोरा प्रेमको, शनिबार ठूलो छोरा सुशीलको र आइतबार आमा भीमा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) श्याम सारुमगरले च्याउ खाएर गम्भीर बिरामी भएका उनीहरूलाई उपचारका लागि बुटवल लगिए पनि बचाउन नसकिएको जानकारी दिनुभयो ।

यसैगरी, च्याउ खाएरै बिरामी भएका लुङ्ग्रीकै अन्य ११ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच च्याउ खाएर बिरामी भएको घटनापछि रोल्पा प्रहरीले जनचेतनामूलक सामग्री निर्माण गरेर स्थानीय सञ्चारमाध्यममा प्रचारप्रसारका लागि बाँडेको छ । डीएसपी सारुमगरले जनचेतना बढाउन प्रहरीले जिल्लाभर अभियान थालेको बताउनुभयो ।