• ७ वैशाख २०८१, शुक्रबार

झापामा डुबेर बालक र वृद्धको ज्यान गयो

blog

विष्णुप्रसाद पोखरेल

दमक, असार ३१ गते । झापामा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध रहनुभएको छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार गौरादह नगरपालिका वडा नंं २ हाँस खोराका गोविन्द ताजपुरियाका १३ वर्षीय एन्जल ताजपुरियाको शनिवार अपराह्न डुबेर मृत्यु भएको हो । स्थानीय किस्ने खोलामा ४ जना साथीहरू मिलेर पौडी खेल्न गएका एन्जल डुबेपछि साथीहरूले परिवारलाई जानकारी गराएका थिए । स्थानीयले डुबेको केही बेरमा नै खोलाबाट निकाल्दा मृत्यु भइसकेको थियो । 

एन्जल स्थानीय ज्ञान ज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत रहेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यसै गरी झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई खोलामा ९० वर्षीय वृद्धको डुबेर मृत्यु भएको छ । शनिवार साँझ खोलामा घोप्टो परेको अवस्थामा शिवसताक्षी नगरपालिका वडा नं. ८ का ९० वर्षीय टेकबहादुर श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टो परेको अवस्थामा भेटिएको शवको सुरुमा पहिचान खुलेको थिएन । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कटवालका अनुसार शरीरमा कुनै चोटपटक रहेको छैन । मृतकका नाति दिलबहादुर श्रेष्ठले उक्त शव आफ्नो हजुरबुबाको भएको भनेर पुष्टि गरेको प्रहरीले जनाएको छ।