• ७ वैशाख २०८१, शुक्रबार

‘असी प्रतिशत बजेट पर्यटन प्रवर्धनमा’

blog

काठमाडौँ, असार ३१ गते । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ८० प्रतिशत रकम अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा खर्च गर्ने भएको छ । बोर्डले विगतका वर्षको बजेटको समीक्षासहित नयाँ बजेटमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनमा जोड दिन लागेको हो । 

बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “बोर्डले साउन १५ भित्रै आर्थिक वर्ष २०८०/८१ का लागि करिब सवा अर्ब रुपियाँको हाराहारीमा रहेर बजेट ल्याउन लागेको छ । आगामी आवको बजेटमार्फत अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धनका कार्यक्रम गर्दा विगतमा भन्दा नयाँ ढङ्गले अगाडि बढ्दै डिजिटाइजेसनलाई प्राथमिकता दिन लागेका छौँ ।” चालु आवमा बोर्डले भारत, चीन, बङ्गलादेश, मलेसियालगायतका देशमा गरेको प्रवर्धनात्मक कार्यक्रमबाट राम्रो प्रतिफल आएको जनाउँदै उहाँले आगामी वर्ष थप गन्तव्यमा प्रविधिको प्रयोगमार्फत प्रचारप्रसारमा जोड दिइने बताउनुभयो ।

बोर्डले आगामी वर्ष मुख्यतः भारत, चीन, थाइल्यान्ड, मलेसिया, हङकङसहित युरोपेली मुलुकमा नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई प्रवर्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गराउन विश्व पर्यटन बजारको ध्यानाकर्षित गरिने उहाँको भनाइ छ ।

चालु आवमा देशभित्रै आयोजना गरिएका हिमालय ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टलगायतका ठुला सम्मेलनबाट भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकमा नेपालको पर्यटन प्रवर्धन र सम्भावनाबारे भएका छलफलबाट पछिल्लो समय बाह्य पर्यटक आगमनमा सुधार देखिँदै गएको उहाँले बताउनुभयो ।

सन् २०२३ भर करिब १० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा आधारित हुँदै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायतका पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचारप्रसारमा जोड दिइने उहाँको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न विभिन्न अभियानसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको प्रवर्धन सरकारको मुख्य प्राथमिकतामा रहेकाले पर्यटकीय सम्भावना र गतिविधिलाई विश्व बजारमा चिनाउन प्रचारप्रसारमा केन्द्रित हुन लागेको उहाँको भनाइ छ ।