शिक्षाका समस्यामाथि मन्त्रालयले ध्यान दिएन – सभासद्

काठमाडौँ, मङ्सिर २८ गते । व्यवस्थापिका–संसद्अन्तर्गत शिक्षा उपसमितिको आजको बैठकमा सभासद्हरुले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै समस्याहरु देखापरेको तर मन्त्रालयले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभएको छ ।महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गत रहेको शिक्षा उपसमितिको उक्त बैठकमा उहाँहरुले शिक्षा मन्त्रालयले सञ्चालन गरेको एमबिबिएसअन्तर्गतको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र अगावै बाहिरिएको, अस्थायी शिक्षकको मागप्रति ध्यान नदिइएको, शिक्षा ऐन र विश्वविद्यालय छाता ऐनको परिमार्जनलाई तीव्रता नदिइएको र जनक शिक्षा सामग्री केन्द्रको सुधारमा मन्त्रालयले सोचेअनुरुप ध्यान नदिएको धारणा राख्नुभएको थियो ।

जीवन परियार, श्रीमाया थकालीलगायत सभासद्हरुले विश्वविद्यालय छात्रवृत्ति परीक्षामा भएका अनियमतता, अस्थायी शिक्षकको माग, समयमा विद्यालयमा पुस्तक पु¥याउन नसक्ने जनक शिक्षालगायतका विषयमा शिक्षा मन्त्रालयले ध्यान नदिएको गुनासो गर्नुभएको थियो ।

उपसमितिका संयोजक गणेशमान गुरुङले सबैभन्दा धेरै समस्या शिक्षामा देखिएको र शिक्षामन्त्रीले संसद्को यो उपसमितिसँग मिलेर काम गर्नुपर्ने भए पनि त्यो हुन नसकेको गुनासो गर्नुभयो ।

समितिका सभापति रञ्जु झाले शिक्षा मन्त्रालयले २५ हजार अस्थायी शिक्षकको मागप्रति ध्यान नदिएको बताउँदै जनक शिक्षामा २०० कर्मचारी निकालिएपछि आएको समस्यालगायतबारेमा समितिलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले उपसमितिलाई पुस १ गतेअघि नै प्रतिवेदन समितिसामु बुझाउन आग्रह पनि गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले अस्थायी ५० प्रतिशत शिक्षक स्थायी भएको र ५० प्रतिशत स्थायी हुन बाँकी रहेको भन्दै देशका लागि कति शिक्षक चाहिने हो त्यो निर्धारण गर्नु जरुरी भएको बताउनुभयो ।

बैठकमा अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र अधिकारीले शिक्षा ऐन संशोधन नहुँदासम्म शिक्षकहरु कार्यरत दरबन्दीमा खुल्ला विज्ञापन नगर्न आग्रह गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना