• ४ वैशाख २०८१, मङ्गलबार

बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ : मन्त्री महताे

blog

फाइल तस्विर ।

काठमाडौं, असार २८ गते । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै मन्त्री महताेले आर्थिक वर्ष २०८०-८१ को बजेटमा हरियाली प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभएको हो । उहाँले त्यसका लागि वृक्षरोपण, बिरुवा उत्पादन, सहरी वन, हरियाली पार्कका कार्यक्रमहरु तीनै तहका सरकार र सरोकारवालाहरुको सहभागितामा कार्यान्वयनमा ल्याइने बताउनुभयो । 

त्यसैगरी वन उद्यम प्रवर्द्धन, वृक्षरोपण तथा दिगो वन व्यवस्थापनका लागि तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रको दिगो व्यवस्थापन, जडीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रवर्द्धन, वन उद्यम, मानव–वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, चुरे संरक्षण, वातावरण संरक्षणका विषयहरु, राष्ट्रिय वन नीति २०७५ को १५ औँ आवधिक योजना आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यले परिलक्षित गरेका विषयहरु नै हुन् । यिनै विषयमा केन्द्रित रहेर बजेट प्रस्ताव गरिएको छ ।

यस्तै, हरियाली प्रवर्द्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिइएको छ । जसका लागि वृक्षरोपण, बिरुवा उत्पादन, सहरी वन, हरियाली पार्कका कार्यक्रमहरु सङ्घ, प्रदेश र स्थानीय तहहरु तथा उपभोक्तालगायतका सरोकारवालासहितको सहभागितामा कार्यान्वयनमा ल्याइनेछ । वन उद्यम प्रवर्द्धन, वृक्षरोपण तथा दिगो वन व्यवस्थापनका लागि आगामी आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तीनै तहबाट समृद्धिका लागि वन कार्यक्रम सञ्चालन गरिनेछ । वन अतिक्रमण, वन डढेलोलगायतबाट वनको संरक्षणमा याे मन्त्रालय सजग  छ । 

राष्ट्रिय वन क्षेत्रहरुमा अतिक्रमण तथा डढेलो नियन्त्रणका कार्यक्रमहरुलाई सशर्त अनुदानका रुपमा प्रदेश सरकारहरुमार्फत बजेट उपलब्ध गराइएको छ । मन्त्री महत्ताेले जडीबुटी उत्पादन, प्रशोधन, भण्डारण, व्यावसायीकरण र विदेश निकासीका लागि जोड दिनेगरी बजेट विनियोजन गरिएको बताउनुभयो ।