सडक सन्जालसँग नजोडिने खबरले हुम्ली निराश

राजन रावत

सिमकोट, जेठ १२ गते । राष्ट्रिय सडक सञ्जालसँग जेठ महिनामै जिल्ला जोडिने भनी खुसी भएका हुम्लाबासीमा यतिखेर निरास छन् । हुम्ला र बाजुरा जोड्ने कवाडी खोलामा बेलिब्रज निर्माण बर्षा अगाबै पूरा नहुने भए पछि उनीहरूमा निराशा छाएको हो ।
नेपाली सेनाले सिभिलसम्बन्धी काम सम्पन्न गरे पनि पुलका लागि आवश्यक पर्ने स्टीलका सामग्री ढुवानी गरेर ल्याउन नसक्ने जनाए पछि घोषित समयमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न नसकिने भएको हो ।
कर्णाली करिडोरको कालिकोट, बाजुरा र हुम्ला खण्डको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले हुम्ला जोड्ने कवाडी खोलाको बेलिब्रिज निर्माणको जिम्मा पाए पनि यस अघि घोषणा गरेको कुरा पुरा नहुने उक्त खण्डको निर्माण दलका प्रमुख इन्जिनीयर मिलन कार्कीले जानकारी दिनुभयो ।
यस अघि सेनाले जेठ पहिलो हप्तासम्म हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिने उद्घोष गरेको थियो । कर्णाली नदिमा पानीको बहाब बढेको कारण फेरीबाट गाडीमा बेलिब्रिजका सामान ढुवानी गर्न नसकिने सेनाको भनाइ छ । अब बर्षा पछि मात्र उक्त कार्य सुरु हुने र अहिले कालिकोटको मालिघाटमा ल्याएका बेलिब्रिजका सामान सुर्खेत फर्काएर लगिएको उहाँले बताउनुभयो । यता पुल निर्माण स्थल कवाडी खोलामा दुबैतिरको पिलर निर्माण गर्ने कार्य सम्पन्न भएको सेनाले जनाएको छ । उक्त पुलको निर्माण कार्य पुरा भएको भए हुम्ला खण्डको १५ किलोमिटरमा यसै पटक गाडी गुडाउने सेनाको लक्ष थियो ।
अहिले सेनाले तत्काल त्यो संभब नहुँने जनाए पछि जनतामा निरासा जागेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्ले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds