मनास्लु पदमार्ग खुलाउन सेना र सशस्त्र सक्रिय

गोरखाबजार, जेठ ७ गते । गत वैशाख १२ गते गएका विनाशकारी ‘गोरखा भूकम्प’ले अवरुद्ध बनाएको गोरखाको मनास्लु पदमार्ग खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

थुमी गाविसको सोतीबजारदेखि तिब्बतसम्म सीमा जोडिएका क्षेत्रमा पर्ने पदमार्गमा पहिरोले बाटो अवरुद्ध छ । साना–ठूला गरी हजारौँ ठाउँमा पहाडको ढिस्को खसेर पदमार्ग पुरेको छ । केही ठाउँमा पदमार्ग भासिएर बूढीगण्डकी नदीमा झरेको छ ।

नेपाली सेनाको गोरखास्थित भैरवी दल गणबाट खटिएको ५२ जनाको टोली र सशस्त्र प्रहरी बलको गोरखा गुल्मबाट खटिएको ४० जनाको टोलीले अवरुद्ध बाटो खुलाउने कामलाई तीव्रता दिएका छन् ।

सोतीबजारदेखि लापु गाविसको हावाडाँडासम्म करिब तीन किलोमिटर बाटो सुचारु गरिएको छ । हावाहुरी आउँदा पनि पहाडको ढिस्को खस्ने भएकाले टोलीलाई पहिरो हटाएर बाटो बनाउन समस्या भएको छ । भूकम्पपछि अवरुद्ध बाटो खुलाउन सेना परिचालन गरिए पनि वैशाख २९ गते गएको पराकम्पनको झट्काले पदमार्गमा थप पहिरो गएपछि सेना सदरमुकाम फर्केको थियो ।

नेपाली सेनाको टोली पुनः विगत एक सातादेखि पदमार्ग खुलाउन सक्रिय छ । आजदेखि सशस्त्र प्रहरीलाई पनि अवरुद्ध बाटो खुलाउन परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका निरीक्षकसहितको टोली पहिरो हटाउने हाते औजारहरु लिएर लापु गाविसको हावाडाँडा पुगेको जानकारी सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक कुमार श्रेष्ठले दिनुभयो ।

अवरुद्ध बाटो तत्कालै हटाउनका लागि जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले सेना, सशस्त्र प्रहरी परिचालन गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा परेको मनास्लु पदमार्ग महाभूकम्पपछि गएको पहिरोले अवरुद्ध छ । थुमी, लापु, गुम्दा, उहिया, सिर्दिवास, बिही, प्रोक, ल्हो, चुम्चेत र छेकम्पार क्षेत्रमा अनगिन्ती पहिरो गएकाले पदमार्ग सुचारु गर्न महिनौँ लाग्ने देखिएको छ ।

पदमार्ग अवरुद्ध भएपछि हिमालपारिका सात गाविसका भूकम्पपीडित सिर्दिवास गाविसको दोभानबाट केरौँजा निस्केर मान्बु हुँदै थुमीको सोतीबजार भएर आवतजावत गरेका छन् । यो बाटोमा मनास्लु पदमार्गको भन्दा कम पहिरो झरेको छ । पहिरोले बाटो अवरुद्ध बनाएपछि खच्चड, मान्छे आवतजावतमा समस्या भएको स्थानीयवासी बताउँछन् । सडक पहुँच नपुगेका यी गाविसमा यातायातको एकमात्र विकल्पका रुपमा खच्चड चल्ने गथ्र्यो । पदमार्गमा झरेको पहिरोले सयौँ खच्चड मरेको व्यवसायीहरुले जनाएका छन् ।

पदमार्ग खुलाउन सेना, सशस्त्र प्रहरी खटाएको गोरखाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले जानकारी दिनुभयो । “छिटो पदमार्ग सुचारु गर्न सशस्त्रको टोली पनि थप गरेका छौँ”, तिमल्सेनाले भन्नुभयो ।

पहाडको ढिस्को खसेर पदमार्गमा ठूला पहिरो रहेकाले घोरेटो, गोरेटो बाटो खुलाउन टोली परिचालन गरिएको हो । गोरेटो बाटो खुलाएर उत्तरी भेगमा खच्चडमार्फत खाद्यान्नलगायत सामग्री ढुवानी गर्ने जिल्ला दैवी प्रकोप उद्धार समितिले तयारी गरेको छ । अहिले हेलिकोप्टरमार्फत राहत सामग्री ढुवानी गरिएको छ ।

मनास्लु पदमार्गमा रहेका विदेशीहरुलाई पनि सदरमुकाम झारिसकिएको छ । अहिले पदमार्गमा पर्यटक छैनन् ।
अन्नपूर्ण पदमार्गमा सडक पुगेपछि पदयात्रीहरुको रोजाइमा मनास्लु पदमार्ग परेको थियो । पहिरोले अवरुद्ध बाटो खुलेपछि पर्यटक उत्तरी भेग जाने क्रम विस्तारै बढ्ने विश्वास गरिएको छ । पदमार्ग अवरुद्ध भएपछि उत्तरी भेगमा सञ्चालनमा आएका अधिकांश होटल बन्द भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना