• १६ चैत २०८०, शुक्रबार

पर्यटकीय क्षेत्र सुनसान हुँदा होटल बन्द

blog

विश्वकै दश उत्कृष्ट गन्तव्यमा पर्ने राउण्ड अन्नपूर्ण अन्तर्गत कास्कीको नयाँपुल बजार । तस्बिर : गणेश पौडेल

गणेश पौडेल

पर्वत, असार २७ गते । वर्षा सिजनका कारण पर्यटकको चलहपल हुने राउण्ड अन्नपूर्ण क्षेत्र अहिले सुनसान बनेको छ । पर्यटकका लागि उपयुक्त मौसम नभएका कारण यस क्षेत्रमा पर्यटक आउन छाडेसँगै अन्नपूर्ण पदयात्रा मार्ग सुनसान बनेको हो ।

कुनै समय पर्यटकले भरिभराउ हुने विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्ने यस क्षेत्रमा अहिले पर्यटकको चाप पहिलाको तुलनामा चौथाइले कमी आएको स्थानीय व्यावसायीहरुको भनाइ छ । पर्यटकको चहलपहल घटेसँगै होटलहरु समेत बन्द भएका छन् ।

कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र खुला भएसँगै गत जेठ अन्तिमसम्म पर्यटकको अत्यधिक चहलपहल भए पनि पछिल्लो समय यस क्षेत्रमा आउने विदेशी पर्यटकको संख्यामा एक चौथाइले कमी आएको हो । 

वर्षा अगाडिसम्म बिरेठाँटीबाट ३ सयदेखि ५ सयसम्म पर्यटक आउजाउ गर्ने गरेकोमा अहिले भने दैनिक मुस्किलले ५०–६० जना पुग्नेगरेको पर्यटक प्रहरी सन्तलाल कोहारले जानकारी दिनुभयो । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको रेकर्डअनुसार राउण्ड अन्नपूर्णको प्रवेश बिन्दु लमजुङको बेशीशहर र कास्कीको बिरेठाँटीबाट अहिले दैनिक सय पनि नपुग्ने गरेको बताइएको छ । 

बिरेठाँटीबाट जाने सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु कास्कीको घान्द्रुक, म्याग्दीको घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्पलगायतका क्षेत्रमा जाने गरेका छन् । केही पर्यटक थोराङ पास गरेर मनाङ हुँदै लमजुङ निस्कने गरेका छन् ।

पछिल्लो समय सडकको सहजताका कारण पदयात्रा गर्नेभन्दा गाडीमा सवार भएर घान्द्रुकसम्म जाने आन्तरिक पर्यटकको घुईँचो लाग्नेगरेको छ । होटल व्यवसायी दुर्गादेबी भण्डारीका अनुसार गाडीले पर्यटकहरु ओसार्दा व्यावसायमा भने उल्लेख्य कमी आएको बताउनुभयो । 

गाडीले ओसार्न थालेपछि पदमार्गका छेउछाउमा रहेका होटलहरु भने अधिकांश बन्द भएका छन् । ‘पहिले पोखराबाट आएका पर्यटक यहाँ आएर बस्ने गरेकामा अहिले गाडीले ओसार्दा बाध्य भएर बन्द भए’ अधिकारीले भन्नुभयो । 

राउण्ड अन्नपूर्णमा जाने पर्यटकहरु कम्तिमा ५ दिन हिँड्नेगरेको पथप्रदर्शक पासाङ दावा शेर्पाले बताउनुभयो । एक जना पर्यटकले कम्तिमा ५ दिनदेखि बढीमा १५ दिनसम्म यस क्षेत्रमा बिताउने तथा दैनिक ३ सय डलरभन्दा बढी खर्च गर्नेगरेको उहाँको भनाइ छ । 

दैनिक ३ सय बढी पर्यटकले ३ सय डलरभन्दा बढी खर्च गर्दा एकै दिनमा एक करोड बढी भित्रिनेगरेको उहाँको भनाइ छ । कोरोनाका कारण गत वर्षहरुमा पर्यटक घट्दा देशलाई घाटा पुग्नुका साथै व्यापार व्यावसायमा समेत नकारात्मक असर परेको व्यापारी क्षेत्रीको भनाइ छ । यस क्षेत्रमा अगस्टको दोस्रो हप्तादेखि पर्यटकको चाप बढ्दै जान्छ भने सेप्टेम्बरदेखि नोभेम्बर महिना सबैभन्दा उत्तम मौसम मानिन्छ ।