• ७ वैशाख २०८१, शुक्रबार

कृषि र भेटेरिनरीको खर्च ७ करोडभन्दा बढी

blog

बेनीमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असार २६ गते । म्याग्दीमा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा ७ करोडभन्दा बढी खर्च गरेकाे देखिएकाे छ ।

चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र म्याग्दीले सङ्घ र प्रदेशबाट प्राप्त कुल बजेट पाँच करोड ४६ लाखमध्ये तीन करोड ५० लाख १० हजार रुपियाँ खर्च गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । खर्च भएको बजेट कुल बजेटको ६४ दशमलव शून्य तीन प्रतिशत रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु वर्षमा कृषि ज्ञान केन्द्रलाई संघ र प्रदेशबाट गरी चालुतर्फ कुल पाँच करोड ३२ लाख १६ हजार र पुँजीगततर्फ १४ लाख ६० हजार रुपियाँ प्राप्त भएको थियो । प्राप्त बजेटमध्ये अधिकांश कार्यक्रमहरु किसानलक्षित अनुदानका छन् भने तीमध्ये साना व्यावसायिक कृषि फर्म, साना सिँचाइ, विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम, जलवायुमैत्री नमुना कृषि गाउँलगायतका कार्यक्रममा खर्च भएको छ । 

यसैगरी, भेटेरिनरी अस्पताललाई प्राप्त भएको पुँजीगत र चालुतर्फ गरी कुल चार करोड ३६ लाख ७१ हजार रुपियाँ बजेट प्राप्त भएकोमा तीन करोड ५६ लाख ९० हजार रुपियाँ खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

त्यस्तै सङ्घीय सशर्त अनुदानबाट २१ लाख ४५ हजार बजेटमध्ये खर्च २१ लाख १९ हजार र रणनीतिक कृषि आधुनिकीकरण कार्यक्रमको ७५ हजार रुपियाँ बजेट प्राप्त भएकोमा ६७ हजार खर्च भएको निमित्त प्रमुख सुवेदीले बताउनुभयो । प्राप्त बजेटमध्ये किसानलाई माछाका भुरा खरिद गरेर उपलब्ध गराइएको, नयाँ मत्स्य पोखरीहरु निर्माण गरिएको, फार्म यान्त्रीकरण कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन, चरन खर्क सुधार, कृत्रिम गर्भाधान, समुदायस्तरमा चौंरी विकास कार्यक्रम, भेडा प्रवर्धनलगायत कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । 

म्याग्दीमा बाख्रापालन, घुम्ती भेडा तथा बाख्रापालन, कुखुरापालन, भैंसीपालन, बङ्गुरपालन र चौंरीपालन हुँदै आएको छ । सोमबार दुवै कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रम र प्रगतिका  बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा किसानहरुले अनुदानलाई पारदर्शी बनाउनुपर्ने बताएका थिए । अनुदानको दुरुपयोग भएकाले वास्तविक किसानलाई अनुदान दिनुपर्ने सुझाव किसानहरुको थियो ।  

कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले किसानहरु व्यावहारिक ज्ञानको खानी भएकाले आफ्नो ज्ञान, सीप र अनुभवलाई कृषि क्षेत्रको विकासमा लगाउन सुझाव दिनुभयो । उहाँले म्याग्दी फलफूल उत्पादन र पशुपालनको क्षेत्रमा मुख्य सम्भावना बोकेको जिल्ला भएको बताउँदै कृषि क्षेत्रको विकास र सिँचाइका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले किसानहरुले मौसम अनुकूल हुने गरी कृषि तथा बालीनालीको खेती गर्न सुझाव दिँदै सबैभन्दा धनी किसान भएकाले राज्यबाट प्राप्त अनुदानको सही रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पछिल्लो समय बढ्दै गैरहेको आधुनिकतासँगैको विकासलाई आत्मसात् गरेर आफ्नो पेशा तथा व्यवसायलाई अगाडि बढाउनुपर्ने भन्दै कृषिको दिगो विकास हुने गरी किसानहरु लाग्नुपर्ने बताउनुभयो ।