• ८ वैशाख २०८१, शनिबार

लम्पी स्किन रोगले पाँच सय पशु मरे

blog

फाइल तस्विर ।

लीलाधर वली

घोराही, असार २६ गते । दाङमा लम्पीस्किन रोगको महामारीबाट हालसम्म पाँच सय बढी गाईगोरु मरेका छन् । जिल्लामा लम्पी स्किनबाट हालसम्म २२ हजार छ सय ९५ गाईगोरु र भैँसी सङ्क्रमित भएका छन् ।

जिल्लामा राजपुर गाउँपालिकामा सबैभन्दा धेरै पशु लम्पीस्किन रोगबाट मरेका छन् । राजपुरमा नौ हजारमा लम्पीस्किन सङ्क्रमण भएको पालिकाले जनाएको छ । जसमा दुई सय भैँसी छन् । सङ्क्रमितमध्ये एक सय २० पशुहरू मरेका छन् । फागुनदेखि असारसम्म जिल्लाका धेरै स्थानमा लम्पीस्किन रोगका कारण पशु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसपछि बबई गाउँपालिकामा छ सय बढी सङ्क्रमित भएकोमा एक सयभन्दा बढी पशु मरेका छन् । 

त्यसैगरी, घोराही उपमहानगरपालिकामा छ हजार पशु लम्पीस्किनबाट सङ्क्रमित भएका छन् । जसमा एक सय ५० भैँसीमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिकामा करिब १५ सय पशु सङ्क्रमित भएकोमा २५ वटा, शान्तिनगर गाउँपालिका एक हजार पशु लम्पीस्किनबाट सङ्क्रमित भएकोमा १० वटा मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार दंगीशरण गाउँपालिकामा एक हजार एक सय पशु सङ्क्रमित भएकोमा २५ वटा, राप्ती गाउँपालिकामा आठ सय ४५ पशु सङ्क्रमित भएकोमा ४९ वटा, बङ्गलाचुलीमा आठ सय पशु सङ्क्रमित भएकोमा १८ वटा मरेका छन् । 

लमही नगरपालिकामा करिब सात सय पशु सङ्क्रमित भएकोमा सात वटा, गढवा गाउँपालिकामा एक सय ५० बढी पशु सङ्क्रमित भएकोमा २५ वटा मरेका छन् । लम्पीस्किनका कारण किसानलाई लाखौँको क्षति भएको छ भने खेती गर्न समेत समस्या परेको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख सुदाम भट्टले बजेट अभावका कारण चालु आर्थिक वर्षमा खोप किन्न नसकेको भन्दै आगामी वर्ष पूर्व तयारीमा लाग्ने बताउनुभएको छ। उहाँले आकस्मिक कोषको रकम र दैनिक उपचार सेवाको रकमबाट लम्पीस्किन रोगको लागि नमूना परीक्षण र औषधि वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “खोप किन्ने बजेट छैन । हामीसँग भएको आकस्मिक कोषको ५० हजार र दैनिक उपचार सेवाको रकमबाट ५० हजार जतिबाट नमुना परीक्षण र औषधि वितरण गरेका छौँ ।”

स्थानीय तह र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको केही सहयोगमा महामारी नियन्त्रणको प्रयास भएपनि गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको विषयमा सहयोग र राहतको विषयमा भने कसैको ध्यान गएको छैन । रोगका कारण दूध उत्पादक किसान समेत मर्कामा परेका छन् ।