• १६ चैत २०८०, शुक्रबार

पाँचजना मेक्सिको नागरिक भएको पुष्टि

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

blog

सोलुखुम्बु समाचारदाता
सोलुखुम्बु, असार २६ गते । 
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो । साथै हेलिकोप्टर दुर्घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नीराजन बस्नेत नेतृत्वको टोली पुगेको छ ।

प्रजिअ भट्टराईका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको छ । साथै मृतकको पहिचान खुलिसकेको छैन भने थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘जिल्लाबाट १२ जना नेपाल प्रहरी र नौ जना नेपाली सेनालाई पठाइएको छ । दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । एक जनाको शवका टुक्रा भएकाे अवस्थामा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन ।’’

प्रजिअ भट्टराईले बेनी प्रहरी चौकीबाट असईसहित दुई जना दुर्घटनास्थल पुगिसकेको र जिल्लाबाट थप प्रहरी पठाइएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले लिखु पिके गाउँपालिका –५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको जानकारी दिनुभएको थियो ।

हेलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना मेक्सिकोका नागरिक भएको पुष्टि भएको छ । क्याप्टेन सीबी गुरुङले उडाउनुभएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक हुनुहुन्थ्यो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।


यो पनि पढ्नुहोस

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटना

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन