• ८ वैशाख २०८१, शनिबार

फोहाेरबाट मल उत्पादन गर्दै मध्यबिन्दु

blog

त्रिवेणी,  असार  २६ गते । फोहाेर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिकाले भने फोहाेरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ । 

मध्यबिन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रवर्तन तन’ कार्यक्रममार्फत फोहाेर व्यवस्थापनको काम सञ्चालन गरेको छ । उक्त कार्यक्रममार्फत फोहाेरबाट कम्पोस्ट मल उत्पादन गर्ने काम गरिएको छ । फोहाेरबाट मल उत्पादन र मललाई  आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको मध्यबिन्दु नगरपालिका नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो । 

नगरपालिकाले दिगोरूपमा नगरभित्रको फोहरमैला व्यवस्थापनको कामलाई अघि बढाउन फोहाेरसँगै आम्दानीलाई जोडेर हिँडाएको उहाँको भनाइ छ । “फोहाेर व्यवस्थापन गर्दैगर्दा यसलाई दिगो बनाउन आम्दानीसँग जोड्ने योजना अनुरुप काम अघि बढिरहेको छ, सोही योजनाअनुसार कम्पोस्ट मल उत्पादन जोडिएको हो”, उहाँले भन्नुभयो । 

नगरपालिकाले घरबाट उत्पादन हुने कुहिने फोहाेर तथा वनजङ्गलमा रहेका सुकेका पातबाट कम्पोस्ट मल उत्पादन थालेको छ । हालैमात्र विभिन्न समूहमा आबद्ध एक सय ४३ जनाले वनजङ्गलमा सुकेका पात सङ्कलन गरी नगरपालिकालाई बेचेर आम्दानी गरेका छन् । प्रतिकेजी पाँच रुपियाँ ४० पैसासम्ममा पात खरिद गरी मल उत्पादन गरिएको छ । सुकेको पात, गाईभैँसीको गोबरको मात्रा मिलाएर मल तयार गर्ने गरिएको छ । पात सङ्कलनबाट केही भए पनि आम्दानी भएको र सामान्य घरखर्च चलाउन सहयोग पुगेको स्थानीय सीता पुरीले बताउनुभयो । सङ्कलित पातसहित घरबाट उत्पादन हुने कुहिने फोहाेरबाट समेत मल उत्पादनको काम अघि बढेको छ । सुक्खा समयमा वनजङ्गलमा सुकेका पात सङ्कलन गर्दा वनमा हुने आगलागीका घटनामा कमी ल्याउनसमेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नगरले घरबाट फोहाेर वर्गीकरणलाई कडाइका साथ लागू गरेको छ । कुहिने र नकुहिने फोहर वर्गीकरणपछि  घरबाटै फोहाेर व्यवस्थापनको काम हुने प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताउनुभयो । “फोहाेर वर्गीकरण गर्नेबित्तिकै कतिपयले कुहिने फोहाेर आफैँ पनि व्यवस्थापन गर्ने गर्नुभएको छ, यसबाट नगरले व्यवस्थापन गर्ने फोहाेरमा कमी आएको छ”, उहाँले भन्नुभयो । 

गण्डकी प्रदेश सरकारको करिब रु. दुई करोड १३ लाख र पालिकाको करिब ६४ लाखको लागतमा फोहाेरमैला व्यवस्थापनको कार्यक्रम अघि बढेको हो । कार्यक्रममार्फत फोहाेर व्यवस्थापन केन्द्र निर्माण, कम्पोस्ट मल तयार पार्ने उपकरणलगायतका सामग्री खरिद गरिएको छ । 

कुहिने फोहाेरबाट कम्पोस्ट मल तयार गर्नका लागि आवश्यक गोबरको व्यवस्थापनका लागि छाडा चौपाया व्यवस्थापनको कामसमेत सँगै अघि बढेको छ । यसले आवश्यक गोबर मलको माग पूरा हुने साथै छाडा चौपाया व्यवस्थापनको काममा समेत सहयोग पुग्ने कार्यक्रमका ‘फोकल पर्सन’ विवेक पोख्रेलले बताउनुभयो । 

फोहाेर व्यवस्थापनका क्रममा उत्पादन गरिने कम्पोस्ट मल नगरभित्रका किसानलाई सहुलियत दरमा उपलब्ध गराइने योजना छ । समग्रमा कार्यक्रमले फोहाेर व्यवस्थापन, स्थानीय रोजगारी सिर्जना, छाडा चौपाया व्यवस्थापन, कम्पोस्ट मल उत्पादनलाई जोड्ने पोख्रेलले बताउनुभयो । योसँगै उत्पादित कम्पोस्ट मलले कृषिमा रासायनिक  मलको प्रयोगमा कमी ल्याउन, कृषि उत्पादन बढाउन र अर्गानिक उत्पादनलाई समेत सहयोग पुर्याउने उहाँले बताउनुभयो । रासस