• १६ चैत २०८०, शुक्रबार

लम्पी स्किन रोगबाट चौँरी समेत सङ्क्रमित

blog

लम्पी स्किमको सङ्क्रमण देखिएका लिमीका चौँरी । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला असार २६ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका चौँरी गाईसमेत लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।  चौँरी गाई बिरामी हुँदा पशु चिकित्सकले चेकजाँच गर्दा सो रोग देखिएको हो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख कृष्णबहादुर रोकायाले लिमीका चौरीमा पशुमा देशभर फैलिएको नयाँ रोग लम्पी स्किनको सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले लिमीका चौँरी बिरामी पर्न थालेपछि कार्यालयबाट पशु चिकित्सकसहितको टोली लिमी पुगेर चेकजाँच गर्दा सो रोग पुष्टि भएको बताउँदै हालसम्म चौँरी भने नमरेको बताउनुभयो । उहाँले चौकी स्राेत केन्द्रमा रहेका चौँरीलाई उपचार गर्ने क्रममा चार वटालाई रोग देखिएको र ती चौँरीलाई उपचार गरिएको बताउनुभयो । 

स्राेत केन्द्रमा हाल २२६ वटा साना ठुला चौँरी छन् । लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बाहिरका पशु वस्तु लिमी लैजान बन्देज लगाउँदा पनि लम्पी स्किन लिमीमा पुगेको बताउँदै यसले भयावह रूप लिन सक्ने देखिएको बताउनुभयो । सङ्क्रमित चौँरीलाई उपचार गर्ने र अन्यलाई भ्याक्सिन लगाउने कार्य भने भएको बताउँदै चार हजार मिटरभन्दा अग्लो स्थानमा रोग पुगेको बताउनुभयो । 

नयाँ रोगबाट चौँरी गाई सङ्क्रमित हुन थालेपछि किसान भने चिन्तित हुनुभएको छ । लिमी जाने दुई वटा नाका मात्र भएको कारण अन्य बेला पशुमा लाग्ने रोग भने हालसम्म देखिएको थिएन । कार्यालयले यस वर्ष मात्र ३३ वटा नयाँ चौँरी स्राेत केन्द्रलाई  सहयोग गरेको थियो ।