• १३ वैशाख २०८१, बिहिबार

नाबालिका बलात्कारको कसुरमा साढे १८ वर्ष कैद

blog

अमरराज नहर्की 

तनहुँ, असार २६ गते । तनहुँ जिल्ला अदालतले १४ वर्षीय बालिकालाई बलात्कार गरेको कसुरका अभियुक्तलाई साढे १८ वर्ष कैद सजाय तोकेको छ। जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आइतबार व्यास नगरपालिका–१० निवासी यमबहादुर विकलाई नाबालिका बलात्कार गरेको कसुरमा फैसला सुनाएको तनहुँका जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो। 

विकलाई जेल सजायका अतिरिक्त छ लाख रुपियाँ जरिबाना र १५ हजार क्षतिपूर्ति बुझाउने समेत फैसला गरेको कुँवरले जानकारी दिनुभयो। 

विकले २०७७ मङ्सिर १५ गते बालिकालाई बलात्कार गरेको र विसं. २०७८ जेठ १३ गते गर्भपतन गराएको भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए। साथै अभियुक्तले बालिकालाई २०७७ साल मङ्सिर १५ र त्यसपछि पटक पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको थियो। प्रहरीले आरोपित विकलाई पक्राउ गरी तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा २०७८ साल असार ८ गते मुद्दा दर्ता गरेको थियो। अदालतले विकलाई असार २० गते पुर्पक्षका लागि जिल्ला कारागार तनहुँमा थुनामा पठाउने आदेश दिएको थियो। 

यसैबिच १७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले सिरानचोक गाउँपालिका–३, पात्लेपानी निवासी २१ वर्षका सविन थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । असार ८ गते शुक्रबारका बिहान ११:०० बजे थापाले जबरजस्ती करणी गरेको भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरी दर्ता गराएको उहाँले जानकारी दिनुभयो।