• १२ वैशाख २०८१, बुधबार

यातायातमा सेवाग्राहीको भिड

blog

बर्दिबास समाचारदाता

बर्दिबास, असार २६ गते । आर्थिक वर्ष अन्त्य हुने क्रमसँगै सरकारी कार्यालयमा बजेट सक्ने चटारो छ। यस विपरित बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारीलाई राजस्व सङ्कलन र सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। सामान्य दिनमा अढाई तीन सय जतिले सेवा लिने यस कार्यालयमा असार लागेदेखि दोब्बर बढीले भिड बढ्दै गएपछि सास फेर्ने पनि फुर्सद नभएको कर्मचारीले जनाएका छन्। 

कार्यालयका अधिकृत सञ्जय खतिवडाका अनुसार असार सकिने क्रमसँगै दैनिक पाँच सयबढी सेवाग्राही आउने गरेका छन्। उहाँले यसलाई व्यवस्थापन र सेवा प्रवाह गर्न सिमित सङ्ख्यामा रहेका कर्मचारीलाई सकस पर्दै गएको बताउनुभयो। सेवाग्राही बढ्न थालेपछि राजस्व सङ्कलनले पनि रेकर्ड बनाउन थालेको छ। कार्यालयका लेखापाल मेघलाल योञ्जनका अनुसार आर्थिक वर्ष २०७८/७९ को एक वर्षको अवधिमा २५ करोड बढी राजस्व सङ्कलन गरेको थियो। चालु वर्षमा साप्ताहिक हिसाब मिलान अनुसार शुक्रबारसम्म ३० करोड रुपियाँभन्दा बढी असुल गरिसकेको छ। 

उहाँका अनुसार अहिले दैनिक २० लाखबढी राजस्व सङ्कलन हुन थालेको छ।  यही गतिमा असुली बढ्दै जाने हो भने चालु अर्थिक वर्षको अन्त्यसम्म ३३ करोड सङ्कलन हुने अपेक्षा छ। चालु आर्थिक वर्षभित्र राजस्व नबुझाए जरिवाना तिर्नु पर्ने व्यवस्था भएकाले पनि यो बेला सेवाग्रहीको चाप बढन गएको बताइन्छ।

उहाँका अनुसार समयभित्र राजस्व नतिरे सवारी अनुमति नवीकरणमा शतप्रतिशत, सवारी करमा ३२ प्रतिशत र भाडाका गाडीको आयकरमा २५ प्रतिशतसम्म जरिवानाको व्यवस्था नभएकाले कार्यालय परिसरमा राजस्व बुझाउनेको चाप बढेको छ।

सहरीकरणतर्फ उन्मुख बर्दिबासको भौगोलिक सहजता र आवागमनको सुविधाले पनि राजस्व असुली बढ्ने अर्को कारण रहेको कार्यालयका अधिकृत खतिवडाले बताउनुभयो। धनुषा र महोत्तरीका उत्तरी क्षेत्रलगायत सर्लाही, रौतहट, सिन्धुली र दोलखासम्मका सवारीधनीलाई बर्दिवासस्थित कार्यालयबाट सेवा लिन सहज भएको छ। उहाँले जनकपुर यातायातको भिडभाड र अस्तव्यस्त माहौलले मटिहानी, जलेश्वर र नैनहीजस्ता सुदूर दक्षिणी भेगका सेवाग्राहीको आकर्षण पनि यो कार्यालयमा बढ्दै गएको बताउनुभयो। 

यस सेवा कार्यालयमा सेवा प्रवाहको दायरा बढ्दै गएकाले पनि राजस्व असुलीमा यसको सकारात्मक प्रभाव देखिएको हो। यो कार्यालयमा अहिले सबै प्रकारका सवारीसाधनको राजस्व असुली, रुट परमिट जारी र नवीकरण, पटके इजाजत, जाँचपास जस्ता सेवा दिँदै आएको छ। कार्यालयका अधिकृत खतिवडाले हराएकालाई नयाँ लाइसेन्स, नयाँ सवारीचालक परीक्षा ट्रायल र नयाँ लाइसेन्स वितरणको समेत जिम्मेवारी थपिएपछि असुली बढेको बताउनुभयो।