• १३ वैशाख २०८१, बिहिबार

तस्करको फन्दामा श्रमिक

blog

काठमाडौँ, असार २६ गते । वैदेशिक रोजगारीमा खाडी मुलुक दुबई, कतार, मलेसियालगायतका मुलुकबाट स्वदेश फर्किने नेपाली श्रमिक सुनको अवैध तस्करीमा प्रयोग हुने गरेको खुलेको छ ।

कतार एयरलाइन्सबाट नेपाल फर्किएका धनुषाका सुनीलकुमार महरा, नरेश पन्जियार, सिरहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तु गुलाम मुराउ र  बाँकेका भुमबहादुर वलीले जनही साथमा बोकेर ल्याएको ४८ ग्राम सुनसहित तस्करीको गिरोहले बोकाएर पठाएको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीले खाडी मुलुकबाट फर्किने श्रमिकहरू सुनलगायत महँगा वस्तुको तस्करीमा प्रयोग हुने गरेको पाइएको बताउनुभयो । 

केसीले खाडी मुलुकबाट फर्किने नेपाली श्रमिकलाई भरिया बनाएर प्रत्येक महिना ८० देखि ९० केजी र एक वर्षमा करिब १० क्विन्टल सुन तस्करी हुने गरेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केका पाँच जनाले ल्याएको तस्करीको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन विनोद साह, सञ्जुकुमारी शाह, दुर्गाप्रसाद यादव र देवानन्द शाहलाई समेत पक्राउ गरिएको जानकारी दिनुभयो ।

श्रमिकलाई सुनको भरिया बनाएर तस्करी गर्ने सिराहका शिवसुन्दर राउत सन् २०१२ देखि तस्करीमा सक्रिय रहेको पाइएको अनुसन्धानबाट खुलेको छ ।

राउतको पछिल्लो तीन वर्षमा बैङ्किङ कारोबार एक अर्ब ९६ करोड देखिएको छ । विभिन्न ४१ वटा बैङ्क खाताबाट कारोबार गरेका राउतले मधेश प्रदेशबाट वैदेशिक रोजगारमा जाने श्रमिकलाई प्रयोग गरी हुन्डी र सुन तस्करीमा संलग्न गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौँको सिनामङ्गलस्थित हिमालयन स्पायर होटल सञ्चालक विनोदकुमार शाह र उनकी पत्नी सञ्जु शाहलाई समेत पक्राउ गरेको छ ।

सुन तस्करीमा संलग्न सिरहाका मोहनकुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । यादवले मुख्य योजनाकार शिवसुन्दर राउतको खातामा रकम हाल्ने र झिक्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

खाडी मुलुकबाट नेपाल फर्किने श्रमिकलाई जनही एक सय कतारी रियल दिने र एक दिन काठमाडौँका होटलमा निःशुल्क बस्न र खानको व्यवस्था गर्ने प्रलोभन देखाएर गिरोहले खाडी मुलुकबाट फर्किने श्रमिकलाई भरियाका रूपमा सुन तस्करीमा प्रयोग गरेको पक्राउ परेका व्यक्तिहरूले स्वीकार गरेको प्रहरीले जनाएको छ ।  प्रहरीले नेपाली श्रमिक बढी रहेका खाडी मुलुकबाट सङ्गठित रूपमा तस्करीको सञ्जाल चलाउने गिरोहको पहिचान गरेको दाबी गरेको छ ।