• १६ चैत २०८०, शुक्रबार

शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : मन्त्री डा.महत

blog

नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, असार २५ गते । अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’

पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’’

पब्लिक क्याम्पस ठुलो सङ्ख्यामा देशैभर फैलिएको छ । पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको मन्त्री डा. महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विद्यार्थीलाई एटेन्सन गर्ने सबभन्दा ठुलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसहरूले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा छ ।’’


मन्त्री डा. महतले थप्दै भन्नुभयो, ‘‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरू कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेण्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्याप्त छ । यसलाई रिभर्स गर्नुपर्ने आजको आवश्यकता छ ।’’

आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएको छ । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रवृत्तिमा सीमित मान्छे जान्थे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान म पूर्ण छात्रावृत्तिमा चुनिएँ । तर म प्रजातन्त्रका लागि लडिरहेको योद्धा थिएँ, नेपाल विद्यार्थी सङ्घको नेतृत्व पनि गर्थेँ । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने बित्तिकै उनीहरूले पासपोर्ट पाउँदैनथे । मैले पनि नपाउने भएँ । तर त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘मान्छेले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गछौं । हरेक व्यक्तिले आफ्नो क्षमता प्रयोग गर्न राज्यले सहयोग गर्नुपर्छ, त्यसलाई निषेध गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’’