• १३ वैशाख २०८१, बिहिबार

रङ्गमञ्चमा युवापुस्ताको आकर्षण

blog

काठमाडौँ, असार २५ गते  । पछिल्लो समय रङ्गमञ्चमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ। जीवनसँग जोडिएको नाटकले धेरै कलाकार जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नै अनुभव र स्वअध्यननले । नाटकलाई योगदान दिन चाहने र आफ्नो जीवनमा योगदान लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा देखिन थालेका छन् । कसैलाई थिएटरमा अभिनय गरेर चलचित्रमा प्रवेश गर्नु छ त कोहीलार्य आफूभित्र भएको कलालाई अझ तिखार्नु छ ।  

नाटकमा युवापुस्ताको आकर्षणबारे अग्रज रङ्गकर्मी हरिहर शर्मा भन्नुहुन्छ, “नाटकले कलाकारलाई दिने सबैभन्दा ठुलो कुरा आत्मसन्तुष्टि र प्रसिद्धि नै हो । केही पाउनभन्दा आत्मसन्तुष्टिका लागि नाटकमा लाग्न चाहनेले नाटक बुझ्छन् र सफल पनि हुन्छन् ।” 

अभिनयमा रुचि हुने र आफूमा रहेको अभियनकला थप तिखार्न थिएटर धाउने युवाको सङ्ख्या अहिले निकै बढेको छ। नाटकका कलाकारको राम्रो प्रस्तुतिले उनीहरूले नामसँगै दाम पनि कमाउन थालेका छन् । पुराना कलाकारकै दाँजोमा वा त्योभन्दा राम्रो अभिनय अहिले नयाँ पुस्ताका कलाकारले गर्न थालेका छन् । कोही आफ्नो सोखका कारण यस क्षेत्रमा लागेका छन् भने कोही नाटक बुझ्नका लागि । 

नाटक ‘हिउँभन्दा चिसो’ मा अभिनय गरिरहनुभएका रङ्गकर्मी गोविन्द सुनार नाटक ‘रसोमन’ बाट प्रभावित भएर रङ्गमञ्चमा लागेको बताउनुहुन्छ । अहिले नाटक ‘हिउँभन्दा चिसो’ मा अभिनय गरिरहनुभएका सुनारले करिब एक महिना रङ्गकर्मी सुनील पोखरेलसँग ‘ज्ञ’ थिएटरबाट नाटकको प्रशिक्षण लिएको र त्यसपछि उहाँले ‘पुरानो घर थिएटर’ मा रङ्गकर्मी सुलक्षण भारतीसँग रङ्गमञ्चको कक्षा लिएको सुनाउनुभयो । अरूले रङ्गमञ्चमा नाटक गरेको देखेर आफूलाई पनि यसमा होमिन मन लागेको उहाँको भनाइ थियो । उहाँ भन्नुहुन्छ, “नाटकले आफूलाई समाजसामु चिनाउन ठुलो काम गर्दो रहेछ । आज म नाटकको कलाकार नभएको भए मलाई समाजले यसरी चिन्दैन्थ्यो होला ।” नाटक भनेको जे देखिन्छ त्यो अनुभव गर्ने हो । मानौँ हामी सडकमा हिँडिरहेका छौँ र हामीले अनौठो कुरा देख्यौँ भने हामीले त्यसलाई अनुभव गर्न सक्छौँ । यही नै हो नाटक । 

रङ्गकर्मी राजन खतिवडा भन्नुहुन्छ, “अहिले अधिकांश विद्यार्थी कलाकार नै बन्छु भनेर आएका हुँदैनन् । कोही आत्मविश्वास बढाउनका लागि भए पनि अभिनयको सहारा लिन्छन् । हो अहिले रङ्गमञ्चमा नयाँको लर्को लागेको छ ।” नाटकलाई आफ्नो मनले जति अनुभव ग¥यो त्यति नाटकको गहिराइमा जान सकिने खतिवडाको भनाइ छ । 

त्यस्तै रङ्गकर्मी अनुशा राई सानैदेखि यही क्षेत्रमा रुचि भएकाले रङ्गमञ्चमा लागेको बताउनुहुन्छ । राईले आफू रङ्गमञ्चमा आउनुअघि विभिन्न म्युजिक भिडियो र  लघु चलचित्रमा काम गरिसकेको बताउनुभयो । मण्डलामा तीन महिना कक्षा सकेर पहिलो डेब्यु नाटक ‘कोराघाट’ मा अभिनय गर्दा धेरै नै रमाइलो अनुभूति भएको उहाँले सुनाउनुभयो । पहिलो नाटक गर्दा धेरै कुरा सिक्न पाइयो, उहाँको भनाइ थियो । नाटकको कला यस्तो विधा हो, जो यसमा हुन्छ उसले नै नाटक बुझ्छ । बाहिरबाट हेर्दा नाटकको उद्देश्य र महìव मनोरञ्जन जस्तो मात्र देखिए पनि नयाँ आउनुभएका रङ्गकर्मीहरू यसमा जीवन नै लुकेको बताउनुहुन्छ । प्रख्यात बेलायती फिल्म मेकर अल्फ्रेड हिच्चकले भनेका छन्, “जीवनबाट नाटक हटाइदिने हो भने त्यो निरस हुन्छ ।”