• १२ वैशाख २०८१, बुधबार

रसुवामा डेङ्गुको बिरामी

blog

रसुवा, असार २५ गते । उत्तरी रसुवाको भूभागमा समेत  डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले  एकजना डेङ्गुका  बिरामीलाई अस्पतालको अन्तरङ्ग कक्षमा राखी उपचार भइरहेको जानकारी दिनुभयो ।

समुद्र सतहदेखि दुई हजार मिटरको उचाइमा डेङ्गु रोगका बिरामी फेला परेपछि जिल्ला अस्पतालले लामखुट्टेप्रति सावधानी रहन अनुरोध गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढेपछि गर्मी स्थानमा मात्र हुने लामखुट्टे हिमाली क्षेत्रमा उक्लेको जनाइएको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. शाहले डेङ्गु सार्ने लामखुट्टे बिहान सूर्याेदयभन्दा अगाडि र साँझ सूर्याेदयभन्दा पछाडि थोरै समय सक्रिय रहने भएकाले सो समयमा बढी सावधानी अपनाउनुपर्छ भन्नुभयो ।   उहाँले घरआँगन छेउका गोरेटो घोडेटोलगायतमा पैदल वा सडक मार्गमा सफा राख्न र पानी जम्ने स्थान माटोले पुरी पानीका भाँडा छोपेर राख्न आग्रह गर्नुभयो ।  

यस्तै जिल्ला अस्पताल धुञ्चेले आइतबारदेखि थप व्यवस्थित गर्दै ‘ओपिडी सेवा’ सञ्चालनमा ल्याएको छ । अस्पताल छेउमा रहेको पुरानो भवनलाई सदुपयोग गर्दै व्यवस्थित तवरको ओपिडी सेवा सञ्चालनमा ल्याएको हो । सो ओपिडी सेवाको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले शुभारम्भ गर्नुभयो । 

अस्पताल पुग्नासाथ अधिकांश बिरामी काठमाडौँ रिफर गर्ने परिपाटी क्रमशः अन्त्य हुँदै गएको जनाइएको छ ।  यसबाट विशेषगरी  प्रसुती सेवा लिने सेवाग्राहीलाई सहज भएको  समाजसेवी बाबुलाल तामाङले बताउनुभयो । रासस