• ७ वैशाख २०८१, शुक्रबार

सहमति भएर पनि चलेन संसद्

blog

काठमाडौँ, असार २५ गते । प्रमुख दलका शीर्ष नेताबिच भएको सहमति कार्यान्वयन नभएपछि प्रतिनिधि सभाको बैठक सोमरबारसम्म स्थगित गरिएको छ। 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सदनको गतिरोध अन्त्यको ससर्त सहमति भएको थियो तर सहमतिको केही क्षणमै पुनः थप छलफलको आवश्यकता रहेको भन्दै बैठक सूचनाद्वारा स्थगित गरिएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रहमा सोमबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो। 

आइतबार बिहान शीर्ष नेताबिच ससर्त सहमति भएको थियो। सरकार निर्माणबारे यसअघि प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे स्पष्टीकरण दिने र प्रतिपक्षले सदन चल्न दिने सहमति शीर्ष नेताबिच भएको थियो। सोही अनुसार वार्ता चलिरहेकै बेला प्रतिनिधि सभाको बैठक दुई घण्टापछि सारिएको थियो। दलीय सहमति अनुसार निर्धारित समयमा पनि बैठक बस्न नसकेपछि भने दलहरूले एकअर्कालाई दोषारोपण गरेका छन्। 

सत्तारूढ दलले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) समझदारीबाट पछि हटेको आरोप लगाएका छन्। प्रतिपक्षी एमालेले भने सरकारकै कारण बैठक स्थगित गर्नु परेको बताएको छ। सोमबार पुनः छलफलपछि प्रतिनिधि सभाको कारबाही अघि बढ्ने वा नबढ्ने निक्र्योल हुने छ। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदनको कारबाही अघि बढ्ने सुनिश्चितता एमालेले नदेखाएको बताउनुभयो। लेखकले भन्नुभयो, “प्रतिपक्ष दलले प्रधानमन्त्रीको जवाफ मात्र होइन, चित्त बुझ्ने गरी सुनिश्चितता पनि खोज्यो। सदनमा जवाफ दिएपछि पनि सदन नचल्ने अवस्थामा प्रधानमन्त्री बोल्नु उचित पनि हुन्न।”

तर प्रतिपक्षी एमालेका प्रमुख सचेतक पदम गिरीले भने सरकारले नै बैठक स्थगित गरेको जिकिर गर्नुभयो। एमालेले अभिव्यक्ति र सोपछिको प्रधानमन्त्रीको सचिवालयको वक्तव्यमार्फत प्रतिपक्षी दललाई लगाएको आरोपमा आत्मालोचना गर्नुपर्ने माग गरेको छ। आत्मालोचना गरे बैठक चलाउने तयारी भइरहेका बेला प्रधानमन्त्रीकै आग्रहमा बैठक स्थगित भएको गिरीको भनाइ छ। गिरीले भन्नुभयो, “हामीले उठाएका सबै विषयमा चित्तबुझ्दो जवाफ हामीले मागेका हौँ। जवाफ आएपछि के गर्ने भन्ने हामी नै निर्णय गर्छौं तर दलहरूबिच थप छलफलको आवश्यकता रहेको भनेर सरकारकै तर्फबाट बैठक स्थगितको प्रस्ताव भएको हो।”

व्यवसायी प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले अघिल्लो साता दिनुभएको अभिव्यक्तिप्रति प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्। आइतबार तीन दलबिच सहमति भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना भनाइ प्रधानमन्त्रीको जवाफअघि राख्न पाउनुपर्नेसमेत माग गरेका छन्। तीन दलले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठक भने एमालेकै अवरोधका कारण स्थगित भयो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सदन अवरुद्ध भइरहनु राम्रो नभएको भन्दै खुलाउन पहल गर्न दलहरूलाई आग्रह गर्नुभयो।