• १३ वैशाख २०८१, बिहिबार

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो

blog

काठमाडौँ, असार २४ गते । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । 

कपनस्थित कपन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा ललितपुर महानगरले दुई लाख नगद र ट्रफी हात पार्‍यो । गोकर्णेश्वरले एक लाख प्राप्त गरेको युवा सङ्घका प्रवक्ता निरोज पौडेलले जानकारी दिनुभयो । 

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गर्नुभयो । पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको गोकर्णेश्वर दोस्रो हाफमा सम्हालिन नसक्दा उपाधि चुम्न सकेन । दोस्रो हाफमा ललितपुरले एकलौटी पाँच गोल गरेको थियो ।  

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत पदाधिकारीहरूले पुरस्कार वितरण गर्नुभएको थियो ।