• ५ वैशाख २०८१, बुधबार

बाइस वर्षदेखि निरन्तर ‘खोटाबाजी’

blog

काठमाडौँ, असार २४ गते । एउटै टेलिसिरियल बाइस वर्षदेखि निरन्तर चलेको विरलै होला । नेपाल भाषाको हास्यव्यङ्ग शैलीको टेलिसिरियल ‘खोटा बजी’ ले २२ वर्षसम्म निरन्तरता दिएको छ । २२ वर्षमा यसको ९५० शृङ्खला प्रशारण भइसकेको छ । एक हजार शृङ्खला पु-याउने लक्ष्यका साथ निर्माण समूहले काम गरिरहेको छ । 

खोटाबजीको टेलिसिरियल विसं २०५८ साउनबाट इमेज च्यानलबाट प्रशारण सुरु भएको हो । हास्य विधामा तयार गरिँदै आएको टेलिसिरियलका निर्देशक सुरेन्द्र तुलाधरले  कोभिड–१९ को अवधिमा सरकारले लगाएको बन्धाबन्दीमा तीन महिना सुटिङ रोकिए पनि त्यसपछि साताको एक पटक प्रसारण कहिल्यै नरोकिएको बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “नेपाली दर्शकका लागि नेपाल भाषामा हास्यव्यङ्ग्यको माध्यमबाट सकारात्मक सन्देश दिन यो सिरियल बनाउन थालिएको हो । यसले खोटाबजी २२ वर्षमा सयौँ कलाकार तयार गरिसकेको छ ।” नेपाल भाषा बोल्ने, बुझ्ने काठमाडौँ, ललितपुर, भक्तपुरलगायत उपत्यकाका दर्शकका लागि बनाइए पनि हाल युट्युबमार्फत देश–विदेशका दर्शक समक्ष पनि पुगेको र सिरियलका बारेमा थुप्रै प्रतिक्रिया पनि आउँदा काम गर्न जाँगर चलिरहेको उहाँको भनाइ छ । खोटाबजीको प्रशारण सुरू हुँदा कलाकारको रूपमा प्रवेश गर्नुभएका तुलाधरले नै यस टेलिशृङ्खलाको कथा पनि लेखिरहनुभएको छ । विसं २०४७ देखि मञ्चमा ‘फेरि उ आउने छ’ शीर्षकको नेपाली भाषाको पूर्णाङ्की नाटकमा अभिनय गरेर कला क्षेत्रमा प्रवेश गर्नुभएका तुलाधरले नेपाली र नेपाल भाषाको थुपै्र चलचित्र, नाटकमा अभिनय गर्नुभएको छ ।