• ८ वैशाख २०८१, शनिबार

इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी

blog

‘लर्न एन्ड अर्न’ का लागि इजरायल जाने तयारीमा विद्यार्थी ।

एकिन्द्र तिमिल्सेना

कैलाली (टीकापुर), असार २४ गते । सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान विषयका स्नातक तहका ५० जना विद्यार्थी इजरायल जाने चटारोमा छन् । उनीहरू ११ महिना इजरायलमै बस्ने छन् तर उनीहरूको पढाइ टुट्ने छैन । बरु उनीहरूले त्यहाँ सिक्दै कमाउने छन् र कलेजलाई शोधपत्र बुझाएर मात्र उनीहरू फर्कने छन् ।

सो विश्वविद्यालय र नेपालस्थित इजरायलको दूतावासको सहकार्यमा विद्यार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत ती विद्यार्थी ११ महिनाका लागि इजरायल जाने भएका हुन् । “कृषिमा आधुनिकीकरण भएको इजरायल पुगेर यहाँका विद्यार्थीले कृषि प्रविधि सिकून् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरेका छौँ,” सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायका डिन लालप्रसाद अम्गाईले भन्नुभयो, “त्यहाँ पुगेपछि साताको एक दिन पढ्ने, पाँच दिन काम गर्ने र एक दिन आराम गर्न पाउने छन् । विद्यार्थीले अर्थोपार्जन पनि गर्ने छन् ।” 

उहाँका अनुसार स्नातक चौथो वर्षमा अध्ययनरत ५५ जना विद्यार्थीले आवेदन दिएकोमा नेपालका लागि इजरायलका राजदूत हनान गोडारको उपस्थितिमा सेडोट नेगेभ कलेजका प्राध्यापकको टोलीले टीकापुर बहुमुखी क्याम्पसमा ती विद्यार्थीलाई छनोट गरेको हो । 

इजरायल जाने विद्यार्थीहरूले हवाई टिकट भने आफैँले खरिद गर्नुपर्ने छ । अन्य खर्च विश्वविद्यालय तथा दूतावासको सहकार्यमा गरिने छ । इजरायलको श्रमिक कानुन अनुसार न्यूनतम पारिश्रमिक पाउने र राम्रो काम गर्न सक्नेले बढी पनि कमाउन सक्ने छन् । ती विद्यार्थीले मासिक कम्तीमा एक लाख रुपियाँ आम्दानी गर्ने छन् । उनीहरू आगामी सेप्टेम्बरमा इजरायल जाने छन् । विद्यार्थी लुइस रिजालले यो अवसर आफ्ना लागि निकै महत्वपूर्ण भएको र चाहेभन्दा राम्रो अवसर पाएको बताउनुभयो। “नेपालमा कृषक र कृषि पढ्नेलाई महत्वसाथ नलिने गरिएको अवस्थामा यस्तो अवसरले आत्मबल बढाएको छ। केही अर्थोपार्जन पनि हुने छ,” उहाँले भन्नुभयो। 

अर्का विद्यार्थी सुष्मा रेग्मीले पनि इजरायल जान पाउनु आफ्ना लागि राम्रो मौका भएको उल्लेख गर्दै देशमा सिप र प्राविधिक ज्ञान थपिने बताउनुभयो।

नेपाल–इजरायल दौत्य सम्बन्ध भएकाले इजरायल दूतावासले नेपाल र इजरायलका क्याम्पसबिच पनि सम्बन्ध बनाइरहेको छ। “कृषिमा राम्रो ज्ञान भएका वा भाषा जानेका युवा इजरायलका कृषि उद्यमी कहाँ गएर काम गर्दै सिक्ने र राम्रो पारिश्रमिक पाउँदै आएका छन्,” डिन अम्गाईले भन्नुभयो, “सुदूरपश्चिम पनि दुर्गम क्षेत्र भएकाले यहाँका दक्ष विद्यार्थी इजरायली किसानका कृषि फार्ममा काम गर्ने छन्। 

२८० घण्टाको कोर्स पूरा गरेर ११ महिनापछि त्यहाँको कलेजलाई शोधपत्र बुझाएर फर्किने छन्।”

नेपालका लागि इजरायलका राजदूत गोडेरले इजरायलमा दुई प्रतिशत जनसङ्ख्याले कृषिमा काम गर्दा खाद्यान्न निर्यात गर्ने अवस्थामा रहेको तर नेपालमा ६० प्रतिशतले कृषिमा काम गर्दा पनि खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले नेपालको कृषिमा आधुनिकीकरण आवश्यक रहेको सुझाव दिनुभयो।