• १३ वैशाख २०८१, बिहिबार

खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

blog

कार्यक्रमको उद्घाटन गर्नुहुँदै संविधानसभा सदस्य दुर्गाजयन्ती राई ।

राजकुमार भट्टराई

खोटाङ, असार २३ गते । खोटाङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि खोटाङलाई शनिबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।  

नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्र १५ महिना मुनीका सबै बालबालिकाले लगाएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङको प्रतिवेदनमा उल्लेख छ । हाल जिल्लामा १ वर्ष मुनिका तीन हजार ३४४ जना, दुई वर्ष मुनिका ६ हजार ४९२ जना र ५ वर्ष मुनिका १६ हजार ५०५ जना बालबालिका रहेका छन् । उनीहरु सबैले खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताउनुभयो ।

खोप तालिका अनुसार सबै बालबालिकाले लगाए नलगाएको भनेर १६ देखि ५९ महिनासम्मका बालबालिकाको खोप अवस्थाको पहिचान गर्ने गरिन्छ । छुटेको भेटिएका बालबालिकालाई खोपको सबै मात्रा लगाएर पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरिन्छ । यो वर्ष जिल्लामा कुनै पनि खोप नलगाएको २२ जना बालबालिका भेटिएका थिए । यस्तै ५० जना बालबालिकामा खोप छुटेको पाइएको थियो । उनिहरु सबैलाई पुरा खोप लगाइएको सिक्देलले बताउनुभयो । 

७९ वडा र १० वटा पालिका रहेको जिल्लामा वडाहुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो । यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरिएको छ । घोषणा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहलाई जिल्ला जिल्ला खोप समन्वय समितिले सम्मानसमेत गरेको छ । 

जिल्ला समन्य समितिका प्रमुख सनबहादुर राईको अध्यक्षता तथा संविधान सभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुँयाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवाडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख मञ्जिल मुकारुङ, रावा बेसी गाउँपालिकाका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, जिल्लाका राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायतको उपस्थिति रहेको थियो । 

खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ ।