• १६ चैत २०८०, शुक्रबार

बिरामी सुत्केरीको हेलिकोप्टरबाट उद्धार

blog

बिरामी सुत्केरी सुनारलाई उद्धा गर्न आएको सेनाको हेलिकोप्टर । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार २३ गते । सुत्केरी बिरामी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उहाँको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । 

अदानचुली गाउँपालिका–२ की २२ वर्षकी बैशाखी सुनारको एक हप्ता अघि शल्यक्रिया गरी मृत शिशु निकालिएको थियो । सुत्केरी महिला सुनार बिरामी परेपछि शनिवार हेलिकोप्टरबाट उद्धार गरिएको हो । 

जिल्ला अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले सुत्केरी ब्यथा लागेर बाजुराको कोल्टीस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्र लगेर शल्यक्रिया गरिएको जानकारी दिनुभयो । शल्यक्रिया गरिए पनि शिशु मृत भेटिएको उहाँको भनाइ छ ।

सुत्केरी महिलालाई पखालाले च्यापेपछि कोल्टीबाट हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको उहाँले बताउनुभयो । सुनारको असार १६ गते शल्यक्रिया गरिएको थियो । सुत्केरी महिलाको अबस्था नाजुक भएपछि गाउँपालिका, स्थानीय प्रशासन र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको उहाँले बताउनुभयो । 

हेलिकोप्टरको ब्यवस्था सङ्घीय सरकारको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट गरिएको हो । अहिले उहाँको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । यस आर्थिक वर्षमा यो सहित नौ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।