धानको बीउ छर्ने बेलामा मल अभाव


धनगढी समाचारदाता

धनगढी, जेठ १ गते । कैलालीमा रासायनिक मलको अभाव भएको छ । पर्याप्त मात्रामा आपूर्ति हुन नसकेपछि धानको बीउ छर्ने समयमा रासायनिक मलको अभाव भएको हो । गहुँ लगाउने समयमा पनि किसानले मलको चरम अभाव भोगेका थिए । मल जोहोका लागि कृषकको दौडधुप बढेको छ । किसानहरू मल खोज्नका लागि भारतीय बजारसम्म पुग्ने गरेकोे बताउँछन् । स्थानीय कृषक राजेश चौधरीले भन्नुभयो, खेती लगाउने समयमा सधैँ मलको अभाव हुन्छ । हामीले अहिले मल पाएनौँ भने कसरी धानको बीउ छर्न सकिन्छ ?
सुदूरपश्चिम प्रदेशका लागि आवश्यकपर्ने मल आपूर्ति हुन नसकेको जनाइएको छ । प्रदेशमा युरिया र डीएपी १५÷१५ हजार मेट्रिक टन, पोटास एक हजार मेट्रिक टन माग रहेको छ तर कुल मागको आधा मात्रै रासायनिक मल आयात भइरहेकाले अभाव देखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख नवलसिंह बोगटीले मौज्दात मल सकिएकाले अहिले धान बीउ छर्नका लागि किसानलाई मल उपलब्ध गराउन समस्या भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, मौज्दात सबै मल बिक्री वितरण गरिसकेका छौँ । चैत र वैशाखमा गरी छ सय मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डीएपी बिक्री वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds