• ४ वैशाख २०८१, मङ्गलबार

रास्वपाको हविगत छिट्टै पुराना पार्टीको जस्तै हुन्छ : महासचिव भुसाल

blog

नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल । फाइल तस्बिर

काठमाडौं, असार २३ गते। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीको जस्तै हुने दाबी गर्नुभएको छ। दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उहाँको तर्क थियो। 

पार्टी निकट कानुनी व्यवसायीको सङ्गठन ‘समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दल अघि बढ्न सक्ने अवस्था नरहेको तर्क समेत गर्नुभयो। 

उहाँले मुलुकमा रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध सङ्घर्ष गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभयो। महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गर्नुभयो। 

उहाँले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरेर समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबीसमेत गर्नुभयो। 

महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधार तय गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। उहाँले पार्टी निकट कानुन व्यवसायीलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराउनुभयो।