• १६ चैत २०८०, शुक्रबार

दुई पालिका जोड्ने पुल निर्माण

blog

हेटौँडा र राक्सिराङलाई जोड्ने गरी चुर्लिङखोलामा निर्माण भएको झोलुङ्गे पुल । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार २३ गते । 
हेटौँडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने चुर्लिङ खोलामा झोलुड्डे पुल निर्माण भएको छ । सङ्घीय सशर्त अनुदानसहित ३८ लाख रुपियाँको लागतमा हेटौँडा उपमहानगरपालिका–१९ र राक्सिराङ गाउँपालिका–१ जोड्ने चुर्लिङखोला झोलुङ्गे पुल निर्माण गरिएको हो ।

वि.सं. २०७६ सालमा झोलुङ्गे पुल निर्माणको विस्तृत परियोजना प्रस्ताव स्वीकृत भए पनि पुल निर्माण नहुँदा स्थानीयले आवतजावतमा समस्या भोग्दै आएका थिए । पुल अभावमा हेटौँडा–१९ स्थित शिरान्चोक बेसीटोलका बालबालिका वर्षायाममा जोखिम मोलेर राक्सिराङ गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययन गर्न जान बाध्य हुँदै आएको पुल निर्माणपछि स्थानीयलाई आवागमनमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष कुमार ब्लोनले जानकारी दिनुभयो ।

उपमहानगरको बेसीटोलबाट १५ घरका ३५ जना बालबालिका अध्ययनका लागि राक्सिराङ गाउँपालिकास्थित विद्यालय जाने गरेका छन् । करिब ७६ मिटर लामो पुल निर्माणमा सङ्घीय सरकारले ८५ प्रतिशत, हेटौँडा उपमहानगरपालिकाको १३ र उपभोक्ता समितिले दुई प्रतिशत लगानी गरेको हो ।

झोलुड्डे पुल निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गा दाता बाघसिंह स्याङ्तान र वीरबहादुर लो तथा  पुल निर्माणमा संलग्न स्थानीय हर्कबहादुर थोकर र इन्द्रबहादुर स्याङतानलाई सम्मान गरिएको छ ।