• ६ वैशाख २०८१, बिहिबार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

blog

राममणि दाहाल 

हेटौँडा, असार २३ गते । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नं.को ट्रक शनिवार बिहान एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा च्यापिएर तीन जनाको  मृत्यु भएको हो । दुर्घटना हुँदा ट्रकमा आगलागी भएको थियो । 

दुर्घटनामा परी मृत्यु हुनेमा ना ६ ख ६६६७ नं.को ट्रक चालक चितवन जिल्ला राप्ती नगरपालिका ८ का वर्ष २८ को रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा जिल्ला गण्डकी गाउँपालिका २ गोर्दीटारका वर्ष २१ को सुमन चेपाङ र ना ६ ख ६३१ नं.को ट्रक सहचालक मकवानपुर जिल्ला मनहरी गाउँपालिका ३ का वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घाइतेहरू तीन जना च्यापिएको जानकारी दिनुभयो । साथै दुर्घटनामा परी ना ६ ख ६६६७ नं.को ट्रकमा सवार जिल्ला राप्ती नगरपालिका ३ का वर्ष ३५ को विवेक तामाङ र ना ६ ख ६३१ नं.को ट्रक चालक मनहरी गाउँपालिका ३ का वर्ष ३२ को अर्जुनकुमार प्रजा घाइते भएको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरूको उपचारको लागि भरतपुर पठाइएको छ । ट्रकमा लागेको आगो नियन्त्रणमा लिएर दुवैतर्फ बाटो  सुचारु गरिएको प्रहरीले जनाएको छ ।