• ८ वैशाख २०८१, शनिबार

१२ अर्ब २३ करोडबढी रकम दुरुपयोग गर्ने केदारनाथ पक्राउ

प्रहरीको तीन महिने प्रगति विवरण : तीन हजार पाँच सय ६२ फरार अपराधि पक्राउ

blog

पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २२ गते। नेपाल प्रहरीले निक्षेपकर्ताको १२ अरब २३ करोड ५१ लाख ८३ हजार रुपियाँ रकम दुरुपयोग गर्ने अभियुक्त केदारनाथ शर्मालाई पक्राउ गरेको छ। 

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७९/८० मा गत चैत १५ देखि असार १५ गतेसम्मको तीन महिने प्रगति विवरण सार्वजनिक गर्नुहुँदै प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका शाखा कार्यालय रहेको निक्षेपकर्ताको सो रकम दुरुपयोग गर्ने शर्मालाई असार ११ गते बाँके नेपालगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो। सो सहकारीमा एक लाख ८९ हजार ८७९ निक्षेपकर्ताको बचत रकम रहेको छ।  

सहकारी ठगीतर्फ दुई अरब ४४ करोड २१ लाख १४ हजार रुपियाँ बिगो माग दाबी रकमसहित अन्य पाँच सञ्चालकविरुद्व मुद्दा दर्ता भएको र १३ जना सहकारी सञ्चालक पक्राउ परेका छन्।यसैगरी, चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा तीन हजार पाँच सय ६२ फरार अभियुक्त पक्राउ भएको छ भने मुद्दा दर्ता ११.२२ प्रतिशत र पक्राउ ११.१५ प्रतिशतले बढेको छ। 

यो अवधिमा लागू औषध गाँजा ६९६१.६१ किलोग्राम, चरेश १७९.००, हेरोईन ४.२५ र अफिम ४.९८ केजी बरामद गरिएको छ। लागूऔषध ब्यूरोद्वारा सञ्चालित विशेष अपरेशनमा रात्रि क्लब, मनोरञ्जन गृह तथा ट्रान्स पार्टीमा प्रयोग हुने एलएसडी १० हजार १३१ पीससहित पाँच जना विदेशी, सात नेपाली गरी १२ जना पक्राउ परेका छन्। 

नेपाल प्रहरीको उल्लेख्य प्रगति विवरणमा राष्ट्रिय स्तरमा चर्चित अपराधहरु नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, विद्युतीय सट्टा बाजी र सहकारी ठगी सम्बन्धमा अनुसन्धान अघि बढाइएको उल्लेख छ। 

मिटर ब्याज सम्बन्धमा कुल १२ हजार २०० उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रहरीलाई ११ हजार ७०१ र प्रहरीका कार्यालयमा सोझै ४९९ उजुरी परेको हो। जाहेरी दरखास्त दर्ता संख्या २४, मिलापत्र ५५९ र ९४ जना पक्राउ परेका छन्। 

प्रहरीले गत जेठ ३० गते विभिन्न समयमा बरामद भएका ६ हजार दुई सय ६८ थान हातहतियार कानुन बमोजिम नष्ट गरेको छ। १५३ अवैध लामो हतियार, १६ छोटो हतियार, १४७ गोली र छ म्यागजिन बरामदसँगै मानिस पक्राउ परेको जनाइएको छ। 

अवैध सामान बरामद, चोरी पैठारी नियन्त्रण, भन्सार चोरी निकासी, अवैध मुद्रा र हुण्डी बरामद जस्ता विभिन्न माध्यमबाट कुल राजस्वमा एक अरब ५९ करोड ६२ लाख ८२ हजार १७७ रुपियाँ योगदान भएको छ। 



प्रदेशस्तरीय कार्यक्रम

काठमाडौं उपत्यकामा सुरक्षित उपत्यका अभियान, कोशी प्रदेशमा पीडितसँग पुनः भेटघाट कार्यक्रम सञ्चालित छ। 

मधेशमा अल्पसङ्ख्यकसँग प्रहरी कार्यक्रम, बागमतीमा  स्मार्ट प्रहरी कन्ट्रोल रुम, गण्डकीमा कम्युनिटी इन्भाइरोमेन्ट पोलिसी, लुम्बिनीमा आत्महत्या न्युनीकरण, कर्णालीमा घरघरमा स्टिकर टाँस, निःशुल्क निवेदन लेखन र सहजीकरण, नागरिक सहजकर्ता प्रहरी परिचालन र सुदूरपश्चिम प्रदेशमा औषध विरुद्व महाअभियान सञ्चालन गरिएको छ। 

अहिले विपद् व्यवस्थापनका लागि तत्काल १०,०८२  प्रहरी कर्मचारी तैनाथ अवस्थामा रहेका छन्। प्रहरीले यो अवधिमा ६ हजार ३२८ जनालाई कोभिड–१९ विरुद्वको खोप दिएको जनाएको छ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।