शताब्दीपुरुषलाई सय प्रश्न

satyamohan_1पाटन दरबार स्क्वायरबाट पूर्वतिर अलिकति अगाडि बढ्दा दाहिनेतर्फ एउटा बहाल भेटिन्छ । त्यो बहालको नाम हो– बखुम्बहाल । इनारसहितको बहालबाट दक्षिणतिर फर्कंदा कलात्मक ढोका देखिन्छ । त्यसबाट छिरेर देब्रेतिर लम्केपछि पुगिन्छ, वाङ्मय शताब्दीपुरुषको आश्रम । नेपाल सरकारबाट वाङ्गमय शताब्दीपुरुषका रूपमा सम्मानित सत्यमोहन जोशी वैशाख ३० गतेदेखि उनान्सय वर्ष पूरा गरी सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । यस अवसरमा ललितपुर महानगरपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथामा जोशीको तस्बिर अङ्कित ब्यानर फर्फराउने, हुलाक टिकट, चाँदीको मुद्रा प्रकाशन गर्ने, पार्क निर्माण गर्ने, सडकको नामकरण गर्ने, अध्ययन केन्द्रको स्थापना गर्ने जस्ता कार्यक्रम तय गरिसकेको छ । सयौँ जन्मोत्सव मनाउने तयारीमा रहनुभएका वाङ्मय शताब्दीपुरुष जोशीसँग राखिएका एक सय जिज्ञासा–

१) कति बजे उठ्नुहुन्छ ?
बिहान पाँच, साढे पाँचमा उठिसक्छु ।
२) उठ्नेबित्तिकै के गर्नुहुन्छ ?
एकछिन चुप लागेर बस्छु । त्यसपछि नियमित रूपमा जे–जे गर्नुपर्छ गर्छु ।
३) योगा ध्यान केही ?
गर्दिनँ, गर्दिनँ ।
४) पूजापाठ ?
हामी नेवार भए पनि जोशी । जोशीलाई व्रतबन्धमा ६ डोराको जनै दिएको हुन्छ । स्नान गरेपछि गायत्री जप्छु ।
५) बिहान चिया, दूध के पिउनुहुन्छ ?
मुख धोएपछि पिताजी र माताजीको सालिकमा तर्पण गरेर जल चढाउँछु । घरभित्र छिँडीमा बुद्धको मूर्ति छ, त्यहाँ सफा गरेर जल चढाउँछु । भित्र गणेशको सानो मूर्ति राखेको छु । नारायण, कृष्ण, सूर्य–चन्द्रका मूर्ति छन् । त्यसमा पानी छम्किएर सफा गर्छु । मायादेवीको मन्दिर बनिरहेको छ । त्यहाँ गएर घन्ट बजाउँछु, माने घुमाउँछु । एकचोटि प्रार्थना गरेर सम्झना गर्छु । एक चक्कर लगाउँछु । यहाँ आएर फेरि लक्ष्मीको पूजा गरेर शालिग्रामको जल लिन्छु । श्रीयन्त्रको पूजा गर्छु ।
६) औषधि केही खानुपर्छ कि ?
त्यस्तो केही पनि खान्न । मेरी श्रीमतीलाई चाहिँ दिनमा तीनपटक औषधि खानुपर्छ ।
७) चियासँग अरू केही लिनुहुन्न ?
अहँ, केही लिन्न ।
८) त्यसपछि बाहिर निस्कनुहुन्छ ?
कहाँ निस्कनु नि । कहिले को आउँछ, कहिले को आउँछ । अहिले पहिलाजस्तो धेरै कार्यक्रममा जान्न । घरमा एउटा सानो चौर छ । त्यहाँ दुबोमा हिँड्छु । आफ्नै तरिकाले साधारण व्यायाम गर्छु ।
९) खाना कति बजे खानुहुन्छ नि ?
त्यस्तै नौदेखि १० बजेसम्म ।
१०) नास्तामा के लिनुहुन्छ ?
श्रीमतीले चिया तयार पारेर राखेको हुन्छ । त्यसपछि आएर सँगै
(श्रीमतीतिर देखाउँदै) बसेर चिया पिउँछु ।
११) चियासँग अरू केही लिनुहुन्न ?
अहँ, केही लिन्न ।
१२) चियाचाहिँ कालो कि सेतो ?
अलिकति कफी राखेर पिउँँछु । त्यसले स्वादचाहिँ अलि फरक हुन्छ ।
१३) कार्यक्रममा त धेरै जानुहुन्छ नि ?
के गर्ने, यसो मन राखिदिनु नै प¥यो । वचन राख्न पनि जान्छु । नत्र फेरि ठूलो भयो भन्लान्, अर्कै तरिकाले सोच्लान् ।
१४) एक दिनमा कतिवटासम्म कार्यक्रममा जानुुभएको छ ?
चारवटासम्म भ्याएको छु । चारवटै कार्यक्रममा बोलेको छु ।
१५) परिवारमा को–को हुनुहुन्छ ?
परिवारमा श्रीमती र ममात्र बस्छौँ यहाँ । दुई छोरा बाहिर छन् । एउटा युकेमा डाक्टर छ । माइलो क्यानडामा छ । अमेरिकामा छोरी छ । तीन छोरी, तीन छोरा । जेठो ताहाचलमा बस्छ । छुट्टिएकोचाहिँ होइन ।
१६) रेडियो सुन्नुहुन्छ ?
पहिला त धेरै सुनियो । टेलिभिजन आएपछि निकै कम भयो । बीबीसीचाहिँ राति अक्सर सुन्छु ।
१७) टेलिभिजन कत्तिको हेर्नुहुन्छ ?
धेरै हेर्दिनँ, खबरखाबरमात्र हो ।
१८) पत्रपत्रिका ?
पत्रपत्रिका त हेर्छु । गोरखापत्र, कान्तिपुर, हिमालय टाइम्स आउँछन् । आफ्नो रुचिको विषय छ भने विस्तृत रूपमा हेर्छु । अरू त्यति ध्यान दिन्न ।
१९) खानामा विशेष के मनपर्र्छ ?
त्यस्तो खासै केही छैन । दालभात, तरकारी नै हो । मासु ‘नट नेसेसरी’ ।
२०) पढ्नलाई चश्मा लगाउनुपर्छ ?
१५÷२० मिनेट पढ्नका लागि त लगाउनुपर्दैन । सानो अक्षर भएमा चश्मा लगाउनुपर्छ ।
२१) हिजोआज लेखन कस्तो छ ?
ज्यादै कम । अहिले लेख्न भ्याइएन, लेख्ने वातावरण पनि भएन ।
२२) लेख्ने मान्छेले नलेख्दा अप्ठेरो हुँदैन ?
अब त बानी नै परिसक्यो । भनेर कसैलाई लेखाउने चलनै भएन । सक्दा आफैँले लेख्छु ।
२३) तपाईं त हिँडेरै कार्यक्रममा जानुहुन्थ्यो । अहिले नगरपालिकाले गाडी दिएको छ, हैन ?
त्यो त अहिलेमात्र हो ।
२४) गाडी भएपछि हिँड्न त बन्द भयो नि ?
एककिसिमले राम्रो भयो । अर्को किसिमले अप्ठेरोजस्तो भयो ।
२५) हिँड्न पाइएन ?
हिँड्दा हात हल्लाउन पाइन्छ । खुट्टा चाल्न पाइन्छ । मोटरमा गयो, हातको ‘एक्सरसाइज’ छैन । मोटर भएको मान्छे आइदिनुप¥यो भन्छन् । नगई पनि भएन । मोटर राख्ने ठाउँ छैन भन्दा पनि मोटर दिए । नगरपालिकामै राखेको छ, बोलाएमा पठाउँछन् ।
२६) कहिलेकाहीँ रिस उठ्छ ?
उठ्थ्यो, अहिले छोड्यो ।
२७) बुढेसकालमा झन् रिस उठ्छ भन्छन् नि ?
अब रिसाउने कुरै भएन नि । सबै कुरा थाहा भइसक्यो, अब किन रिसाउने ?
२८) खुसी त लाग्छ नि ?
खुसी भनेर त्यस्तो त होइन, सन्तोषचाहिँ मानेको छु ।
२९) के हुँदा मन खुसी हुन्छ ?
राम्रो काम गर्न पाउँदा खुसी लाग्छ नि ।
३०) कति सालमा एसएलसी दिनुभएको ?
१९९७÷९८ सालतिर होला ।
३१) कुन श्रेणीमा उत्तीर्ण हुनुभयो ?
द्वितीय श्रेणीमा ।
३२) राम्रो जान्ने विषय कुन थियो ?
पहिला त्यस्तो केही भएन, पछि भूगोलमा रुचि लाग्थ्यो । चन्द्रमा, नक्षत्र, ग्रहबारे अलि बढी रुचि थियो ।
३३) कमजोरचाहिँ कुन विषयमा हुनुहुन्थ्यो ?
हिसाबमा कमजोर थिएँ । एक विषय लागेर अनुत्तीर्ण भएँ । तर, दुई विषय लाग्नेलाई रुद्रराज पाँडेले उत्तीर्ण गराए । रोएर कराउन गएँ । ‘तैले पाँच नम्बरमात्र पाइस्’ उसको दुई विषय भए पनि अलिअलि मात्र नपुगेको हो भनेर फर्काइदिए ।
३४) कति कक्षाको कुरा हो यो ?
त्यस्तै चार हो कि पाँच कक्षामा हो ।
३५) पछि सुधार भयो ?
हिसाब भनेको कुरो जानेरमात्र हुँदैन । कहिले मिल्छ कहिले मिल्दैन ।
३६) कलेजमा के पढ्नुभयो ?
कलेजमा त संस्कृत, इतिहास, अङ्ग्रेजी, अर्थशास्त्र थियो ।
३७) कतिसम्म पढ्नुभयो ?
आईए पास गरेँ पट्ना विश्वविद्यायलबाट ।
३८) जोतिषविद्या पनि सिक्नुभयो ?
एसएलसी दिएपछि मेरो पिताजीले मलाई ज्योतिषविद्या सिक्न लैजानुभयो । ‘मूर्त चिन्तामणि’ किनेर ल्याइदिनुभयो । कृष्णराज जोशी
(मङ्गलराजको बुवा) को घरमा लैजानुभयो ।
३९) पहिलो जागिर कहिले खानुभयो ?
२००१ सालमा ।
४०) कुन पदमा ?
खरिदारमा ।
४१) तलब कति थियो ?
सत्तरी रुपियाँ ।
४२) कुन अफिस ?
भीमबहादुर पाँडेले १९९५ सालमा कलकत्ताबाट एमकम पास गरेर आएपछि प्रोफेसरको दर्जा पाए तर विद्यार्थी र सीट पाएनन् । उनका साथी विजयशमशेर उद्योग परिषद्को डाइरेक्टर थिए । उनले ‘मैअन्तर्गत बसेर काम गर’ भनेपछि पूर्व १ नम्बरको सर्वे गर्न पठाए । काभ्रेको तिमालतिरको सुन्तला खेती, कपास खेती, खाँडीलगायत त्यहाँ उत्पादन हुने वस्तुको प्रतिवेदन बनाएर बुझाए । त्यो प्रतिवेदन श्री ३ मा जोहर भएछ । प्रतिवेदन मन पराएपछि यस्तै काम गर्ने अड्डा बनाऊ भन्ने हुकुम भएछ । त्यसपछि ‘औद्योगिक, व्यापारिक समाचार सङ्ग्रह अड्डा’ खडा भयो । त्यसमा पाँचजना अफिसर काम गर्ने खोजी भयो । त्यसमा एकजना म गएँ । पढाइ छाडेर जागिर खाइयो ।
४३) अनि कहाँ जानुभयो ?
क्षेत्र विभाजन गरियो । म तनहुँ र लमजुङमा गएर काम गरेँ, २००१ सालमा ।
४४) त्यतै बस्दा लोकसाहित्यतिर पनि रुचि बढेको हो ?
अँ, त्यो बेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । गल्लाहरू आउँथे । मगर र गुरुङ गाउँमा त युवा नै थिएनन् । त्यो बेला गाउँमा गीत सुनेँ,
गाई त पाल्यो रेलिमाई वनको बाघलाई
छोरो पाल्यो रेलिमाई जर्मनको धावालाई ।
त्यसपछि लोकगीतमा अनेक भावना हुँदोरहेछ भन्ने मैले बुझेँ । मायापिरतीमात्र होइन, सुख–दुःख र जीवन पो हुँदोरहेछ भन्ने लाग्यो र रुचि जाग्यो । चराचुरुङ्गीका गीत सुनेँ, के लायो होला के खायो होला वनको जुरेली चरीले । त्यही जुरेली चरी मेरो ‘द फिलोसोफी अफ सेटिसफ्याक्सन’ हो ।
४५) अहिले कतिवटा संस्थामा आबद्ध हुनुहुन्छ ?
नेपाल भाषा एकादमी आफैँले बनाएँ, त्यत्रो काम गरेँ । नेपाल आर्ट काउन्सिलमा सुरुदेखि नै फाउन्डर मेम्बर थिएँ । अहिले अध्यक्ष छु । नेपाल म्युजिक सेन्टरमा पनि सुरुदेखि नै छु । त्यसको ट्रस्टको ‘चेयरम्यान’ छु । थुप्रै ठाउँमा सल्लाहकार छु ।
४६) पुरस्कार र सम्मान कतिजति पाउनुभयो होला ?
हाँस्दै..अलि–अलि । महाउज्जल राष्ट्रदीप प्रथम श्रेणीको पुरस्कार भर्खर पाएँ ।
४७) नियमित आम्दानीचाहिँ के हो नि ?
नियमित आम्दानी छैन । खेतीपाती छैन । जग्गा–जमिन छैन ।
४८) छोराहरूले दिन्छन् कि ?
दिँदा पनि दिएको छैन, लिँदा पनि लिएको छैन ।
४९) भत्ताले त पुग्दैन होला ?
पुग्छ–पुग्छ । नियमित स्रोत छैन । सबैभन्दा ठूलो सन्तोष हो नि ।
५०) घरभाडा ?
छैन–छैन । कहाँ घरभाडा ?
५१) अहिले केही रोग पनि छ कि ?
अहिले केही छैन ।
५२) डाक्टरकोमा जानै पर्दैन ?
अहिलेसम्म गएको छैन, ऊबेला फोक्सोको पानी झिकेपछि ।
५३) खाँदै नखाने चीज के–के छन् ?
त्यस्तो केही छैन ।
५४) अहिले पनि ऐला पिउनुहुन्छ ?
बेलुका सुत्ने बेलामा लिन्छु । नियमित रूपले नै लिन्छु तर धेरै हैन एक पेग ।
५५) घरमै बनाएको कि ?
पाएमा रेड लेबल, नभए घरमै बनाएको ।
५६) सय वर्ष पुग्दा पनि यति स्वस्थ हुनुका कारण
के होला ?
आमाको दूधचाहिँ चुसेँ अलि बढी नै । त्यही हो कि ।
५७) आमाको दूध पिउनु दीर्घजीवनको कारण हो ?
अँ त्यो पनि हो ।
५८) रातिको ऐला पनि हो कि ?
त्यो त होइन । त्यो त निद्राका लागि हो ।
५९) कति बेला सुत्नुहुन्छ ?
साढे १० तिर पल्टियो भने निद्रा लाग्छ । दुई÷तीनचोटि पिसाब फेर्न उठ्नुपर्छ ।
६०) सपना देख्नुहुन्छ कि ?
सपना त देख्छु । प्रशस्तै देख्छु तर बिर्सन्छु ।
६१) सधैँ नेपाली पोसाकमा देखिनुहुन्छ नि ?
मैले लबेदा सुरुवाल टोपी लगाएर थुप्रै देश घुमेँ । यो हाम्रो पहिचान हो नि ।
६२) टाइसुट लगाउन मन लागेन ?
खै, एकताका लगाइयो होला । के–के मात्र गरिएन
होला र ।
६३) टोपी पनि विशेष नै हुन्छ, अलि मैलोमैलोजस्तो । एकनासको ?
मेरी आमाको मृत्युपछि एक वर्ष टोपी खैरोखैरो लगाएँ, त्यसलाई निरन्तरता दिएँ । पहिला भादगाउँले टोपी लगाउँथेँ । जुत्ता पनि छालाकै लगाउँथे । आमाको सम्झनाका लागि हो ।
६४) एक दिनमा कतिजति मान्छे आउँछन् भेट्नलाई ?
आउँछन् । आज पनि थुप्रै आएर बसिरहेका छन् ।
६५) खास केका लागि आउँछन् ?
अध्ययन, अनुसन्धानका लागि र संस्कृति बुझ्न पनि आउँछन् । सबै कुरा बुझ्ने त म होइन । मैले जानेको भन्छु नभए ‘रिफर’ गर्छु ।
६६) कतिवटा किताब प्रकाशनमा आएका छन् ?
नेपाली र नेपाल भाषामा लेख्छु ५६÷५७ वटा भए होलान् ।
६७) घरको पुस्तकालयमा कति पुस्तक छन् ?
के पुस्तकालय भन्नु, यसो सानो छ ।
६८) पहिलो पुस्तक कुन हो ?
नेपाली र नेपाल भाषामा वर्णमाला ।
६९) डर लाग्छ ?
हिजोआज छोड्यो ।
७०) मर्छु कि भन्ने डर लाग्छ ?
डर लाग्दैन । मृत्युसँगै बोकेर हिँडिरहेका छौँ किन डराउनु ?
७१) डबलीमा अभियन गर्ने पहिलो अभिनेता भन्छन् नि तपार्इं ?
पहिलो त होइन तर नेवारीमा हेमराज जोशीले लेखेको खड्गसिद्धि भन्ने नाटकमा जयप्रकाश मल्लको भूमिका मैले गरेको हुँ ।
७२) कति सालतिर ?
त्यो २००९ सालतिरको होला ।
७३) कतिवटा नाटक खेल्नुभयो ?
त्यही एउटा हो ।
७४) वाङ्मय शताब्दी पुरुषको सम्मान । महाविद्यावारिधि । धेरै पाउनुभयो त ?
मैले मागेको होइन । त्यो शताब्दी पुरुष त नई प्रकाशनले पाँच वर्ष ‘ग्रेस’ दिएर पाएको । त्यसले गर्दा पाँच वर्ष त मेरो ऊर्जा थपियो ।

७५) जीवन सार्थक भएकोजस्तो लाग्छ ?
सार्थक नै भयो भन्नुप¥यो । बिग्रेको त केही होइन । नेगेटिभ एप्रोच छैन । कुनै समय गोरखा दक्षिणबाहु पाँचौँ भए पनि दिलाइदिनुस् न भनेर सम्बन्धित निकायमा गएर हातै जोडेँ । आश्वासनमात्र पाएँ ।
७६) अहिलेचाहिँ ठुल्ठूला पुरस्कार आइरहेका छन् त ?
खै, मागेको होइन ।
७७) पाँचौँचाहिँ मागेकै ?
लौ, माग्न गएको त । बिन्तिभाउ गरेको । त्यतिमात्र होइन, एकेडेमीबाट निस्केपछि केटाकेटी, जहान–परिवार घर थाम्न मुस्किल भयो । यसपालिको सानो पुरस्कार भए पनि मलाई दिलाइदिनुस् भनेर प्रज्ञामा बिन्तिभाउ पनि गरँे तर भएन ।
७८) तपाईं आफैँ गएको माग्न ?
गएँ नि, के गर्ने । परिस्थितिले ग¥यो । उनको हातमा थियो, गरे हुने थियो । त्यति पनि पाइएन । उनको कति काम गर्दिएको थिएँ मैले । हिमचिम थियो । महेन्द्र प्रज्ञा–पुरस्कार त्यो बेला २५ हजार रुपियाँको थियो । त्यति भए मेरो छ महिनाका लागि काम चल्थ्यो ।
७९) अहिलेचाहिँ भाग्यमानी हुँ जस्तो लाग्छ ?
त्यस्तो पनि भएन । परिस्थितिले जे गर्छ–गर्छ ।
८०) भाग्यमानी हुँ भन्ने लाग्दैन ?
लाग्दैन, लाग्दैन ।
८१) लाग्दैन अझै पनि ?
उहुँ ।
८२) तपाईंको पहिलो रचना विसं १९९८ मा गोरखापत्रमा कविता छापिएको रहेछ, हैन ?
हो–हो ।
८३) त्यसपछि कति समय लेख्नुभयो गोरखापत्रमा ?
हैन, कहिलेकाहीँ लेखिरहन्छु । ९७ सालतिर गोरखापत्रमा मेरो एउटा रिपोर्टिङ पनि छापिएको थियो ।
८४) आफ्नो एउटा किताब सम्झनुपर्दा कुनको नाम लिनुहुन्छ ?
किताबमात्र होइन, मैले सबैभन्दा राम्रो काम गरेको भनेको सिञ्जा उपत्यकाको अध्ययन र खोज हो । पाँचजनाको नेतृत्व गरेर २०२७ सालमा म त्यहाँ पुगेको हुँ ।
८५) कोही प्रतिस्पर्धी भएजस्तो लाग्छ ?
कोही छैन । एक÷दुईजना अपवाद हुन्छन् । अब किन नाम लिइराख्ने ।
८६) पश्चाताप गर्नुपरेको छ ?
परेन । सानोतिनो होला तर त्यस्तो उल्लेख गर्नुपर्ने खालको छैन ।
८७) तपार्इंको कमजोरीचाहिँ के हो त ?
कमजोरी त लठेब्रोखालको मान्छे म । अब के गर्ने जिब्रो नै यस्तै छ ।
८८) न्युजिल्यान्ड कसरी पुग्नुभयो ?
म जनसङ्ख्या विभागमा काम गर्दै थिएँ । युएनटीएको फेलोसिप आयो । पाँचजनाको समूह थियो । म कान्छो नै थिएँ । अरू कसैले नमानेकाले म गएको थिएँ ।
८९) कति बस्नुभयो न्युजिल्यान्डमा ?
चार÷पाँच वर्ष ।
९०) कति देश घुम्नुभएको छ ?
मुख्य त न्युजिल्यान्ड हो । श्रीलङ्का बसेँ धेरै । चाइना त लामै बसेँ ।
९१) नेपालका कति जिल्ला घुम्नुभएको छ ?
लोकसंस्कृति, भाषाको खोज गर्ने क्रममा हो । धेरै त छैन ।
९२) लोकसाहित्य के हो ?
लोकपद्धतिमा नैसर्गिक रूपमा सुख–दुःखका भावनाहरू मनभित्र गुम्सिएको हुन्छ । त्यसलाई उद्गारका रूपमा नैसर्गिक रूपमा प्रकट गर्ने माध्यम हो ।
९३) संस्कृति के हो ?
सभ्यतामा संस्कृति जोडिन्छ । सभ्यता जीवनलाई नभई नहुने हुन्छ । मानसिक सन्तुष्टिका लागि हाम्रो जात्रा, संस्कृति जोडिएर आउँछ । संस्कृति भएन भने त जीवन सुख्खा हुन्छ । संस्कृति भयो भने जीवनचाहिँ सत्यम्, शिवम्, सुन्दरम्मा परिणत हुन्छ ।
९४) भाषा नि ?
भाषा त नैसर्गिक रूपमा आउँछ । विचार, भाव अभिव्यक्तिको माध्यम हो ।
९५) जीवन के हो ?
जिउन जाने जीवन, नजाने दुःख हो ।
९६) कति भाषा जान्नुहुन्छ ?
नेपाली र मातृभाषा त्यही त हो ।
९७) अङ्ग्रेजी, हिन्दी, संस्कृत, चाइनिज नि ?
त्यो त कामचलाउ हो ।
९८) देशलाई कसरी बुझ्नुपर्र्छ ?
आफूले आफैँलाई बुझेपछि देश बुझिन्छ । नेपाली भएर पहिला आफैँलाई बुझ्नुपर्र्छ ।
९९) गर्न मन लागेको तर नभ्याएको कुनै काम छ ?
छैन । सकेको जति गरिहालेँ । अरू अक्रमबक्रम कामहरू अहिले पनि गर्दै छु । यति गर्न पाए पुग्छ । नयाँ काम गर्न भ्याउँदा पनि भ्याइँदैन ।
१००) ९५ वर्ष पुग्दै शताब्दी पुरुष हुनुभयोे, पाँच वर्ष ग्रेस दिएर । अब कति वर्ष ग्रेस लिन चाहनुहुन्छ ?
अब चाहिँदैन । जब सय यमराजको भय ।
अब केही छैन ।

प्रस्तुति : श्रीओम/जुनार/दीपक

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds