एउटा मात्र विज्ञको सुझाव अपूरो हुन्छ

tara Bhattraiवैशाख १२ गतेको प्रलयकारी भूकम्प र त्यसपछि वैशाख १३ र २९ गतेका थप शक्तिशाली भूकम्पका कारण नेपालमा हजारौं मानिसले ज्यान गुमाउनुप¥यो भने दशौं हजार घाइते भए, यस्तै लाखौं घर परिवार विस्थापित बने । मुलुकले अर्बाैं रुपियाँको आर्थिक क्षति व्यहोर्नुप¥यो । भूकम्पबाट भएको अकल्पनीय क्षतिलाई सम्बद्ध क्षेत्रका विज्ञले भूकम्पीय जोखिमलाई कम गर्ने पूर्व तयारी नहुनुको परिणाम हो भनेका छन् । वरिष्ठ भूगर्भविद् एवं सहप्राध्यापक डा. तारानिधि भट्टराई भूकम्पको बारेमा कसैले पनि पूर्वानुमान गर्न नसक्ने भएकाले एकीकृत रूपमा अघि बढ्नुपर्ने, माटोको प्रकृतिदेखि भूकम्पको प्रवृत्ति अध्ययन गर्नुपर्ने सुझाव दिनुहुन्छ । प्राकृतिक विपत्ति आइलागेमा कसरी क्षति कम गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुत छ डा. भट्टराईसँग गोरखापत्रका लागि सीताराम अग्रहरि र शम्भु प्रसाईंले गर्नुभएको लामो कुराकानीको सार ः

 

 नेपालमा आएको भूकम्पले मुलुकमा जुन किसिमको जनधनको क्षति पु¥यायो यो अप्रत्याशित र अकल्पनीय थियो भन्छन्, के लाग्छ 

तपाईंलाई ?
अकल्पनीय होइन, सन् २००१ मा भारतको भूज (गुजरात) भन्ने ठाउँमा धेरै शक्तिशाली भूकम्प गयो । त्यसले त्यतिबेला त्यहाँ जुन जनधनको क्षति पु¥याएको थियो त्यसलाई आधार मानेर नेपाल सरकारको गृह मन्त्रालयले सन् २००२ मा जाइकासँग सहयोग मागेर काठमाडांै उपत्यकाभित्र त्यस्तै शक्तिशाली भूकम्प आउने हो भने धनजनको क्षति कति हुन्छ त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भन्ने बारेमा विस्तृत रूपले राम्रो अध्ययन गरेको छ । गृह मन्त्रालयले नै गरेको उक्त अध्ययनमा त्यस्तो शक्तिशाली भूकम्प आयो भने कति मान्छे मर्छन्, कति घाइते हुन्छन् र कति घर भत्कन्छन्, त्यसलाई न्यूनीकरण गर्न के गर्नुपर्छ भनेर अध्ययन गरेको छ । त्यतिबेला गरिएको अध्ययनलाई त्यसपछि राष्ट्रिय योजना आयोगले योजना बनाउँदा भूकम्पीय क्षतिलाई कम गर्ने गरी योजना बनाउनुपथ्र्यो । अर्थात् त्यो अध्ययन प्रतिवेदनको रिफ्लेक्सन योजना आयोगले तयार गर्ने योजनामा समेट्नुपथ्र्यो । हामी यति धेरै खतरामा छौं, हामीले घर बनाउँदा जोखिमरहित घर बनाउनुपर्छ भनेर घर निर्माण होस् वा शहर विकासमा होस् विशेष ध्यान दिनुपथ्र्यो । जाइकाको सहयोगमा सरकारले प्रतिवेदन त बनायो तर त्यो कहीं कतै प्रतिविम्बित हुन सकेन । दस्तावेज बुझाइयो सकियो, त्यसैले यसलाई अकल्पनीय र अप्रत्याशित भन्न मिल्दैन । उक्त प्रतिवेदन अनुसार सतर्कता अपनाएको भए सायद मुलुकले यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन ।

त्यसो भए पूर्व तयारीकै अभावमा यति ठूलो जनधनको क्षति भएको हो त ?
निश्चय नै भूकम्प आउँदा कसरी बाँच्ने, यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा कत्ति पनि पूर्व तयारी भएको पाइएन । सरकारले भूकम्पबाट कसरी बच्ने तथा सावधानी कसरी अपनाउने भन्ने विषयमा जे ग¥यो त्यो कागजमा मात्र सीमित भयो व्यवहारमा जनतालाई सिकाउने गरी भएन त्यसैको परिणाम अहिले नेपाली जनताले भोग्नुप¥यो । पूर्व तयारीको बारेमा सरकारले जनचेतना जगाउन सकेको भए यति धेरै क्षति अवश्य हुने थिएन ।

भूकम्प आएका बेला के गरेको भए यति धेरै मानवीय क्षति हुने थिएन ?
भूकम्पले सबैभन्दा पहिला, कोठाको प्लास्टर उक्काउँछ, त्यसपछि शक्ति बढ्दै जाँदा झ्यालका सिसा फुट्छन्, क्रमशः झ्यालका फ्रेम उक्किन्छन् अनि अझ शक्ति बढेर घरले थेग्न नसक्ने भएपछि मात्र ढोका लड्ने हो । त्यसकारण भूकम्प आउँदा आत्तिएर भाग्नुको सट्टा आफू रहेको स्थानको अवस्था हेरेर, टेबुल, ढोकामुनि बस्ने र घरबाहिरको अवस्था बुझेर बाहिर निस्केको भए सायद यति धेरैले ज्यान गुमाउनुपर्ने थिएन । यहाँ धेरै जनाले भागदौडमा ज्यान गुमाएको पाइयो । ढोकामा उभिनु भनेको प्रलयको पराकाष्ठा भयो भने मात्र अन्तिम घडीमा ढोकामा उभिने मानिस पर्ने हो । भूकम्प आएको बेला घर बाहिर तत्कालै भागेर जाने जोखिमरहित ठाउँ छ र भूकम्प आउँदा आउँदै त्यस्तो ठाउँमा पुग्न सकिन्छ भने जाँदा हुन्छ तर घरको अवस्था, समय र खाली ठाउँ नबुझी दौडने हुँदा पनि धेरैको ज्यान गएको पाइयो ।
शहरीकरण गर्दा हामीले २०–३० घरको बीचमा खुला चोक भइदिएको र सडक फराक भएको भए यति ठूलो क्षति हुँदैनथ्यो ।

 त्यसो भए जनचेतनाको अभाव र गलत ढंगले विकास गरिएको शहरीकरणका कारण क्षति धेरै भएको हो त ?
निश्चय नै हरेक टोलमा खुला क्षेत्र भइदिएको भए, नगरभित्रका सबै बाटो फराकिला भएको भए र भूकम्पीय जोखिमबाट बच्ने उपायका बारेमा बेलैमा नागरिकलाई सचेत बनाउन सकिएको भए यति ठूलो क्षति हुने थिएन ।

कस्तो संरचना निर्माण गरे भूकम्पीय जोखिमबाट बच्न सकिन्छ ?
भूकम्पीय जोखिमबाट बच्नका लागि तयार गरिने संरचना (घर) निर्माण गर्दा एउटा विधाका विज्ञको मात्र सल्लाह र सुझावबाट गरिए त्यो अपूरो हुन्छ र फेरि त्यही नियति दोहोरिन सक्छ । त्यसकारण जोखिमरहित संरचना तयार गर्दा घरको जगलाई अध्ययन गर्ने जिओटेक्निकल इन्जिनियर, जिओलोजिस्ट, (भूगर्भविद्) सिस्मोलोजिस्ट
(भूकम्पविद्) र स्ट्रक्चरल इन्जिनियर
(संरचनाको नक्सा पास गर्ने इन्जिनियर) को संयुक्त सिफारिशका आधारमा संरचना तयार गरेको अवस्थामा त्यस्तो संरचनामा भूकम्पीय जोखिम हुँदैन र ढुक्कले बस्न सकिन्छ । यस बाहेक अब संरचना बनाउँदा नगरपालिकाले घरको नक्सापास गर्नु अनिवार्य छ त्यसैगरी प्रमाणपुर्जा घरधनीलाई दिनुपूर्व नगरपालिकाका अधिकारीले घर बनाउने परिवारको सदस्यलाई भूकम्प आउँदा अपनाउनुपर्ने सतर्कता सिकाउनैपर्छ । त्यसपछि मात्र प्रमाणपत्र दिने व्यवस्था अनिवार्य रूपले गरे भूकम्पबाट आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न सकिन्छ ।

 नेपाल अब पुनर्निर्माणको चरणमा छ अब शहरी विकास एवं ग्रामीण विकासमा राज्यले के कुरालाई बढी ध्यान दिनु जरुरी ठान्नुहुन्छ ?
पुनर्निर्माण गर्दा अब सरकाले खुला क्षेत्र, चौडा सडक, पानीको स्रोत जस्ता कुरामा अत्यन्तै ध्यान दिनु जरुरी हुन्छ । सरकाले गाइड लाइन नआएसम्म कसैले पनि तत्कालै घर बनाइहाल्नु हुन्न । घर कस्तो, कति तलाको बनाउने भन्ने पनि निश्चित मापदण्ड तयार गरिनुपर्छ र माथि भनेझंै चारै विधाका विज्ञको परामर्शमा घर बनाउँदा सबै घरको आकार उस्तै हुने गरी गरिएमा त्यस्तो शहर राम्रो पनि देखिन्छ । साथै प्रत्येक २० देखि ३० घरको बीचमा एउटा सय डेढसय मानिस अट्ने खुला चौक हुनुपर्छ । संसारमा जहाँ पनि सिटी प्लानरहरूले निश्चित घरको अन्तरमा खुला क्षेत्र बनाउनैपर्ने गरी प्लान गरेको हामीले देखेका छौं । त्यसैले खुला क्षेत्र राख्नैपर्ने अनिवार्य गाइडलाइन सरकाले बनाउनुपर्छ ।

कस्ता संरचनामा ठूलो क्षति भयो यहाँहरूको अध्ययनले के देखाएको छ ? 

हामीले एउटा पाटोबाट मात्र अध्ययन ग¥यांै भने त्यो अध्ययन अपूरो हुन्छ । त्यसैले गफभन्दा पनि तथ्यमा आधारित भएर बोल्न पाए राम्रो हुन्छ तर खड्किएको विषय के हो भने हालसम्म सरकारले कति संरचना के कारणले क्षतिग्रस्त भए भन्ने कुराको अनुसन्धान गर्न सकेको छैन । यस्तो अवस्थामा हामीलाई सरकारले अनुसन्धानको जिम्मा दिनुप¥यो । त्यसपछि मात्र कति घर जगको कारणले, कति जमिनमुनिको माटोको परीक्षण नगेका कारणले, कति इन्जिनियरलाई नक्सा पास नगराई बनाएका कारणले, नक्सापास गरे पनि कति घर लडे र कति घर बनाउने नागरिकको लापरवाहीका कारणले क्षति भएको भन्ने स्पष्ट हुन्छ । अहिले यो टड्कारो समस्याका रूपमा देखिएको छ । सरकारले चाँडोभन्दा चाँडो यो गर्नैपर्ने काम हो ।

घर निर्माण गर्नुपूर्व माटो परीक्षण अनिवार्य गरिनुपर्छ भन्ने भनाइ पनि आएको छ आर्थिक दृष्टिले यो कत्तिको सम्भव छ ?
सम्भव छ । यो काठमाडौं उपत्यकामा पाँचसय मिटर बाक्लो माटो छ र त्यसपछि मात्र चट्टान छ । यो पाँचसय मिटर गहिराइमा पाँच किसिमका माटोका तल छन् त्यसमा पाँगो माटोको तह, बालुवाको तह, कालो माटो, पानी र गिट्टीको तह छ तर सबैतिर एकैखाले हुँदैन । त्यसैले संरचना बनाउनुपूर्व माटोको परीक्षण गरेर माटो अनुसार स्ट्रक्चरल इन्जिनियरको परामर्शमा संरचना निर्माण गरिनु जरुरी छ । यसमा आर्थिक दायित्व पनि घर बनाउने हैसियतको मान्छेलाई खासै फरक पर्दैन ।
यसका लागि सरकाले स्वायल टेस्ट ल्याब्रेटोरी खडा गर्नुपर्छ र जसका लागि सरकारले इक्युप्मेन्ट ल्याउन भन्सार छुट दिनुपर्छ । घर बनाउनुपूर्व माटो परीक्षण अनिवार्य रूपमा गर्नैपर्ने मापदण्ड सरकारले बनाउनुपर्छ ।

कस्तो माटोमा घर बनाउँदा उत्तम हुन्छ ?
यो माटो उत्तम र यो बेठीक भन्ने नै हुँदैन । माटोको प्रकृति अनुसारको संरचना बनाउने हो । त्यसैले माटोको अवस्थाको आधारमा स्टक्चरल इन्जिनियरको परामर्शमा बनाएमा जुनै माटोमा पनि घर बनाउन सकिन्छ । तर घर बनाउँदा माथिल्लो तलामा हलुका सामग्री प्रयोग गर्नुपर्छ जसले जोखिम कम हुन्छ । जापान, अमेरिका लगायतका देशमा जति ठूला घर बनाइए पनि हलुका सामग्रीको प्रयोग गरिएकाले भूकम्पले क्षति गर्दैन ।

 भूकम्पको विनाशसँगै अब एकतलेभन्दा ठूला घर बनाउनुहुन्न भन्ने कुरा पनि आएको छ नि ?
हैन आफ्नो आवश्यकता अनुसार स्ट्रक्चरल इन्जिनियरको परामर्शमा दुई अढाई वा तीनतले वा त्योभन्दा ठूला घर पनि बनाउन सकिन्छ तर घर भाडामा लगाएर गुजारा चलाउँछु भनेर कच्चा सामग्री प्रयोग गरेर घर निर्माण गर्नुचाहिं मूर्खता हुन्छ ।
माटो परीक्षणदेखि सबै प्रक्रिया पूरा गरेर माथिल्लो तलामा स्ट्रक्चरल इन्जिनियरको परामर्शमा हलुका सामग्री राखेर घर निर्माण गर्दा ठूला घरले खासै फरक पर्दैन ।
बरु बहालमा बस्नुपर्ने कर्मचारी, व्यापारी लगायतका लागि सरकाले सबै दृष्टिकोणले सुरक्षित ठूला अपार्टमेन्ट बनाएर भाडामा लगाउने व्यवस्था गर्नु जरुरी छ ।
साथै केन्द्रीकृत सुविधालाई विकेन्द्रीकरण गर्नुपर्छ सबै सुविधा काठमाडांैमा होइन, शिक्षाक्षेत्र, मेडिकल क्षेत्र, औद्योगिक क्षेत्र छुट्याएर सुविधाको विकेन्द्रीकरण गरियो भने राजधानीमा मानिसको चाप पनि कम हुन्छ र यस्ता प्राकृतिक विपत्तिका बेला सम्भावित ठूलो क्षतिबाट बच्न सकिन्छ ।

अब शक्तिशाली भूकम्प आउने सम्भावना कति छ ? ज्योतिषीको हल्लाले धेरै त्रसित छन् ।
पाकिस्तान, इन्डोनेसिया, चिलीलगायतका देशको भूकम्पीय इतिहास हेर्ने हो भने शक्तिशाली भूकम्प गएपछि लामो समयसम्म पराकम्पन गएको देखिन्छ । भोलि के हुन्छ कसैले भन्न त सक्दैन तर शक्तिशाली भूकम्प आएपछि लामो समयसम्म पराकम्पन आउने गरेको पाइएकाले आउन सक्छ भन्नु स्वाभाविक हो तर ठूलै आउँछ भनेर ठोकुवा गर्नु चाहिं हावादारी कुरा हो । हाम्रो जस्तो देशमा राज्यले भूकम्पसम्बन्धी सूचना प्रसारण गर्दा सरकारले तोकिदिएको व्यक्ति वा संस्थाबाट दिएको सूचना मात्र दिने एकद्वार प्रणाली अपनाएको भए शायद मानिसले यसरी त्रसित र आतंकित हुनुपर्ने थिएन ।
यहाँ जसलाई जे मन लाग्यो त्यही बोलेका कारणले मानिस आतंकित भएका हुन् ।

 भूकम्पपछि राहत तथा उद्धारको व्यवस्थापनमा सरकारी संयन्त्रले गरेको कामलाई एक विज्ञको नजरले कसरी नियाल्नुभएको छ ?
भूकम्पबाट जोखिम हुन्छ नै तर विदेशमा आएका प्रलयकारी भूकम्पपछि त्यहाँको सरकारले कसरी व्यवस्थापन गरेको थियो भनेर ती देशका विज्ञलाई झिकाएर व्यवस्थापनको तरिका सिक्नुपथ्र्याे । त्यस काममा सरकार चुकेको पाएको छु । अझै पनि यो असम्भव छैन सरकारले चाहेको अवस्थामा दुई चार– देशका विज्ञलाई बोलाएर परामर्श लिने र सोही अनुरूप व्यस्थापन गर्ने हो भने अझै पनि नेपालले धेरै कुरा सिक्ने मौका पाउनेछ ।

गोरखाको बारपाक केन्द्रबिन्दु वनाएर आएका पराकम्पन किन पूर्वतिर मात्र केन्द्रित छन् ?
यो नितान्त अनुसन्धानको विषय हो ? साँच्चि नै पराकम्पन जाँदा सबैतिर फैलिएर जानुपथ्र्यो । यसो हुनुको पछाडिको कारण बारेमा पनि विदेशी विज्ञबाट अनुसन्धान हुनु जरुरी छ ।

अन्त्यमा केही भन्नु छ कि ?
भूकम्पमापन केन्द्र उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भूगर्भ विभागको मातहतमा छ । कम्तीमा विज्ञान तथा प्रविधि मन्त्रालय मातहतमा भएको भए पनि हुन्थ्यो । यसले भूकम्पमापन केन्द्रको महŒवलाई कति बेवास्ता गरिएको रहेछ भने स्पष्ट हुन्छ । वैशाख १२ गते अघि कति कम्पन आएका थिए
त्यसको अध्ययन पनि छैन । जुन कुराको अध्ययन गरिएको थियो भने नागरिकले यति धेरै आत्तिनुपर्ने थिएन । भूकम्पमापन केन्द्रले अध्ययन गरेर भनेका छन् कि नगरी भनेका हुन् यो विषयमा सरकार गम्भीर हुनु
जरुरी छ ।
यस्तै अब सरकराले हरेक नगरपालिकामा जिलोलोजिस्ट, स्ट्रक्चरल इन्जिनियर, सिस्मोलोजिस्ट, जिओटेक्निकल इन्जिनियरको दरबन्दी सिर्जना गरेर राख्नुपर्छ । जसले गर्दा अब बन्ने संरचनामा उनीहरूले ठीक छ भनेपछि मात्र बनाउने प्रावधान राखियो भने फेरि भग्नावशेषमा पुरिएर मानिसले मर्नुपर्दैन ।
साथै भूकम्पका भग्नावशेषलाई सरकाले कुनै एक ठाउँमा जग्गा खरिद गरेर थुपार्ने र त्यसको नाम नै भूकम्प पहाड राख्ने जसलाई म्युजियमको रूपमा विकास गर्न सकिन्छ । जसले पर्यटन विकासमा पनि टेवा पु¥याउँछ भने इतिहासलाई पनि जोगाउन सकिन्छ । यसैगरी प्राथमिक तहदेखि नै पाठ्यक्रममा भूकम्प शिक्षा अनिवार्य गरियो भने स्वतःस्फूर्त रूपमा भूकम्पसम्बन्धी जनचेतना जाग्छ र जोखिम कम हुन्छ ।

(डा. भट्टराईले जापानको फुकुवोकास्थित क्यूसु विश्वविद्यालयबाट भूगर्भविज्ञान विषयमा विद्यावारिधि गर्नुभएको छ । )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना