साहित्यको फेरिँदो भाषा

 महेश पौड्याल

 

महाकाव्य र दुःखान्त नाटकका सन्दर्भमा समालोचनाको वृत्तमा एउटा तर्क गरियो– अचेल भाषा नै खण्डित भएको छ र कुराकानी टुक्राहरूमा गरिन्छ । यस्तो बेला महाकाव्य र दुःखान्त नाटक लेख्नु असम्भव छ । समालोचक जोन स्टेइनरले ठोकुवा गरे– दुःखान्त नाटकको त मृत्यु नै भइसक्यो । नाटक त लेखियो तर शास्त्रीय पद्यको भाषा छोडेर आममान्छेको भाषामा । धेरैलाई लागेको थियो, अब महाकाव्य लेखिँदैन । लेखियो, तर नयाँ मान्छेको भाषामा ।
कुनै पनि भाषाको ‘थोक’ स्वरूप अब पुराना ग्रन्थहरूमा होला, प्रयोगमा छैन । आज भाषाका प्रयोगकर्ता भूमण्डलीकृति समयका नागरिक हुन् । परिवर्तित सन्दर्भमा कुनै पनि वस्तु, ज्ञान र विचारले एउटा भूगोलबाट अर्को भूगोलमा सर्ने सबैभन्दा छिटो र तरल माध्यम भनेकै भाषा हो । संसारभरि ‘साझा’ भाषाका रूपमा विकसित हुँदै गरेको एउटा बजारू भाषाको प्रभाव सर्वत्र छ । उदाहरणका लागि, सूचना क्रान्तिले विश्वसँग जोडिएको आजको नेपालको नागरिक कम्प्युटर र इन्टरनेटसँग सम्बन्धित अङ्ग्रेजी शब्दहरूको प्रयोग नगरी दिनचर्या चलाउनै सक्दैन । आज हाम्रा स्कुल तथा कलेजबाट दीक्षित विद्यार्थीको भाषा धेरै आगन्तुक, विषेशगरी प्रविधि र विज्ञानको संसारका शब्दहरूले भरिएको छ । यहाँसम्म कि रेडियोहरूमा वाचन गरिने संस्कृत भाषाको समाचारमा पनि भाषाको साँध मिचेर अचेल चलनचल्तीमा आएका वैश्विक शब्दावली यथेष्ट मात्रामा सुन्न पाइन्छ ।
भाषामा आएको यो ठिम्मरीकरण तथा यससँगै साहित्यको भाषामा विकसित भएर आएको तरलता उत्तरआधुनिकताको एउटा लक्षण हो । यसले भाषाको भूगोललाई मात्रै परिवर्तन गरेको छैन, साहित्यका केही शास्त्रीय र रूढ विधाहरूलाई समेत सङ्कटमा पारेको छ । उदाहरणका रूपमा फेरि पनि महाकाव्य र दुःखान्त नाटक । bhasa
महाकाव्य र दुःखान्त नाटकमा देखिएको भनेको सङ्कट उत्तरआधुनिक समयमा झन् गहिरिएको सत्य हो । उत्तरआधुनिकताका हिमायतीले भनिदिए– महाग्रन्थहरूको युग गयो । तर, महाग्रन्थहरू लेखिए । महाकाव्य पनि लेखिए, महाआख्यानहरू पनि लेखिए । स–साना काव्यहरूको उदयका कारण मूलधारको ग्रन्थको र विषयवस्तुको अवशान भयो भन्ने उनीहरूको प्रक्षेपण गलत सिद्ध भयो । पश्चिममा पनि मूलधारको अङ्ग्रेजी अथवा गोरा बेलायती वा अमेरिकीहरूकै दबदबा जारी छ । नेपालमा पनि मूलधारको नेपाली भाषाकै दबदबा जारी छ । उता पनि र यता पनि महाआख्यान लेखिँदैछन्, महाकाव्य लेखिँदैछन् । नेपालमा ‘योगमाया’ भर्खरै लेखिएको उपन्यास हो । नेपालमै ‘धरा’ भर्खरै जन्मिएको महाकाव्य हो । फरक यत्ति हो, नीलम कार्कीले योगमायामा उहिलै मदनमणिले ‘माधवी’ मा प्रयोग गरिएको भाषाको प्रयोग गरिनन् । कुरा यत्ति हो– नवराज लम्सालले देवकोटाले ‘सुलोचना’ मा प्रयोग गरेको भाषा प्रयोग गरेनन् । उनीहरूले आख्यान र महाकाव्यलाई आजका पाठकको भाषामा उतारे । उसो त आजकै समयमा लेखिएको दुःखान्त नाटककै हकमा पनि आजका मान्छेको भाषामा लेखिएको नाटक ‘कर्णाली दक्षिण बग्दो छ’ ले धेरैका आँखामा कर्णाली बगाएको हामीले देखेकै त हो ।
उत्तराधुनिकतावादीहरूको एउटा शङ्का भने सत्य निस्क्यो । मूलधारकै भनिएका र आज पनि आफ्नो दबदबा जारी राख्न सफल साहित्यको भाषामा एउटा विशेष परिवर्तन आएको भने सत्य हो । मदनमणि दीक्षितको ‘माधवी’ को विषय र अमर न्यौपानेको ‘सोतो धरती’ को विषय सर्वकालिक हुन् र नारी वेदनासँग जोडिएका विषय हुन् । एउटा शास्त्रको पुनर्पठनमा उभिएको छ भने अर्को परम्पराको विपठनमा उभिएको छ । तर, एउटाको भाषामा शास्त्रीयताको बाहुल्य छ भने अर्कोको भाषामा लोकभाष्य, स्थानीय लवज र आममान्छेको वाङ्मयको प्रतिध्वनि छ । ‘सोतो धरती’ र त्यसपछिको समयमा आएका धेरै–धेरै नेपाली आख्यानमा यो स्थानीय बोलीको प्रभाव मज्जाले देख्न सकिन्छ । फलस्वरूप ‘सेतो धरती’ सामान्य पाठकका हातहातमा पनि बस्न सफल भयो तर ‘माधवी’ एउटा शास्त्रीयताको सोकेसभित्र सीमित छ । अथवा पाठ्यक्रममा वा अनुसन्धानमा अनिवार्य नबनाइँदासम्म हत्तपत्त आजको पाठकले उठाउँदैन । कारण फेरि पनि त्यसमा प्रयोग गरिएको भाषाको क्लिष्टता नै हो । त्यसको शास्त्रीयता नै हो ।
सँगै छापिएका दुई पुस्तकले दुई प्रकृतिको भाषा प्रयोग गरे भने के हुन्छ ? त्यो पनि विवेचनायोग्य कुरा हो । यतिबेला दुई आख्यानको पनि स्मरण भइरहेछ– सरस्वती प्रतीक्षाको ‘नथिया’ र हरिराज भट्टराईको ‘याङ्सिला’ को । विक्रम संवत् २०७४ मै छापिएका ‘नथिया’ र ‘याङ्सिला’ दुवैमा आदिवासीका भावना छन् । एउटा मध्यपश्चिमको भूगोलमा बुनिएको छ भने अर्को पूर्वोउत्तरको भूगोलमा । तर, ‘नथिया’ मा समाख्यानको भाषा आजको भाषा छ र संवादको भाषामा स्थानीय रङ्ग छ । फलस्वरूप, ‘नथिया’ धेरैभन्दा धेरै नेपाली पाठकले पढे । उता ‘याङ्सिला’ को भाषा निकै नै क्लिष्ट र घुमाउरो छ । आलङ्कारिक छ, संस्कृतिप्रधान छ र वक्र छ । फलतः नेपाली पाठकका रोजाइमा ‘याङ्सिला’ को उपस्थिति सामान्य मात्रै रह्यो । यसको चर्चा हुने र यसमाथि समीक्षा हुने काम पनि खासै भएको देखिएन ।
यस्ता समानान्तर उदाहरण धेरै–धेरै छन् । अध्ययनको एउटा विषय यो पनि हुन सक्छ, पुरानो समयका पुस्तकलाई पुरानै समयको भाषामा अचेल पुनर्मुद्रण गर्ने चलन छ, आजको पाठकलाई लक्षित गरेर । त्यहाँ पनि ती पुस्तकको आजको मितिमा ग्राह्यता प्रतिस्पर्धाबाहिर छ । तर, पुरानै भए पनि जनबोलीका किताब– मुनामदन, गौरी, घुम्ने मेचमाथि अन्धो मान्छे, बसाइँ आदि आज पनि लोकप्रिय छन् र बिक्रीको सूचीमा सधैँ माथि छन् ।
अचेल त लेखकलाई लाग्न थालेको छ, जुन भूगोललाई कार्यपीठिका बनाएर कुनै आख्यान लेखियो, त्यसै भूगोलको भाषिका संवादको मूल भाषा हुनुपर्छ । अर्थात्, आख्यानकारको अध्ययनको भाषा गौण र पाठकीय आकाङ्क्षाको भाषा बढी प्रयोगमा आउन थालेको छ अचेल साहित्यमा । स्वाभाविक पनि हो । प्राज्ञहरूको घेराबाट निस्किएर साहित्यको बजार आमजनताको हातमा पुगेको छ ।
यो एउटा विश्वव्यापी परिघटना हो । पश्चिममा ग्रिसेली, रोमनेली र प्राचीन हिब्रु भाषाको प्रभावबाट विकसित पद्यको अवशान भयो । त्यसमा सहरबजारको हल्ला पस्यो र गीत बनेर घर बसायो । टीएस इलियटको ‘वेस्ट लेन्ड’ शीर्षकको कविता, जसलाई पाश्चात्य कवितामा आधुनिकताको मानक भनिएको छ, हल्लैहल्लाको भाषामा बुनिएको छ । जहाँ वेश्याहरू आउँछन्, दुव्र्यसनीहरू जम्मा हुन्छन्, यौनकुण्ठा बोकेका कामातुर जवानहरू यौनसम्पर्क गर्दा निस्रित हुने आनन्ददायी पीडाको भाषा लिएर आउँछन् । जहाँ समलिङ्गीहरू छन्, जहाँ जुवाडेहरू छन् र जहाँ आत्तिएका सहरिया नरनारी छन् । कुकुर छन्, हड्डी छन्, कङ्काल छन् । अर्थात्, एउटा खण्डित सभ्यता छ, टुट्नुको एउटा अविराम शृङ्खला छ । त्यस काव्यको भाषा होमरको, सेक्सपियरको अथवा दाँतेको परिष्कारवादी भाषाजस्तो कहाँ छ ? इलियटले गरेको यसै विद्रोहको जगमा आमभाष्यको बाटो हिँडेको पश्चिमेली कविता, उत्तरआधुनिक अमेरिकी कवि एलेन गिन्सवर्गको समयसम्म आउँदा सभ्य अमेरिकीले लगभग अश्लील भन्ने भाषाकै जगमा छ । हामी सबैलाई थाहा छ, उत्तराधुनिक अमेरिकी कवितामा गिन्सवर्ग सबैभन्दा प्रभावशाली र लोकप्रिय कवि हुन् । भारतको मूलधारको हिन्दी कवितामा छन्दपरम्परा लगभग निमिट्यान्न भएर गयो । मैथिलीशरण गुप्त, रामधारी सिंह दिनकर तथा अयोध्यासिंह हरिऔधपछि कविताले गद्यको फेरो त समायो र आममान्छेको भाषामा अवतरित भयो । वात्स्यान अज्ञेयले यस परिवर्तनमा विशेष भूमिका खेले र उनको कविताकारितालाई हेर्ने हो भने उनी सदैव आममान्छेको मुखबाट कविताको भाषा टिप्थे । आममान्छेकै मर्मकथा लेख्थे । आधुनिक हिन्दी कविताको सबैभन्दा शक्तिशाली भँगालो प्रगतिशील कविताको हो, जसमा प्रयुक्त भाषाको स्रोत अब शास्त्र वा कुनै परिष्कृत आलङ्कारिक स्रोत होइन । कविता भारतमा पनि हल्लाकै बीचबाट बग्दैछ । किनकि जहाँ हल्ला छ, त्यहाँ आममान्छेको बसोबास छ, जागिर छ, जिन्दगी छ ।
नेपालमा कविताको भाषामा यसप्रकारको आधुनिकता गोपालप्रसाद रिमालकै समयदेखि परिलक्षित भएको हो । तर बीचमा अर्थात्, नेपाली कवितामा देखिएको आधुनिकताको चरम अवस्थामा कविहरू परिष्कारवादको मोहमा परे र क्लिष्ट हुन पुगे । मोहन कोइराला, वैरागी काइँला, ईश्वर बल्लभ, तुलसी दिवस, तोया गुरुङ, द्वारिका श्रेष्ठ, मदन रेग्मी, कृष्णभक्त श्रेष्ठजस्ता कविहरूका कविता आज पनि आमपाठकको ग्रहण क्षमताभन्दा निकै नै टाढा छ । नेपाली कविता ‘आममान्छे’ को भाषामा अवतरित हुन भूपी शेरचन र हरिभक्त कटुवालको समयको आगमनसम्म कुर्नैपरेको थियो । यस विरासतलाई पछि दिनेश अधिकारी, श्रवण मुकारुङ, मोमिला र विप्लव ढकालहरूले अघि बढाए । यिनीहरूभन्दा पछिको पुस्ता त भाषामा झन् तरल हुँदै आयो र भावमा गम्भीर, भाषामा सरल र कलामा परिष्कृत गीतजस्ता सुन्दर कविता लेख्न थाले । आज भन्नैपर्छ, नेपाली कविता तत्समभीरू, अलङ्कारप्रेमी, संस्कृत–पक्षधर उच्च प्राज्ञिकहरूको पोल्टाबाट निस्किएर साधारण पाठकको हातमा पुगेको छ । त्यसैले पनि आज प्रकाशित कवितामाथिको प्रतिक्रिया कुनै प्रज्ञाप्रतिष्ठानबाट अथवा विश्वविद्यालयबाट आउनुभन्दा अगावै सडकबाट आउँछ । फेसबुकमा देखिन्छ । कविताको विनिमय, छलफल, अन्तक्र्रिया, विस्तार र बिक्री यस्तै भाषाका ‘आम’ प्रयोगकर्ताको हातमा देखिन्छ । कारण– कविताका लागि भनेर कविहरू जुन भाषा लेखिरहेका छन्, त्यो जनजिब्रोको भाषा हो । कविताका लागि जुन स्पेसबाट भाषा टिपिरहेका छन्, त्यो आमजनताको जिन्दगीको स्पेस हो । सर्त यत्ति हो, हल्लाबाट टिपेका शब्दलाई कलामा परिणत गर्ने क्षमता कविसँग हुनु जरुरी छ । त्यसलाई गीत बनाउन सक्ने ल्याकत कवितामा हुनु जरुरी छ । त्यसभित्र विचारको एउटा झिल्को देखाउने चिन्तन कविहरूमा हुनु जरुरी छ ।
यस्तै–यस्तै यथार्थको जगमा उभिएर हुनुपर्छ भाषा–साहित्यका ज्ञाताहरूले भनेको, कि अब उच्चभाषिक परिष्कारसहित लेखिने महाकाव्य तथा दुःखान्त नाटकजस्ता विधा पाठकको अभावमा मरणासन्न हुन पुगेका छन् । तिनको भाषाले आजको समयका पाठकसँग संवाद स्थापित गर्न सकिरहेको छैन । रूढ नियमभित्र रहेर लेखिने यी विधाहरूका अगाडि पनि आजको तरलित र सरल भाषालाई आत्मसात् गर्नुको विकल्प भने छैन ।
साहित्यको बजार, प्रकाशन सन्दर्भ तथा लोकप्रियतालाई विधागत दृष्टिले केलाउने हो भने यो कुरामा आंशिक सत्यता छ । महाकाव्यहरूले कि भाषा फेरे, कि स्वरूप फेरे । शास्त्रीय कसीलाई आफैँले खुकुल्याए । दुःखान्त नाटकहरू प्रहसनको निकट आए र जीवनको नियतिभन्दा पनि विरोधाभास र विपर्यास बढी लेखिन थाल्यो, आज बाँचेकै मान्छेको भाषामा । यस विशाल परिवर्तनको एउटा सनसनीपूर्ण प्रभाव के भयो भने– चाहे पद्य होस् वा गद्य, साहित्यको भाषा क्रमशः ‘आमभाष्य’ बन्दै गयो र तरल गद्यको सन्निकट हुन पुग्यो । आदि र मध्ययुगीन साहित्यको भाषा र शैली प्राचीन साहित्यको भाषा र शैलीको सिको थियो । पूर्वमा प्राचीन धर्मग्रन्थ र संस्कृत साहित्य अनि पश्चिममा ग्रिसेली साहित्य अनुशरणका मूल स्रोत थिए । उन्नाइसौँ शताब्दीको अन्त्यतिरबाट भने बेलायती कवि वर्डस्वर्थले कवितामा ‘रस्टिक डिक्सन’ अर्थात् ग्रामीण भाषा तथा अमेरिकी नाटककार आर्थर मिल्लरले नाटकमा ‘आममान्छे’ को भाषा र दशा लेखिनुपर्छ भनेपछि भाषा र शैली दुवै विधामा फेरिए । नेपाली साहित्यमा पनि आधुनिकताको उदयसँगसँगै कवितामा केन्द्रीय भाषा गद्य हुन पुग्यो र आजसम्म आउँदा पद्यलाई सङ्ख्यागत रूपमा निकै पछाडि छोडिदियो । भारतमा त शास्त्रीय शैलीका पद्य नेपालमा जति पनि निस्कँदैनन् अचेल ।
यस परिवर्तनको गम्भीर परिणति के भयो भने, साहित्यको भाषा अचेल पठित ग्रन्थबाट नभएर जमिनबाट उठेर आउन थालेको छ । जमिन अर्थात् दैनन्दिन जीवन, हाटबजार, गाउँसहर, चोक, पसल र भट्टीहरू, बाटाघाटा र मेलापात, यातायातका साधन, बस अड्डा र हवाई अड्डा । अर्थात्, जहाँ आममान्छे भेटिन्छन्, अचेल साहित्यको भाषा त्यहीँ भेटिन्छ । विषयवस्तु पनि त्यहीँ भेटिन्छ । खण्डित पदसङ्गति, हल्लाजस्तो सुनिने उद्गार, आममान्छेको सुखदुःखको अभिव्यक्ति हो । यस्तैयस्तै अक्षर र ध्वनिलाई कवित्वको आरनमा कुँदेर जसले सूक्ति वा समयातीत अभिव्यक्ति बनाउन सक्यो, आजको युगमा त्यही व्यक्ति लेखक हुने योग्यता राख्छ । यी ‘सामान्य’ शब्द र ध्वनिलाई उच्च कवित्व, कलाकारिता र कल्पनाशीलताको कलेबरमा ‘असामान्य’ अनुभूति बनाउन सक्ने लेखक विशिष्ट लेखक बन्छ । हो, यसमा विषयवस्तु र शैलीको नवीनताको सर्त त छँदैछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds