आस्थाकी प्रतीक रम्भादेवी र रिमिघा

 नारायणप्रसाद आचार्य

पाल्पा जिल्ला ऐतिहासिक कालदेखि नै चर्चित भूःखण्डका रूपमा रहेको छ । यो जिल्ला नेपालको भौगोलिक विभाजनको नक्सामा सुगम भौगोलिक अवस्थिति, गौरवपूर्ण राजनीतिक इतिहास, विविधतायुक्त सामाजिक संरचना, मौलिक सांस्कृतिक पहिचान र अनुपम प्राकृतिक सौन्दर्यका कारण विख्यात छ । पाल्पाली धरातल र यसका वैभवशाली धरोहरहरूबारे विगतमा थुप्रै पुस्तक प्रकाशित छन् । यस आलेखमा पाल्पाका अनेकौँ ऐतिहासिक तथा धार्मिक स्थलमध्ये पाल्पालीकी आस्था र उत्सुकताकी प्रतीक रम्भादेवी र रिमिघा क्षेत्रको विशिष्ट धार्मिक महŒव एवं पर्यटकीय सम्भावनाबारे प्रकाश पार्ने जमर्को गरिएको छ ।

rambhadevi

रम्भादेवीः
पाँच नम्बर प्रदेशको केन्द्र बुटवलबाट उत्तरतर्फ सिद्धार्थ राजमार्गको करिब ४८ किमि दूरीमा आर्यभन्ज्याङ बजार छ । यहाँबाट रामपुर जाने छुट्टै पक्की सडक पूर्वतर्फ लागेको छ । आर्यभन्ज्याङ (रामपुर सडकखण्डको १५ किमि दूरीमा रहेको रम्भा गाउँपालिकाको प्रमुख बजार ताहूँनजिकै करिब ३ किमि पूर्वोत्तर १२०० मिटर उचाइको डाँडोमा छ । त्यही डाँडोको पश्चिम पाखोमा घना जङ्गलभित्र प्रसिद्ध तीर्थ रम्भादेवीको मन्दिर छ । रम्भादेवीको मन्दिर रहेको स्थानलाई ‘रम्भापानी’ भनिन्छ ।
यस स्थानमा प्राचीन कालदेखि शिलाको मूर्ति रहेको थियो । पछि पञ्चधातुद्वारा निर्मित ढलोटको मूर्ति पनि राखियो । पहिले खुला आकाशमुनि पूजा गरिन्थ्यो । उद्योगी हरिप्रसाद पाण्डेले मन्दिर निर्माण गर्नुभएपछि पुजित मूर्तिहरू मन्दिरभित्रै स्थापना गरियो । सिङ्गमर्मरको अर्को मूर्ति पनि उहाँले नै चढाउनुभएको हो । अन्य भक्तजनबाट शिव र गणेशका मूर्तिहरू प्रदान गरिएका छन् ।
मन्दिर परिसरबाट पाँच सय मिटर पर घोरपालछापको नाचनडाँडासम्म सडक पुगेको छ । मन्दिर जाने बाटोमा प्रवेशद्वार बनाइएको छ । पैदलमार्ग छोटो, सफा र सहज छ । स्थानीय स्तरमा संरक्षित रम्भापानीको जङ्गलमा अनेकौँ प्रजातिका वनस्पति, जडीबुटी र चराचुरुङ्गीको वास छ । मन्दिरदेखि केहीमाथि डाँडामा समतल जमिन छ । त्यस स्थानमा कुनै बेला पाल्पाली राजा रुद्रसेनले सेनाको पल्टन तैनाथ गरेका थिए भन्ने भनाइ पाइन्छ । मन्दिरका पुजारीले देवीको शिरमाथि पल्टन राख्दा अपसकुन हुनसक्ने भनेपछि हटाइएको थियो । अहिले उक्त स्थानमा सानो तलाउ निर्माण गरी संरक्षणको प्रयास भइरहेको पाइन्छ । रम्भादेवीको स्थापना र पूजाको सुरुवातका सम्बन्धमा अनेकौँ जनश्रुति पाइन्छन् । मन्दिरका पुजारी प्रेम पाण्डेका अनुसार ‘प्राचीनकालमा त्यस वनमा तपस्या गरी बसेका महर्षि परमहंशलाई एक रात सपनामा दीक्षा प्राप्त भई– ‘रम्भापानीको मूल उत्पत्ति भएको स्थानमा देवी बस्छिन् । उनको नित्य पूजाअर्चना गरे सकल मानव जातिको कल्याण हुने छ । रोगव्याधी र भवितव्यबाट मुक्ति मिल्ने छ । रम्भादेवीको श्रद्धापूर्वक सम्झना गरे मनले चिताएको पुग्छ’ भनेपछि ऋषि परमहंशले आफूलाई सपनामा प्राप्त भएको दीक्षाबारे गाउँलेलाई अवगत गराए । उनको भनाइबाट प्रभावित भई शिष्य तथा गाउँलेहरूले रम्भापानीको मुहानमा देवीको शिला मूर्ति स्थापना गरी नित्य पूजा गर्ने परम्परा बसाएका हुन् ।
लोकमान्यताअनुसार स्वर्गका राजा इन्द्रको दरबारमा नृत्याङ्गना रहेकी अप्सरा रम्भाले रम्भापानीदेखि उत्तरको ‘रिमिघा’ पर्वतमा तपस्या गरी शक्ति प्राप्त गरेकी थिइन् । उनै रम्भाले वरदानबाट आफूलाई प्राप्त शक्तिको परीक्षणका क्रममा सुख्खा जङ्गलमा जल उत्पन्न गरी वनमा विचरण गर्ने जीवजन्तु र आसपासका मानव बस्तीको प्यास मेटाएकी थिइन् । उनको त्यही चामत्कारिक उपकारको सम्झनामा उक्त जङ्गलको नाम ‘रम्भापानी’ रहन गएको र उनलाई वनदेवीका रूपमा पूजा गर्न थालिएको हो भनिन्छ ।
त्यस्तै, अर्को एक चर्चित प्रसङ्गअनुसार त्रेतायुगमा भगवान् श्रीराम र जानकी सीता उत्तरी हिमवत्खण्डमा अवस्थित मुक्तिनाथ र दामोदर कुण्डको तीर्थयात्राका लागि निस्किनुभयो । त्यस क्रममा उहाँहरू गङ्गानदी र नारायणी नदीको सङ्गम हरिहरक्षेत्रबाट त्रिवेणीधाम हुँदै देवघाट आउनुभई पवित्र कालीगण्डकीको तीरैतीर रामपुर आइपुग्नुभएको कथन छ । रामपुरबाट ऋषिदेव अङ्गिराको पवित्र तपस्यास्थल हुँदै राम्दी प्रस्थान गर्ने क्रममा यस जङ्गलमा पत्नी सीताको प्यास मेट्न धनुर्वाण हानी पानीको मूल उत्पत्ति गरेको भन्ने किंवदन्ती पनि पाइन्छ । भगवान् श्रीरामले उत्पत्ति गर्नुभएको र देवी सीताले सबैभन्दा पहिले प्यास मेट्नुभएको जलको मुहानको संरक्षणका लागि स्वयं सीता माताले रोपण गर्नुभएको भनिएको बेतबाँसको घारी रम्भापानीको मुहानमा अद्यापि छँदैछ । जानकी सीताको अर्को नाम ‘रमा’बाट ‘रम्भादेवी’ रहन गएको हो कथन छ । भगवान् श्रीराम र सीता राम्दी, रिमिघा र अङ्गिरा ऋषिको तपोवनमा केही दिन बस्नुभएको तथा सीता माता ओढार र आसपासका वनजङ्गलमा विचरण गरेको कुरा हिन्दु संस्कृतिका साधक योगी नरहरिनाथले राम्दी महायज्ञका क्रममा प्रकाश पार्नुभएको थियो । भगवान् श्रीराम वास बस्न आउनुभएको भनिएको अङ्गिरा ऋषिको वास्तविक तपस्यास्थल र कुटी कुन स्थानमा थियो भन्ने स्पष्ट तथ्य नभए पनि ऋषिको नामबाट अपभ्रंश भएर त्यस भेगमा बग्ने खोलाको नाम अँगाहाखोला रहन गएको जनश्रुति पाइन्छ । यसको मुहान रम्भापानीबाट निस्किने पवित्र जलधारा नै हो । युगौँदेखि ऋषिदेव अङ्गिराको नाम सुसेल्दै अविरल बगिरहेको अँगाहाखोला झन्डै २२ किमि दूरीमा रहेको पवित्र तीर्थस्थल राम्दीमा पुगेर कालीगण्डकीमा समाहित भएको छ ।
नेपालका अधिकांश धार्मिक स्थलको स्थापना सम्बन्धमा प्राचीन कालका कुनै न कुनै आस्थाका देवीदेवताको नाम जोडिने गरेको र दैवी शक्तिलाई लोकमान्यता दिने गरेको पाइन्छ । प्रकृति पूजाको प्राचीन मान्यताअनुसार रम्भापानी डाँडोमा उत्पन्न जलको महिमालाई भगवान् श्रीराम र सीता वा अप्सरा रम्भा वा वनदेवीको कृपाका रूपमा हाम्रा पितापुर्खाले मान्यता दिई सदियौँदेखि पूजा गर्दै आएकाले यस्ता जनश्रुतिले लोकसंस्कृतिको रूप धारण गरिसकेको पाइन्छ ।
यस मन्दिरमा दसैँको अष्टमीमा विशेष र अन्य महŒवपूर्ण चाडपर्वमा पनि पञ्चबलि चढाइन्छ । वर्षैभरि तीर्थालु दर्शनार्थी आइरहन्छन् । विपद् टार्न तथा मनले चिताएको कुरा पूरा गर्न रम्भादेवीसँग भाकल गर्ने र सोअनुरूपको मनोकाङ्क्षा पूरा भएपछि आफूले भाकेबमोजिम रोट चढाउने, परेवाको जोडी उडाउने, कुखुरा, हाँस, बोका, भेडा, राँगा आदिको बलि चढाउने प्रचलन छ । हरेक वर्षको श्रीकृष्ण जन्माष्टमीका दिन मन्दिरमा विशेष पूजा–अर्चनाका लागि टाढाटाढाबाट आएका श्रद्धालु भक्तजनको भीड लाग्नुको साथै नाँचनडाँडामा भव्य मेला लाग्ने गरेको छ । पाल्पाली मन मुटुमा सदियौँदेखि वास गर्दै आएको आस्थाको केद्र (रम्भादेवीको नामबाटै त्यस क्षेत्र वरपरका साबिक गाउँ विकास समितिहरू ताहूँ, हुमिन, पिपलडाँडा, फोक्सिङकोट र हुँगी मिलेर हाल ‘रम्भा गाउँपालिका’ नामकरण गरिएको छ ।

रिमिघाः
पाल्पा जिल्लामा पर्ने सर्वोच्च महाभारत पर्वतहरू रिमिघा, रिप्दिकोट, कौडे र हात्तीलेक हुन् । पश्चिम पाल्पाको रिप्दिकोट पर्वतमा पाल्पाली सेन राजाहरूले लामो समयसम्म गृष्मकालीन राजधानी बनाएका हुँदा ऐतिहासिक दृष्टिकोणबाट रिप्दिकोटको विशिष्ट पर्यटकीय महŒव रहेको छ । कौडे र हात्तीलेक पनि उज्ज्वल पर्यटकीय सम्भावना बोकेका पहाडहरू हुन् । यस लेखमा ‘रिमिघा’ को भौगोलिक अवस्थिति, जैविक एवं वनस्पतीय विविधताका कारण पर्यटकीय खजानाले भरिपूर्ण रहेको देखिन्छ । रिमिघा पर्वत रम्भादेवी मन्दिर क्षेत्रबाट ५ किमि उत्तरतर्फ पर्छ । यसको उचाइ समुद्री सतहबाट १७९४ मिटर रहेको छ । रम्भा गाउँपालिकाको प्रमुख बजार ताहूँको देउरालीबाट ओम भन्ज्याङ र झोकेदी टिमुरडाँडा हुँदै पुगनपुग ५ किमि सडक पर गरेपछि रिमिघाको पूर्वी काखमा पुगिन्छ । त्यहाँबाट पैदल ३० मिनेटको दूरी छिचोल्नेबित्तिकै मनमोहक चुचुरो चुम्न सकिन्छ । रिमिघा पर्वत पूर्व वीरकोटदेखि पश्चिम पिपलडाँडाको पुछारसम्म करिब ३० किमि क्षेत्रमा फैलिएको छ । यसको प्रमुख पर्वतीय उच्च भू–भाग भने ओम भन्ज्याङदेखि खावा भन्ज्याङसम्म करिब ७ किमि लामो छ । हिउँदमा अत्यधिक ठन्डी र गृष्मयाममा शीतल यस पर्वतको विशेषता हो । यसको उत्तरी पाखो घना वनजङ्गलले भरिएको छ भने दक्षिणी, पूर्वी र पश्चिमी पाखोमा कतै वनबुट्यान र कतै भने झाडीले ढाकिएको छ । शिखरमा रमणीय चौर, थुम्का र खर्कहरू छन् । यसको उत्तरी पहरोमा करिब ३५ मिटर लामो गुफा पनि पाइएको छ ।
प्रमुख चुचुरोमा कटुस र गुराँसका ठूला रुखमुनि सिद्धबाबास्थान र देवीस्थानलाई छुट्टाछुट्टै पर्खालले घेरिएको छ भने पूर्वतर्फको तल्लो थुम्कोमा देवीको सानो मन्दिर निर्माण गरिएको छ । त्यस पर्वतको जलाधारक्षेत्र वरिपरिका गाउँबस्तीमा सुख्खा खडेरी परेमा गाउँलेहरू रिमिघा पुगेर सिद्धबाबाको पूजा–कीर्तन गरी वर्षाको आह्वान गर्ने परम्परा कायमै छ । यस टाकुरामा कैयन् सिद्ध पुरुष र ऋषिमुनिहरूले तपस्या गरेका किंवदन्ती पाइन्छन् ।
पाल्पामा सेनवंशी राजाहरूको आधिपत्य कायम हुनुअघि पश्चिम नेपालमा स्थानीय मगर जातिका राजाहरूले शासन गरेको कुरा इतिहासले सिद्ध गरिसकेको छ । रिमिघा वरिपरिका अधिकांश बस्तीमा मगर जातिको बाहुल्य रहेको, त्यसवरपरका मगरको भाषा, रहनसहन र भेषभूषा विशिष्ट प्रकारको रहेको, आसपासका विशाल भू–भागको केन्द्रबिन्दुमा रिमिघा पर्वत रहेको तथा तत्कालीन परिवेशमा प्राकृतिक दुर्गका रूपमा रहेका उच्च शिखरहरूमा राजधानी कायम गर्ने प्रचलनलाई हेर्दा रिमिघा एक शक्तिशाली मगर राज्यको राजधानीका रूपमा लामो समय रहेको सहजै अनुमान गर्न सकिन्छ । राजाका दरबारका भग्नावशेष, इनार, सिद्धस्थान, देवीस्थान, युद्ध वा प्रशिक्षणका लागि बनाइएका ट्रेन्च र किल्लाका अवशेष, परेड मैदान र उत्तरी पहरोमा रहेको रहस्यमयी गुफा आदिको विस्तृत खोज–अनुसन्धान गरिने हो भने नवीन तथ्य फेला पर्ने देखिन्छ ।
त्यस डाँडाको थुम्कोमा तीनकन्या मन्दिर तथा बौद्धमूर्ति स्थापनाका साथै पाटीपौवा पनि निर्माण गरिएको छ । वनजङ्गलको संरक्षणका लागि आ–आफ्नो पायक क्षेत्र तोकिएको छ । प्रत्येक नववर्षको दिन वैशाख १ गते वरपरका युवा क्लब, महिला समूह र स्थानीय समुदायको स्वःस्फूर्त सक्रियतामा मेलाको आयोजना गरी सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता सञ्चालन गर्न थालिएको छ ।
रिमिघाक्षेत्र जैविक र वनस्पतीय विविधताको अनौठो सङ्गम हो । यहाँ काफल, टिमुर, चुत्रो, ऐँसेलु, अमला, अराली, धयेरी, अँडेर, भक्केम्लो, गुयाँलो, गुराँस, जङ्गली ओखर, कटुस, खल्लुक, जामुनो, चिलौने, खिर्रो, बोटधएँरो, मियाल, खस्रेटी र अन्य सयौँ प्रजातिका ठूला र मझौला रुख–बिरुवाहरूका साथै घाँसे वनस्पतिहरू पाइन्छन् । यहाँ कालो गुर्दीगानो, पाखनबेत, पाँचऔँले, कुकुरडाइनो, बादलपाते, चिराइतो, पाखेनिउरो, पानीअमला, टटलो, क्यामुना, चरिअमिलो, सिस्नो, रातीगेडी, बेगारे लहरो, टोप्रेझारलगायत करिब ३५ थरीका दुर्लभ जडीबुटीको भण्डार छ । वसन्त ऋतुको आगमनसँगै लालीगुराँसले रिमिघा राताम्य हुन्छ । काफल, चुत्रो र ऐँसेलु पाकेर चराचुरूङ्गी रमाइरहेका हुन्छन् । घना जङ्गलमा बाघ, भालु, चितुवा, हरिण, रातेमृग, दुम्सी, खरायो, वनबिरालो, बाँदर, स्याल, जङ्गली कुकुर, माउखाने, वनमुसा, लोखर्के, न्याउरीमुसो आदि अनेकौँ जीवजन्तु पाइन्छन् । त्यस्तैगरी, कालिज, वनखुकुरा, तित्रा, ढुकुर, मलेवा, लाम्पुछ«े, रानीचरी, जुरेली, काल्चे, चाँचर, चिल, बाज, भ्याकुरो, कोचलगाँडा, काठफोरा, काकाकुल, पहरे गौँथली, सारौँते, कौवाजस्ता चराचुरूङ्गीको सुरक्षित वासस्थान बनेको छ ।
रिमिघाबाट नेपालका प्रसिद्ध हिमशृङ्खला मनास्लु, अन्नपूर्ण र धवलागिरिअन्तर्गत रहेका ५० भन्दा बढी चुचुराको एकसाथ अवलोकन गर्न सकिन्छ । सयौँ महाभारत पर्वतहरूको लावालस्करसँग साक्षात्कार गर्न सकिन्छ । दिनमा मौसम सफा भएको बेला दूरबिनको सहायताले तराईका समतल मैदान देखिनुको साथै रातमा गोरखपुरबाट सुनौलीतर्फ आउँदै गरेको रेलमा बत्ती बलेको उज्यालो देख्न सकिन्छ । सिद्धार्थ राजमार्गले ५० वर्ष अघि कोरेको सडक सभ्यता र पवित्र कालीगण्डकीको नागबेली जलप्रवाह देखेर मन्त्रमुग्ध हुन सकिन्छ । कालीगण्डकी जलाधारका डाँडापाखा, खोँच र उब्जाउ उपत्यकामा हजारौँ वर्षअघिदेखि अलग सभ्यता र संस्कृतिको पहिचान बोकेर उभिएका पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी र आसपासका मानव बस्तीमा आँखा डुलाउन सकिन्छ । यस पर्वतको काखमा रहेका मगर बस्तीमा बसेर नेपालका प्राचीन मगरजातिको गौरवमय सभ्यता, रहनसहन, भाषा र लोकसंस्कृतिबारे गहन अध्ययन र अन्वेषण गर्न चाहनेका लागि उपयुक्त थलो हुनसक्छ ।

पर्यटकीय सम्भावनाः
सिद्धार्थ राजमार्गले यही पर्वतको काखबाट गण्डकी प्रदेशतिर यात्रा गर्छ । तुलनात्मक रूपले हेर्दा यातायातका दृष्टिले रिमिघा कहिल्यै दुर्गम रहेन । कालीगण्डकी करिडोर भएर उत्तरी कोरला नाकाबाट आउने अन्तर्राट्रिय राजमार्ग यही पर्वतको पुछार पिपलडाँडा हुँदै हुँगीतिर जाँदै छ । रिमिघाको फेदीमा रहेको कालीगण्डकीको पवित्र तीर्थस्थल राम्दी अब दुई राजमार्गको सङ्गमस्थल मात्र होइन, अन्तरप्रदेशीय क्रसबोर्डरका रूपमा समेत परिचित हुँदैछ । राम्दीबाट रानीमहल जाने दूरी पनि घट्दै छ । प्रस्तावित कालीगण्डकी डाइभर्सनको केन्द्र पनि यही पर्वतको फेदीतिरै पर्ने चर्चा छ । एकाध वर्षमै लुम्बिनीमा लाग्ने पर्यटकहरूको भीड र सुनौली बोर्डरबाट भित्रिने पर्यटकको सुरम्य ‘हिलस्टेसन’ का लागि समेत रिमिघालाई प्रमुख आकर्षणको केन्द्र बनाउन सकिन्छ ।
नेपाल सरकारले आगामी सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी मात्र गरिरहेको छैन, मुलुकमा २० लाख विदेशी पर्यटक भिœयाउने महŒवाकाङ्क्षी लक्ष्य अघि सारेको छ । यो लक्ष्य प्राप्तिको दिशामा सघाउ पु¥याउने उद्देश्यले नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने नीतिअन्तर्गत पहिचान गरिएका सय गन्तव्यहरूमा रम्भादेवीलाई पनि समावेश गरिएको छ । प्रस्तुत सन्दर्भमा, रम्भा गाउँपालिकाको विशेष पहलकदमीमा प्रथम पटक यही २०७६ वैशाख ३० गते ‘रम्भा–रिमिघा पर्यटन महोत्सव’ आयोजना गरिएको छ । यस महोत्सवले रम्भा–रिमिघा क्षेत्रको पर्यटकीय महŒवलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न र आगामी कार्यदिशा निर्धारण गर्न ठोस सघाउ पु¥याउनेमा विश्वस्थ हुन सकिन्छ ।

(लेखक अँगाहाखोला सरोकार समाजका अध्यक्ष हुनुहुन्छ ।)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds