• १६ चैत २०८०, शुक्रबार

पर्यटकीय गन्तव्य बन्दै राप्ती शान्ति उद्यान

blog

लीलाधर वली

घोराही, असार २२ गते  । तत्कालीन नेकपा (माओवादी) र सरकारबिचको द्वन्द्व समाधान तथा शान्तिको कामना गर्दै निर्माण गरिएको राप्ती शान्ति उद्यान स्थानीयस्तरमा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। 

तुलसीपुर उपमहानगरपालिका–७, गणेशपुरमा रहेको उक्त उद्यानमा भ्रमण तथा घुमफिरसँगै वनभोज तथा वन्यजन्तु अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्न थालेको छ। यस उद्यानमा घुमफिर, पिकनिक तथा अध्ययनका लागि दिनहुँ सर्वसाधारणको भिड लाग्ने गरेको छ। पछिल्ला वर्षमा उद्यानको विकास र विस्तार भएसँगै यहाँ जिल्लाबाहिरबाट पनि आउने गरेका छन्। 

राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारी अधिकांश मानिस घुमफिरसँगै पिकनिकका लागि आउने गरेको बताउनुहुन्छ। उहाँले भन्नुभयो, “तुलसीपुर बजारको नजिक रमाउने तथा तनावमुक्त हुने उपयुक्त ठाउँ छैन तर सामुदायिक वनलाई उद्यानका रूपमा विकास गरेपछि यहाँका मानिसलाई सहज भएको छ।”

यो क्षेत्र अहिले जिल्लामै नमुना पर्यटकीय गन्तव्य बनेको छ। अवलोकनका लागि आउनेबाट समितिले प्रतिव्यक्ति ५० रुपियाँ शुल्क लिने गरेको छ भने वनभोज खान आउने समूहको सङ्ख्याका आधारमा तीन सयदेखि पाँच सय रुपियाँसम्म शुल्क निर्धारण गरिएको छ। जिल्लामा सामुदायिक वनलाई आर्थिक स्रोत जुटाउन समस्या भइरहेका बेला उक्त वन समूहले भने व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख रुपियाँ बचतसमेत गर्ने गरेको छ। अध्यक्ष भण्डारीका अनुसार उद्यान करिब १० हेक्टर बढी क्षेत्रमा फैलिएको छ। पार्कलाई पछिल्लो समय थप आकर्षक बनाउन समितिले बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानसँगै बेबी रेल, पिङ, चिप्लेटी र नजिकै पौडी पोखरीसमेत निर्माण गरेको छ। 

उद्यानमा विभिन्न प्रजातिका वनस्पति तथा बगैँचा छन्। उद्यानको उत्तरतर्फ निर्माण गरिएको मिनी चिडियाखानामा चितुवा, दुम्सी, घोरल, खरायो, बाँदर, मृग, चिललगायत विभिन्न प्रजातिका पशुपन्छीको कलाकृति राखिएका छन्। करिब १० वर्षको अवधिमा पार्कभित्रको मुख्य आकर्षण भगवान् गौतम बुद्धको मूर्ति बनेको छ। मूल गेटबाट पार्कभित्र प्रवेश गरेपछि सुरुमै भगवान् बुद्धको मूर्ति देख्न सकिन्छ। सशस्त्र द्वन्द्वको समयमा शान्तिको कामना गर्दै स्थानीय गणेश सामुदायिक वन समूहका उपभोक्ता, यस क्षेत्रका बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा उद्यान निर्माण गरिएको हो। 

तत्कालीन अवस्थामा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट करिब ३७ लाख रुपियाँ अनुदान प्राप्त भएपछि उक्त रकमबाट पार्क निर्माण थालिएको पार्क व्यवस्थापन समितिका अध्यक्ष भण्डारी बताउनुहुन्छ। त्यसपछि पटक पटक गरेर सरकारी निकाय, तुलसीपुर उपमहानगरपालिकालगायत विभिन्न क्षेत्रबाट गरी हालसम्म पाँच करोड रुपियाँ खर्च भइसकेको छ। पर्यटकको आकर्षणसँगै उद्यान केही वर्षयता फोटोग्राफरका लागि पनि वरदान साबित भएको छ। 

उद्यानमा अहिले दिनहुँ १०/१५ जनाभन्दा बढी फोटोग्राफरले काम पाइरहेका छन्। जङ्गलको छेउमा शान्त वातावरणमा रमाउन शनिबार र अरू बिदाका दिन बढी भिडभाड हुने गरेको उद्यानका कर्मचारी बताउँछन्।