• १६ चैत २०८०, शुक्रबार

स्याङ्जा पुतलीबजारमा सुन्तलाको प्रतिमा

blog

शहीद चोकमा रहेका टावरको बीचमा राखिएको सुन्तलाको प्रतिमा । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, असार २२ गते । पुतलीबजार नगरपालिकाले सुन्तलाको नगरको पहिचान दिने उद्देश्यले ओरेन्ज रङ्गले सजिएको सुन्तलाको प्रतीक राखेको छ । नगरपालिकाले दुई वटा हरिया पात र डाँठसहित एउटा पाकेको सुन्तला दानाको प्रतिमा राखेको हो । 

सदरमुकाम पुतली बजार नगरपालिका– १ शहीद चोकमा निर्मित टावरको भित्री भागमा पाकेको सुन्तलाको फल राखिएको हो । करिब ५० किलो तौलको प्रतिमामा तामा, पित्तल लगायतका विभिन्न धातु मिश्रण गरी पाँच लाखको लागतमा नवलपरासीका नरबहादुर विकले झन्डै ३ महिनामा निर्माण गर्नुभएको हो । 

समग्र जिल्लाकै पहिचान बोकेको सुन्तला र पुतलीबजारमा अत्यन्तै राम्रो उत्पादन हुने भएकाले सुन्तलाको प्रवर्द्धन एवं पहिचानका लागि सुन्तलाको प्रतिमा राखिएको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । सिद्धार्थ राजमार्गमै पर्ने शहीद चोकमा ‘सुन्तलाको पाकेको फल’ स्वरूपको प्रतिमाले स्याङ्जाको पहिचान प्रदर्शन गरेको रेग्मीले बताउनुभयो । 

सुन्तलाको उत्पादनमा उर्वर भूमिको रूपमा परिचित स्याङ्जामा गत आर्थिक वर्षमा मात्र एक अर्ब ३८ करोडको सुन्तला उत्पादन गरेको थियो । शहीद चोकमा यसअघि राजा महेन्द्रको सालिक रहेकोमा गणतन्त्र प्राप्तिसँगै सालिक तोडफोड गरेपछि हटाइएको थियो । पुरानो महेन्द्र चोकमा रहेको महेन्द्रका सालिक फालेसँगै बनेको शहीदचोकमा करिब ३१ लाखमा टावर निर्माण गरिएको थियो । 

सुन्तलाको दाना टावर नौ मिटर जमिनमुनिबाट फलामको रडले मजबुत बनाएर बनाइएको टावर जमिनमाथि ३२ मिटर अग्लो छ ।  रातको समयमा झिलिमिली देखिने टावरमा डिजिटल बोर्डमार्फत जिल्लाको बारेमा जानकारी दिने गरिएको छ ।