खुम्बुमा ५६ हजार पर्यटक

सन्तोष राउत

touristसोलुखुम्बु, वैशाख २६ गते । विश्वकै पर्यटनको केन्द्रका रूपमा रहेको सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा यस वर्ष करिब ५६ हजार पर्यटकले भ्रमण गरेका छन् । नाम्चेमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार पिक सिजन र आरोहण सिजनमा विभिन्न देशका गरी ५६ हजार ४८५ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका हुन् । यो सङ्ख्या गएको वैशाखदेखि चैतसम्मको हो ।
बितेको एक वर्षमा कात्तिकमा सबैभन्दा बढी १२ हजार ४४९ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको छ । तथ्याङ्क अनुसार गत वैशाखमा विभिन्न देशका सात हजार ७६७ जना र सार्क क्षेत्रबाट ८३१ जना, जेठमा अन्य देशबाट दुई हजार १९७ र सार्क क्षेत्रबाट ४९५ जना, असारमा अन्य क्षेत्रबाट ३४२ जना र सार्कबाट आठ सय जना, अन्य देशबाट साउनमा ४२६ जना र सार्कबाट २१ जना, भदौमा अन्य देशबाट एक हजार ११४ र सार्कबाट ३४ जना, असोजमा अन्य देशबाट ११ हजार १६१ जना र सार्कबाट २३८ जना विदेशी पर्यटक खुम्बुक्षेत्र प्रवेश गरेका छन् । त्यस्तै, कात्तिकमा अन्यदेशबाट १२ हजार ४४९ र सार्कबाट ५३८, मङ्सिरमा अन्य देशबाट तीन हजार ९९४ जना र सार्कबाट १०८, पुसमा अन्य क्षेत्रबाट दुई हजार १०८ जना र सार्कबाट १३६ जना, माघमा अन्य देशबाट एक हजार ९५ जना र सार्कबाट तीन जना, फागुनमा अन्य देशबाट दुई हजार ७७८ जना र सार्कबाट ७६ जना र चैतमा ७ हजार ८०९ जना र सार्कबाट ३९८ पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।
कात्तिकबाट नेपालीलाई पनि दर्ता गर्न थालेपछि तथ्याङ्क आउन थालेको छ । कात्तिकदेखि चैतसम्म ४२९ जना नेपाली पनि खुम्बु पुगेका छन् । अहिले आरोहण सिजन चलिरहेको छ ।
आरोहण सिजनमा भित्रिएका पर्यटकको सङ्ख्यासँग तुलना गर्दा यस वर्षमा कम पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ । आरोहण सिजनको माघ, फागुन र चैतसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्ष १४ हजार १३७ जना पर्यटक भित्रिएका थिए भने यस वर्षको सिजनमा ११ हजार ८८३ पर्यटक भित्रिएका छन् ।
प्रतिकूल मौसम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका कारण रामेछापबाट उडान गर्नुपर्दा अपायक भएकाले पनि आरोहण सिजनमा पर्यटकको आवागमन घटेको अनुमान गरिएको छ । अहिले रामेछापको मन्थली विमानस्थलबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थलमा उडान हुँदै आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds